काठमाडौं, साउन २२। करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी खुलेको छ। इजरायलमा एक हजारलाई रोजगारी खुलेको एक हप्तामै विभिन्न प्रलोभन देखाएर हुने ठगी धन्दासमेत सुरु भएको छ ।
केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि ठगी धन्दा सुरु भएको प्रष्ट भएको छ । आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको अडियोबाट अनुमान लगाउन सकिन्छ ।
उक्त अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता अनधिकृत समूहको लहैलहमा नलाग्न अनुरोध समेत गरेको छ । नीजि क्षेत्रसंग कुनै सम्झौता नभएको र इजरायलमा केयरगिभर श्रमिक पठाउने विषयमा सरकारसँग आफ्नो सम्झौता भएको भन्दै सामाजिक सञ्जालमार्फत आवेदन माग गरेर गलत प्रचारप्रति युवालाई सचेत विभागको आग्रह छ ।
विभागद्वारा जारी विज्ञप्तिमा इजरायलमा केयरगिभर छनोट गरी पठाउन सरकारसँग आफ्नो सम्झौता भएको छ भन्दै सामाजिक सञ्जालमार्फत आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारेको र भ्रम फैलाएकोबारे विभागको ध्यानाकर्षण भएको उल्लेख छ।
इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ। दसजोड दुई पास गरेर तीन महिनाको केयर गिभर तालिम लिएकाले वा १५ महिने अनमी पढेकाले इजरायलमा अवसर पाउनेछन। इजरायल जान हिब्रु र अंग्रेजी भाषा जान्ने हुनुपर्छ।