जीवनको महत्वपूर्ण पाटो संगत

6.6k Shares

जीवनको महत्वपूर्ण एउटा पाटो संगत पनि भएको कारण संगतको विषयमा धेरै तर्क, विचारहरू छन् । तर सबैभन्दा उत्तम संगत कुन हो ? संगतलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ ? हामी संगत बिग्रेपछि त्यसलाई खराब भनेर वकालत गर्न पछि पर्दैनौँ । सफल र असफलताको मापदण्ड के हो ? हामीलाई कसलाई के भयो भने सफल र के भएन भने असफल भन्ने ? अहिलेको नेपाली समाज त धनसँग जोडिएको समाज हो । समाजमा मानिसले धन कमाउन सक्यो भने, आलिशान भवन, कार, घाँटीमा सुनका सिक्री लगाउन सक्यो भने समाजले सफलताको डिग्री लगाइदिन्छ । कतिपय मानिस धनको कमाई र कामको सफलतासँग जोडेर संगत गर्नुपर्छ भन्ने मान्यता राख्छन । यो सोच नै गलत हो । कोही पनि सबै काममा सधैँ सफल हुँदैन, यो पक्का हो, त्यस्तै मानिस सधैँ असफल पनि हुँदैन, यो पनि पक्का नै हो । त्यसैले कामको सफलता र असफलताको मूल्याङ्कन गरेर संगत गर्नु निश्चय नै उचित होइन । यस कुराले प्रश्न उठाउँछ, संगत कसरी छनौट गर्ने त ? जवाफ सजिलो छ, जो व्यक्ति सकारात्मक छ, सकारात्मक चिन्तनको छ, उसैसँगको संगत सबैभन्दा उत्कृष्ट हुन्छ । नकारात्मक चिन्तनको व्यक्तिसँगको संगत सबैभन्दा खराब हुन्छ । किनभने सकारात्मक व्यक्तिबाट सधैँ नै सकारात्मक प्रभाव हुन्छ भने नकारात्मक व्यक्तिबाट सधैँ नै नकारात्मक प्रभाव पर्छ । सकारात्मक सोच, सकारात्मक काम, सकारात्मक व्यवहारका व्यक्ति खोजेर संगत गर्न सिकौँ । नकारात्मक व्यक्तिबाट संगत त के व्यवहारमा पनि टाढा रहन सिकौँ । झांगिएको रुखमा छहारी त अवश्य मिल्छ तर सबै अवस्थामा झांगिएको रुखकै जरुरत पर्छ भन्ने मान्यता उचित होइन । जुनबेला छहारीको आवश्यकता पर्छ, त्यति बेला झाँगिएको रुखको जरुरत पर्छ तर कुनै बेला त्यहि छहारी असहज हुन्छ र त्यसलाई त्याग्नुपर्ने हुन्छ । यसको मतलब संगत आवश्यकता अनुसार परिवर्तन गर्न आवश्यक छ र मानिसले यसो गर्ने क्षमता समेत राख्नुपर्छ । मानिस संगतविहिन त रहन सक्दैन तर संगत छनौट गर्न र परिवर्तन गर्न भने अवश्य सकिन्छ ।
‘जस्तो संगत उस्तै रङ्गत’ यस विषयमा एउटा प्रेरक प्रसङ्ग छ । यो प्रसङ्ग लियोनार्दो दा भिन्चीको जीवनसँग जोडिएको वास्तविक प्रसङ्ग हो । जिसस् क्राइसले मृत्युदण्ड दिनु भन्दा अघिल्लो बेलुकी आरुना केही शिष्यहरूको उपस्थितिमा भोजनको आयोजना गरेका थिए, जुन अन्तिम भोजको नामले प्रसिद्ध छ । भिन्चीले त्यसै घटनाको चित्र कोर्ने सोच बनाए । त्यस जमघटमा दुई जना खास व्यक्तित्वहरू थिए । पहिलो व्यक्ति जिसस नै थिए भने अर्को उनको नजिकको शिष्य जुडास थियो । जुडास यस्तो व्यक्ति थियो जसले जिससको नजिक रहेर जिससलाई धोखा दिएको थियो । यस कार्यका लागि भिन्चीलाई एक मोडलको खाँचो भयो । जिससको मोडलको व्यक्ति खोज्नु चानचुने कुरा त अवश्य पनि थिएन । जिसस् भन्नाले रिस, राग, द्वेष, भय, सबैबाट मुक्त, न कुनै द्वन्द्व न प्रश्न सबैबाट पूर्ण व्यक्ति हो । भिन्चीले त्यस्तो मोडलको खोजीमा लागे, जो शान्त, शिष्ट छ, जसको अनुहारमा निष्कलंक, निष्पाप, निर्मलता जस्ता गुणहरू प्रष्ट देखिन्छन् । केही समयको खोजीपछि एकदिन भिन्चीले एक युवक बिहानीको प्रार्थना सकेर चर्चबाट बाहिर निस्कँदै गरेको देखे । उनले त्यस युवकमा खोजेको झलक देखेर खुसी हुँदै हतरपतर दौडेर आफ्नो कुरा राखे । ‘मैले तपाईँमा जिसस्को झलक पाएँ । म जिसस्को चित्र कोर्ने प्रयासमा तपाईँ जस्तै मोडलको खोजीमा थिएँ । कृपा गरी मोडल बनेर सहयोग गर्नुहुन्छ कि ?’ भिन्चीको कुरा सुनेर त्यो युवक एकदम हर्षित भएर सहर्ष स्विकार ग¥यो । भिन्चीले एकै क्षणमा चित्र कोर्ने र मोडल बनेको पारिश्रमिकको लागि अनुरोध गरेपनि त्यस युवकले पारिश्रमिक लिन इन्कार ग¥यो र जिसस्को मोडल बनाएकोमा धन्यवाद दिएर विदा भयो । अब भिन्चीको लागि जुडास जस्तो मोडलको आवश्यक भयो, जसको अनुहारमै पाप, बेईमान, कपट, धोकेबाजी सबै कुरा प्रष्ट देखियोस् । उनी त्यस किसिमको मोडलको खोजमा सडक, गल्ली, जुवाखाना, मदिरालय जताततै खोज्दै हिँडे तर सोचेजस्तो मोडल भेटाउन सकेनन् । दिनहरू बित्दै गए, महिना, वर्ष हुँदै चार वर्ष बित्यो तर उनले मोडल फेला पार्न सकेनन् । भिन्ची एक किसिमले निराश भैसकेका थिए । एकदिन उनले रातको समयमा एकजना जँड्याहा ढलमल गर्दै सडकमा आइरहेको देखे । भिन्चीले नजिक गएर हेरे । आहा ! यो मानिस जुडासँग मिल्यो । उनले खुसी हुँदै त्यस जँड्याहालाई मोडलको लागि अनुरोध गरेपनि उसलाई मनाउनै सकेन । त्यसपछि ‘कति पैसा लिने हो ? भनेजति नै पैसा दिन्छु’ भनेपछि बल्ल जँड्याहा हाँस्यो र मोडल बन्न राजी भयो । भिन्चीले त्यस मानिसलाई मुश्किलले एक ठाउँमा राखेरे चित्र कोर्न समाप्त ग¥यो । भिन्चीले पनि खुसी हुँदै त्यस जँड्याहालाई मागेको भन्दा डबल पैसा दिए । पैसा लिँदै जँड्याहा मरीमरी हाँस्न थाल्यो । ऊ सम्हाल्नै नसक्ने गरेर हाँस्न थाल्यो । भिन्चीलाई उसको हाँसो अनौठो लाग्यो र किन यति धेरै हाँसेको ? भनेर प्रश्न गरे । भिन्चीको कुराको जवाफमा जँड्याहाले भन्यो ‘म तपाईँको दोश्रो मोडल हो, थाहा छ ? मलाई तपार्इँले दुई पटक मोडल बनाउनु भयो ? अनि तेश्रो पटक पनि मलाई नै मोडल बनाउनु हुन्छ ? जँड्याहाको कुरा सुनेर भिन्ची अचम्मित भए र उनले नियालेर हेरे । आखिर हो रहेछ, चार वर्ष अघि जिससको मोडल बनेको युवक यही रहेछ । चार वर्षको अन्तरालमा त्यस युवक लुटेराहरूको संगतमा परेर लुट्ने, जुवा खेल्ने, मदिरा पिउने भैसकेको रहेछ । सत्संगतको कारण चर्चमा जाने हुँदा युवकको अनुहारमै जिसस जस्तो शालिन व्यक्तित्वको झलक देखियो भने कुसंगतमा परेपछि त्यस युवकको अनुहारमा जुडासको जस्तो बेइमानीको झलक देखियो । यहि हो ‘संगत गुणाको फल ।’ ‘जस्तो संगत उस्तै रङ्गत’ । क्रमशः

सम्बन्धित समाचार