संगत भनेको सम्बन्ध, उठबस, एक किसिमको व्यवहार अनि मित्रता हो

अतिरिक्त अनुशासन

व्यक्तिगत जीवन, परिवार, समाजको प्राकृतिक अनुशासनभन्दा फरक किसिमको अनुशासन हो, अतिरिक्त अनुशासन । अतिरिक्त अनुशासन मानिस आफैले निर्धारण गरेको अनुशासन हो । यस प्रकारको अनुशासन राज्य, कार्यालय, उद्योग, विद्यालय, संघसंस्थामा निर्धारण गरेको अनुशासन हो । समाजले अतिरिक्त अनुशासन आफू अनुकुल निर्धारण गरेको हुन्छ । अतिरिक्त अनुशासन समय, काल, परिस्थिति अनुसार परिवर्तन हुँदैजान्छ । राज्यको संविधानमा राज्य अनुकुल अनुशासन किटान गरेको हुन्छ । राज्यको अनुशासन अन्तर्गत कोही नबसेमा, कसैले कार्य नगरेमा राज्यको अनुशासन उल्लङ्घन गरेको ठहरिन्छ र त्यस अनुसार दण्ड सजाय हुन्छ । त्यस्तै कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालयको अनुशासनले बाँधेको हुन्छ । उद्योग, विद्यालय, संघसंस्थामा आबद्ध व्यक्ति सबै आआफ्नो कार्यरत संस्थाले निर्धारण गरेको अनुशासनभित्र रहेका हुन्छन् । जसले अनुशासन मान्दैन, ऊ त्यस संस्थामा रहन सक्दैन । जुनजुन संस्थामा अनुशासन पालना हुँदैन, ती संस्था संकटमा पर्छन् । राज्यको अनुशासनमा राज्य हाँक्ने नेतृत्व, कर्मचारी, नागरिक रहेन भने राज्य आतंक हुन्छ, देशमा अशान्ति हुन्छ, देशको अधोगति हुन्छ । देशमा ठूलो संकट प्रारम्भ हुन्छ । अहिलेको नेपालको राजनीतिक हालत अनुशासित भन्ने अवस्था पटक्कै छैन । नेतादेखि तल्लो तहको कर्मचारीसम्ममा अनुशासनको समस्या छ । अनुशासनहिनताको हद भनेको भ्रष्टाचार हो । देशमा सक्नेले सक्ने जति भ्रष्टाचार गरिरहेकै छ । राज्यको कुनै पनि अङ्ग भ्रष्टाचारमुक्त छैन । राज्यको संरचनाभित्रै अनुशासनको समस्या छ । ‘जो अगुवा उहि बाटोमा हगुवा’ भएपछि नागरिक कसरी अनुशासित हुन्छन् ? सबका सब अनुशासनहिन भएपछि देशको विकास, समृद्धि सम्भव छ ? वाहियात ! ‘चोरको जिम्मामा ढुकुटीको साँचो’ जस्तै भएको छ ।
हामीले यति धेरै जीवन, स्वास्थ, सन्तुलन र अनुशासनका विषयमा चर्चा गर्यौँ । सार्थक जीवनको लागि स्वास्थ्य, स्वास्थ्यको लागि सन्तुलन र सन्तुलनको लागि अनुशासन एक अर्काेसँग सम्बन्धित विषयहरू हुन् । अनुशासनका विशालतम क्षेत्र, यसको प्रभाव र महत्वको विषयमा चर्चा गर्यौँ, केही त बुझ्यौँ पनि । अब तपाईँले आफ्नो अनुशासनको बारेमा नसोच्ने ? सोच्नु भएन भने न्यायचित कसरी हुन्छ ? अवश्य पनि तपाईँले आफ्नो अनुशासनको विषयमा सोच्नुभयो होला । आफ्नो अनुशासनहिनताको कारण उत्पन्न समस्याहरू देख्न थाल्नुभयो होला, अनुशासनको कारण प्राप्त उपलब्धिहरू र अनुशासन उलङ्घनको कारण भएका हानीहरूको पनि सम्झना भयो होला । तपाईँलाई कब्जियत, ग्याष्ट्रिकको समस्या छ ? छ भने सोच्नुस्, तपाईँबाट कुन अनुशासन उलङ्घन भईरहेको छ ? तपाईँमा रक्तचाप, चिनी (सुगर) को समस्या छ भने सोच्नुस्, तपाईँबाट कुन अनुशासन भंग भयो ? यदि तपाईँको छरछिमेकी, इष्टमित्र, साथीभाईसँगको सम्बन्ध सुमधुर छैन भने सोच्नुस्, तपाईँले कुन अनुशासन पालना गर्न सक्नु भएन । परिवारमा सुख शान्ति कायम हुन सकेन भने विचार गर्नुस्, कहाँनिर अनुशासन चुक्यो । अब त तपाईँ अनुशासित हुने भयो नि ? अवश्य ! अनुशासनको प्रारम्भ यहीँबाट शुरु हुन्छ । अब वाचा गरौँ । आजदेखि मन, वचन र कर्मले कसैको हानि पु¥याउने छैनौं । ईष्र्या, द्वेषलाई त्याग गर्नेछौं । क्रोधलाई नियन्त्रणमा राख्नेछौं । सबैसँग सद्भाव कायम राख्नेछौं । पक्का ? पक्का हो । वाचा हो ? वाचा भयो ।


संगत
संगत भनेको सम्बन्ध, उठबस, एक किसिमको व्यवहार अनि मित्रता हो । मानव जीवनमा संगत बाहिरको संसारको कल्पना गर्न सकिँदैन । मानवको अस्तित्व नै संगतसँग जोडिएको छ । यसको अर्थ मानिस संगतमुक्त छैन र हुँदैन । मानव सामाजिक प्राणी हो । मानिसले संगतको वर्गिकरण गर्न सम्भव छ र संगत छनौट गर्न पनि सम्भव छ । मानिस संगतविहिन रहन सम्भव छैन । संगत, पारिवारिक सम्बन्धबाट रहन सक्छ, सामाजिक रूपमा रहन सक्छ या कामको माध्यमबाट पनि बन्दछ । जीवनमा कोही न कोहीसँग संगत जोडिन्छ । मानिसको परिचय यही संगतले निर्धारण गर्दछ । त्यसैले जीवनमा संगतको निकै महत्व छ । दार्शनिक सुकरात भन्नुहुन्छ, ‘मित्रता सोचविचार गरेर गर्नु तर मित्रतालाई राम्ररी निभाउनु’ । सार्थक जीवनको लागि संगत अत्यन्त सोचनीय विषय हो । संगातीहरू बिच स्वभाविक रूपमा एकआपसको प्रभाव पर्दछ । शुरुमा विचारमा प्रभाव पर्छ, त्यसको असर जीवन पद्धतिमा देखापर्छ । त्यसपछि काममा देखापर्छ अनि परिणाम पनि त्यही अनुसार हुन्छ । त्यसैले भनिन्छ, ‘संगत गुनाको फल’ । हाम्रो समाजको एउटा मान्यता पनि छ ‘ज्ञानीगुणीसँग संगत गर्नुपर्छ’ । राम्रो संस्कारीसँग संगत गर्नुपर्छ । यो कुरा एक हिसाबले सही पनि हो । संगतको प्रभाव त अवश्य पर्छ । नेताको संगतमा राजनीति सिक्छ, जुवाडेको संगतमा जुवा सिक्छ, जँड्याहाको संगतले सडक ढल्न सिक्छ । ड्राइभरको संगतले गाडी चलाउन सिक्छ । चोरको संगत गर्ने चोर नै हुन्छ । सज्जनको संगत गर्ने सज्जन नै हुन्छ । समाजको यो मान्यता शत–प्रतिशत सही छ ? बिल्कुलै यस्तो नै हुन्छ त ? यसलाई गहिरिएर बुझौँ ।
    मानौँ एक सज्जन र एक मूर्खबिचमा संगत बस्यो । यसलाई कस्तो संगत भन्ने ? सज्जनसँगको संगत भन्ने कि मूर्खसँगको संगत भन्ने ? संगत मूर्खको पनि हो, सज्जनको पनि हो । सज्जनको नजरमा मूर्खसँगको संगत हो भने मूर्खको नजरमा सज्जनसँगको संगत हो । यस्तो संगतमा के मूर्ख नै सज्जनमा फेरिन्छ भन्ने छ ? अथवा मूर्ख नै फेरिन्छ, सज्जन त सज्जन नै रहन्छ भन्ने मान्यता राख्नु उचित हो ? बिल्कुलै होइन । यसमा सम्भावना बराबर छ । यसको अर्थ मूर्ख सज्जन, सज्जन मूर्ख बन्छ ? यो अवस्था पनि अस्वभाविक होइन । यहाँ यतिमात्र भन्न खोजेको हो कि संगतको प्रभाव सधैँ सज्जनको मात्र मूर्खमा पर्छ भनि विश्वास गर्नु गलत हुन्छ । मूर्खको प्रभावमा पनि सज्जन व्यक्ति फेरिन सक्छ । संगतले विद्वान पनि मूर्ख बन्नसक्छ । चोर पनि सज्जन बन्नसक्छ । मेरो भनाइ यति मात्र हो । यसै सन्दर्भमा मैले कुनै बेला सुनेको एउटा प्रसङ्ग जोड्न चाहन्छु ।
    एउटा सानो टापुमा मानसिक अस्पताल थियो । सिङ्गो टापु नै अस्पताल थियो । त्यस अस्पतालमा अलि चर्को मानसिक समस्याका बिरामीहरूको उपचार हुने गथ्र्यो । त्यो अस्पतालसँग अरू समुदायको सम्पर्क थिएन् । एक समय त्यस अस्पतालका बिरामीहरूमा नयाँ समस्या देखाप¥यो । अस्पतालमा त्यस समस्याको अनुसन्धान र उपचारको लागि एक विशेषज्ञ डाक्टरको नेतृत्वमा केही चिकित्सकहरू आए । चिकित्सक टोली अनुसन्धानको रिपोर्ट लिएर त्यहाँबाट फर्कियो । विशेषज्ञ डाक्टर भने थप समस्या आउनसक्ने देखेर बिरामीहरूको उपचारमै बसे । यो एक प्रकारको नयाँ समस्या भएको कारण विशेषज्ञ चिकित्सकहरूले उचित उपचार पद्वति र औषधिको आविष्कार गर्न दुई वर्ष लाग्यो । दुई वर्षपछि नयाँ औषधि लिएर चिकित्सक टोली त्यस टापूमा जाँदा आश्चर्यमा परे । त्यस स्थानमा रहेका विशेषज्ञ डाक्टरकै मानसिक सन्तुलन गुमिसकेको रहेछ । पागलहरूको उपचारमा रहँदारहँदै पागलहरूकै प्रभावमा डाक्टर स्वयम् पागल भएछन्् ।
‘जस्तो संगत, उस्तै रंगत’ अथवा ‘संगत गुणाको फल’ भन्ने हाम्रो समाजको मान्यता शतप्रतिशत सही हो । यदि मूर्ख सज्जनमा बदलियो भने सज्जनको संगतले मूर्ख पनि सज्जन बन्छ भन्ने कुरा साबित हुन्छ । यदि सज्जन मूर्खमा बदलियो भने मूर्खको संगतले सज्जन पनि मूर्ख बन्छ भन्ने कुरा साबित हुन्छ । समाजको मान्यता कसरी गलत साबित हुन्छ ? समाजमा मानिस कसरी , कुन अवस्थामा परिवर्तन हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । समाजमा जुन पक्षको प्रभाव हावी हुन्छ, उसैको आधारमा परिवर्तन हुन्छ । यदि सज्जनको प्रभाव हावी भयो भने मूर्ख व्यक्ति परिवर्तन हुन्छ । यदि मूर्ख व्यक्तिको प्रभाव सज्जन व्यक्तिमा हावी भयो भने सज्जन व्यक्ति मूर्खमा परिवर्तन हुन्छ । जस्तो एउटा चुम्बक र फलामलाई लिऔँ । दुवै दुवैप्रति आकर्षित भएपनि आकर्षणको मुख्य तत्व चुम्बकत्व र चुम्बकीय गुण नै हो । त्यसैले चुम्बकलाई विद्वान मानौँ, फलामलाई चोर मानौँ । चुम्बकको चुम्बकत्व र फलामको चुम्बकीय गुण संगतको माध्यम हो । प्रभाव चुम्बकत्वले गर्छ तर सबै अवस्थामा चुम्बकतिर मात्र फलामको आकर्षण हुन्छ भन्ने छैन । फलामभन्दा चुम्बकको प्रभाव धेरै भएको अवस्थामा फलाम चुम्बकमा गएर टाँसिन पुग्छ भने चुम्बकभन्दा फलामको आकार गह्रुगो भएको अवस्थामा चुम्बक फलाममा गएर टाँसिन पुग्छ । यदि दुवैको चुम्बकीय गुण छुट्यो भने दुवैको संगत पनि टुट्छ र दुवै प्रभावहिन हुन्छन् । विद्वान र मूर्ख बिचको संगतको अवस्था पनि यस्तै नै हो । तर कोहीकोही संगाती बिचमा रहेर पनि प्रभावमुक्त रहन सक्छ र सम्भव पनि छ । जुवाडेहरूको संगतमा रहेर पनि जुवाको प्रभावबाट मुक्त हुन्छ तर जुवाको विषयमा उसँग प्रशस्त जानकारी चाहिँ हुन्छ । त्यस्तै राजनीतिकर्मीहरूको संगतमा रहेका सबै व्यक्ति राजनीतिमै लाग्छन भन्ने छैन तर सो व्यक्तिमा राजनीतिक प्रभाव भने परेकै हुन्छ । चुरोट नखानेहरू पनि चुरोट खानेहरूको संगतमा रहन्छन । मांसाहारीको संगतमा शाकाहारी र शाकाहारीको संगतमा मांसाहारी रहेका हुन्छन् ।
संगतको विषयमा हाम्रो समाजको मान्यता यस्तो पनि छ । आफूभन्दा माथिकोसँंग संगत गर्नुपर्छ । सफल व्यक्तिसँग संगत गर्नुपर्छ । झांगिएको रुखमुनि बस्दा पो छहारी मिल्छ, नाङ्गो रुख तल बसेर छहारी मिल्दैन । सबै मानिसहरू सफल हुँदैनन् । धेरैथोरै मात्र सफल हुन्छन् । धेरैजसो असफल हुन्छन् भने कोही साधारण तरीकाले नै समय बिताउँछन् । सफल भएकाहरू सफलताकै कुरा गर्छन् । असफल भएकाहरू असफलताकै धेरै चर्चा गर्छन् । साधारण तरीकाले बिताउनेहरूमा सफलता, असफलताको त्यति चर्चा हुँदैन । त्यसैले मानिसहरू सफल व्यक्तिहरूसँग संगत गर्नुपर्छ भन्ने मान्यता राखेका हुन्छन् । सामान्यतया यो मान्यता ठिकै जस्तो लाग्छ । तर यो शतप्रतिशत ठिक भने होइन् । यदि यो कुरा सत्य हो भने असफल व्यक्तिको संगत कहिल्यै पनि सफल व्यक्तिसँग हुने नै भएन् । समाजमा यस्तो भइरहने हो भने असफल व्यक्तिको परिवर्तन कसरी सम्भव हुन्छ ? अतः यो मान्यतालाई उत्कृष्ट भनेर मान्ने बलियो आधार देखिँदैन । जोसँग वादविवाद, तर्कवितर्क, चिन्तनमनन गर्ने सम्भावना रहन्छ, उसैसँगको संगत राम्रो हुन्छ । न आफूभन्दा माथिलो स्तरको न मुनिको, आफू स्तरकै संगत रोज्नुपर्छ । किनभने आफू स्तरको संगतमा मात्र आफ्नो भावना, विचारको सम्बोधन हुन्छ, मन्थन हुन्छ र नयाँ विचार उत्पन्न हुने सम्भावना रहन्छ । सफल व्यक्तिसँगको संगतमा न आफ्नो विचारको महत्व रहन्छ न नयाँ विचारको आवश्यकता रहन्छ । त्यस्तै आफूभन्दा मुनिको संगतमा पनि चिन्तन मननको अनिवार्यता न्यून हुन्छ, आफूसँग जति छ उति नै चलिरहन्छ, नयाँ विचारको सम्भावना कमै हुन्छ । त्यसैले दुवैसँगको संगत त्यति लाभदायक रहनै सक्दैन । चिन्तन मननको सम्भावनाबिचको संगत नै सुखद हुन्छ । त्यसबाट नै सृजना मिल्छ, उन्नति मिल्छ, सफलता मिल्छ । भनिन्छ, आफूभन्दा माथिल्लो खानदानसँग र आफूभन्दा तल्लो स्तरसँग सम्बन्ध राख्नु हुँदैन, सम्बन्ध आफ्नो स्तरसँग मात्र राख्नुपर्छ । माथिल्लो खानदानीसँगको सम्बन्धमा हेपिने, दबिने सम्भावना सँधै नै रहन्छ भने तल्लो स्तरसँगको सम्बन्धले आफूलाई कंगाल बनाईदिन्छ । यो अर्को सामाजिक मान्यता हो । यो मान्यताले पनि वादविवाद स्तरको संगत नै खोजेको हो । सफल व्यक्तिहरूको संगतबाट प्रेरणा भन्ने अवश्य मिल्छ । क्रमशः


तपाइको प्रतिक्रिया दिनुहोस्