शशी थापाको ‘उठ तिलोतमा’ कथा संग्रहको चिरफार

2.3k Shares

काठमाडौँ । आख्यानकार शशी थापा पण्डितद्वारा लिखित कथासंग्रह ‘उठ तिलोत्तमा’ को एक कार्यक्रमकाबीच विशेष परिचर्चा गरिएको छ । साहित्यिक पत्रकार संघद्वारा शनिबार आयोजित एक कार्यक्रममा समीक्षकहरुले कथासंग्रहको चिरफार गरेका हुन् । 
समीक्षक डा. सावित्री मल्ल कक्षपतिले कृतिको गहन चिरफार गरेकी थिइन् । कथासंग्रहका कथाहरु फरक धारबाट लेखिएको उनले बताइन् । कथाले उठाएका कतिपय विषयवस्तुहरुले सामाजिक ल्याउने पनि उनको भनाई थियो । युवतीहरु किन विवाह गर्न चाहँदैनन् ? किन बच्चा जन्माउन तयार हुँदैनन् ? किन सम्बन्ध विच्छेद गर्न चाहन्छन् ? परिवार र समाजबाट कसरी विमुख बनिरहेका छन् ? यौनकै कारण आफू प्रताडित बन्नुपर्दा कसरी प्रतिकार गर्छन् ? समाजले नारीलाई हेर्ने दृष्टिकोणमा किन फरक नआएको होला ? जस्ता विषय कथाले उठाएको उनले बताइन् । यी विषयहरुले महिलामा क्रान्तिकारी चेत दिएको तर यिनै कथा पढेर महिलाहरु विद्रोही वा समाजबाट विमुख हुने अवस्था पनि आउन सक्ने उनको भनाई थियो । 
कथा हाम्रै समाज, गाउँघर, परिवारभित्र देखी, भोगी, सुनिरहेजस्ता लाग्ने डा. कक्षपतिले बताइन् । तर पनि कथाले हाम्रा संस्कृति, परम्परा, पुरातत्व, पौराणिकता समेटेको उनको भनाई थियो । कथाहरु उत्कृष्ट भएको भन्दै कथाकार थापालाई उनले धन्यवाद पनि दिइन् । कथा उत्कृष्ट हुँदाहुँदै पनि सम्पादन पक्ष भने अलि कमजोर रहेको उनको भनाई थियो । पुस्तकको शीर्षकले बोक्नु पर्नेजति भाव नबोकेको, सुरुमै सम्पादकको नाम राखेर लेखक ओझेलमा परेको, वाक्य गठन र संरचना कताकति नमिलेको, कताकति पात्र मिसम्याच भएको उनले उल्लेख गरिन् ।
पुस्तकमाथि चर्चा गर्दै आख्यानकार नयनराज पाण्डेले दुई चारवर्ष बीचमा साहित्यको बजार विस्तार भएको बताए । उनले भने, ‘पुस्तकचर्चा, बहस भइरहेका छन्, लेखनको सार्थकता बारेमा बहस हुन थालेका छन्, लेखकको विचारको बारेमा बहस हुन थालेका छन् यो खुसीको कुरा हो ।’
‘नेपाली साहित्यमा महिला लेखक भन्दा दुई चार जनाकै मात्रै नाम लिनु परिरहेको अवस्था थियो तर अहिले सीमित हुनु परेको छैन’, उनले भने, ‘पुरुष सरह महिला पनि लेखनमा अगाडि आउनुभएको छ । महिलाका मुद्दा महिलाबाट नै उठ्न थालेका छन् । महिलाका समस्या पुरुषले कल्पना गरेर लेखिदिनु पर्ने अवस्थामा महिलाले आफ्ना पीडा आफै लेखेका छन् । यसले प्रमाणिक तथ्य बाहिर आएको छ ।’ लोभलाग्दा रचना र कृतिहरु बाहिर आएको उनले बताए । त्यसैमध्येको एक कृति हो उठ तिलोत्तमा भएको उनको भनाई थियो । शशी थापा पण्डितले महिलाका मुद्दाहरुलाई सशक्त ढंगले उठाएको उनले बताए । 
शीर्ष कथा उत्कृष्ठ रहेको भन्दै उनले प्रशंसा गरे । यो कथाले परम्परागत लेखनशैली भत्काउने प्रयास गरेको उनको भनाई थियो । यसमा कथावाचनमा नयाँशिल्प आएको, पात्रहरु मिथकका, पुराना आएका, कथा पौराणिक हो कि अहिलेको हो भन्ने परिस्थिति सिर्जना गरेको उनले बताए ।
हामी लेखकको पात्रप्रतिको धारणा भने कमजोर रहेछ भन्ने प्रमाणित भएको उनले बताए । उनले भने, ‘यो ममा पनि छ र शशीजीमा पनि रहेछ भन्ने देखियो । पात्रको स्तरअनुसार हेला र होचो गर्ने प्रचलन यसमा पनि दोहोरिएको छ ।’
पुस्तकमाथि चर्चा गर्दै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले आफ्नो अभिलेख अनुसार देशभर करिब ५ सय पुस्तक प्रकाशित हुने, त्यसमध्ये ५० वटा पुस्तक पढ्न लायक र त्यसमा पनि ५–१० वटा जति साच्चिकै समाजले सम्मान गर्नुपर्ने पुस्तक हुने बताए । यस्तै ५–१० भित्र पर्ने पुस्तक शशी थापा पण्डितको ‘उठ तिलोत्तमा’ पनि भएको उनले उल्लेख गरे ।
अहिले आकाशको तारा हेरेर कविता लेख्ने, एकान्तमा बसेर कल्पना गरेर कथा, उपन्यास लेख्ने जमाना नभएको भन्दै उनले यथार्थ र वास्तविकतासँग जोडेर लेखन गर्नुपर्ने अवस्था आएको बताए । अध्ययन गरेर, स्थलगत भ्रमण गरेर कथाहरु लेखिएकोले त्यहाँको समाज, संस्कृति, भूगोल र रहनसहनमा आधारित भएर कथा लेखिएको उनले बताए । कतिपय हामीले थाहा नपाएका संस्कार वा संस्कृति पनि कथाले जानकारी गराएको उनले बताए । उठ तिलोत्तमाले तिलोत्तमालाई मात्रै नभएर समाजलाई पनि उठ, नारीलाई पनि उठ भनिएको उनले बताए ।
आफूले कलेज पढ्दादेखि नै कथा लेख्न थालेको कथाकार थापाले बताइन् । आफू संस्कृतिको विद्यार्थी पनि भएकोले फिल्ड रिपोर्टिङ गर्दा समाजका, संस्कृतिका नयाँ नयाँ कुराहरु टिपोट गर्ने गरेको र त्यसलाई नै कथा बनाउन सहयोग गरेको उनले उल्लेख गरिन् । साहित्यकारहरुको संगत र सहयोगले आफ्नो कथासंग्रह सार्वजनिक भएको उनको भनाई थियो । 
कथासंग्रहको गहन टिप्पणी र समीक्षा गरिदिनु भएकोमा समीक्षक र वक्ताहरुलाई थापाले धन्यवाद पनि दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार पुस्कर लोहनीले कथासंग्रहमा समेटिएका कथाहरु उत्कृष्ठ रहेको उल्लेख गरे । धर्म, कला, साहित्य, संस्कृति, भूगोल आदि एउटै कृतिमा समेटिएको उनले बताए । यौनको विषय कृतिमा धेरै उठे पनि असहज उपस्थिति नरहेको उनले बताए । 
कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा आख्यान क्षेत्रका वरिष्ठदेखि कनिष्ठ साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार