पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

2.5k Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसित माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै संघका महामन्त्री बलदेव तिमल्सिनाले उक्त मूल्यवृद्धिको भर्त्सना गरेका छन् । कोरोना र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई नेपाल आयल निगमले थप पीडा दिने गरी मूल्यवृद्धि गरेको उनले उल्लेख गरेका छन् ।

“नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा सोमबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १३०, डिजल र मट्टीतेल ११३ तथा हवाई इन्धन प्रतिलिटर ८६ रूपैयाँ र खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ वृद्धि गरी १,४५० कायम भएबाट पुनः सबै क्षेत्रमा चर्को मूल्यवृद्धि हुने निश्चित छ,” विज्ञप्तिमा भनिएको छ, “आहतमा बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको छ ।”

निषेधाज्ञा र महामारीबीच पटक–पटक गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको नेविसंघको ठहर छ ।

“स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालोबजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मूल्य स्थिरीकरण कोषमा सञ्चित रकमको उपयोग, अनावश्यक करहरूको शीर्षक कटौतीतर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञा र महामारीकै बीच पटक–पटक गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको हाम्रो ठहर छ,” विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार