मानव जीवनमा शिक्षाको अत्यन्त ठुलो महत्व छ

शिक्षा ः
शिक्षा भनेको ज्ञान हो । मानव जीवनमा शिक्षाको अत्यन्त ठुलो महत्व छ । शास्त्रका अनुसार ‘जलभन्दा पातलो, किरणभन्दा तेजिलो ज्ञान हो ।’ शिक्षामा सबै सम्भावनाहरू हुन्छ । त्यसैले भन्ने गरिन्छ ‘विद्याविहिन पशु’ । वास्तवमा विद्याबिना मानिस पशु सरह नै हुन्छ । मानिस प्राणीमा सर्वश्रेष्ठ हुनुको कारण विद्या हो, ज्ञान हो, चेतना हो । त्यसैले भनिन्छ, ‘शिक्षा मनुष्यको भित्री आँखा हो । शिक्षा सभ्यताको पहिचान हो, शिक्षा नैतिकताको आधार हो ।’ त्यसैले सार्थक जीवनको लागि शिक्षाको अत्यन्त महत्व छ । यदि शिक्षा गलत भयो भने अथवा गुरुले गलत शिक्षा दियो भने ज्ञानी हुने त कुरै भएन, बरु मानिस मूर्ख बन्छ । त्यसैले शिक्षा पनि सही हुनुपर्छ अनि शिक्षा दिने व्यक्ति पनि सही हुनुपर्छ । संसार यति धेरै सुविधासम्पन्न हुनुको पछाडि शिक्षा नै हो । अमेरिका, युरोपको विकासको कारण पनि शिक्षा नै हो । विश्व जगतलाई हेर्ने हो भने जुनजुन देश शिक्षामा कमजोर छन्, त्यहीत्यही देश विकासमा पनि पछाडि छन् । उन्नतिको आधार शिक्षा हो । त्यसैले हरेक राष्ट्रले शिक्षाको नीतिलाई विशेष ध्यान दिएको हुन्छ, विशेष योजना बनाएको हुन्छ र समयानुकुल शिक्षा पद्धतिमा परिवर्तन पनि गरिरहेको हुन्छ । यदि यसो हो भने तपार्इँको मनमा अवश्य पनि एउटा प्रश्न उठेको हुनुपर्छ । यति महत्व राख्ने शिक्षा, शिक्षित बन्ने आधार बन्न नसक्नुको कारण कसरी भयोे त ? प्रश्न गलत छैन । तर शिक्षानीति कस्तो खालको बन्यो त ? पद्धति कस्तो बन्यो त ? राज्यले कस्तो शिक्षा दिईरहेको छ ? गहन प्रश्न यही नै हो । मानिसले शिक्षा दुई किसिमबाट प्राप्त गर्छन् । घरबाट र गुरु वा शिक्षालयबाट । यसको मतलब व्यवहारबाट र किताबबाट । यसलाई भोगेर र पढेर पनि भन्न सक्छौँ । पारिवारिक वातावरण र समाजको वातावरण कस्तो खालको रह्यो, मानिसले त्यस्तै प्रकारको व्यवहारिक शिक्षा प्राप्त गर्छ । मानिस जस्तो वातावरणमा हुर्कियो, ऊ त्यस्तै बन्छ । परिवारमा अभिभावकले सधँै जाँडरक्सीमा मात्तिएर झगडा गरेको हेरेर हुर्केको सन्तान धेरै रिसाहा स्वभावको हुने सम्भावना प्रबल हुन्छ । त्यस्तै किसानको छोराले खेतीपातीको काम अरूले भन्दा छिट्टै सिक्छ । ज्ञानी हुन,ु नहुनुमा एउटा पक्ष घरपरिवार र समाजको वातावरण हो भने अर्को पक्ष देशको शिक्षा प्रणाली पनि हो । नेपालको सन्दर्भमा भन्ने हो भने अहिलेको शिक्षा प्रणाली अव्यवहारिक छ, गुणस्तरहिन छ । नेपालको हालको शिक्षा, प्रमाणपत्रमा सिमित हुने खालको छ । डिग्री पासको प्रमाणपत्र हुने, सरकारी तथ्याङ्कमा शिक्षितको दर्जामा नाम दर्ता पनि हुने, नामको अगाडि डाक्टर पनि जोडिने तर व्यवहारमा फेल हुने पनि हुन्छ । एउटा बिजुलीको चिम जोड्न नसक्ने, घरको पानी निकासको पाइपलाइन मिलाउन अर्काको भर पर्नुपर्ने मानिस कसरी शिक्षित हुन्छ ? जसलाई आलु जरामा फल्छ कि हाँगामा फल्छ थाहा छैन, धानबाट चामल कसरी छुट्याउने थाहा छैन, घाउमा लगाउने मलमपट्टिका बारेमा थाहा छैन, त्यस्ता व्यक्तिलाई शिक्षित भन्ने आधार के ? जसलाई आरुनो मौलिक घेराको बारेमा थाहा छैन, जसले सडकमा हिँड्दा सडक नियमको पालना गर्दैन, त्यस्ता व्यक्तिलाई कसरी शिक्षित भन्ने ? । जो मानि परिवार, समाज र राष्ट्रप्रति उत्तरदायी छैन, व्यक्तिगत स्वार्थको लागि घातप्रतिघातको लागि पछि पर्दैनन्, त्यस्तालाई शिक्षित भन्ने आधार के ? त्यति मात्र होइन, नेपालको अहिलेको शिक्षा नोकर उत्पादन गर्ने माध्यम मात्र बनेको छ भन्दा फरक नपर्ला ? अरूको सेवक भएर काम गर्न सक्षम बनाउने शिक्षा प्रणालीलाई कसरी उत्तम मान्न सकिन्छ ? विडम्बना, अहिलेको शिक्षा मानिसलाई शिक्षित बनाउने, संस्कारी बनाउने, मालिक बनाउने खालको हुन सकेको छैन । त्यसैले त अहिले १०+ २ पछि युवाहरू कामको लागि विदेश जाने गर्छन । नेपाली युवाले विदेशमा सक्षम कामदारकोे परिचय पाईसकेको अवस्थालाई अस्विकार गर्न सकिँदैन । शिक्षित भनेको ज्ञानी हुनु हो । त्यसैले शिक्षा व्यवहारिक हुनुपर्छ, जिम्मेवारीबोध हुने खालको हुनुपर्छ, मानवीय हुनुपर्छ, वैज्ञानिक हुनुपर्छ । रुखको एउटा हाँगामा पाँचवटा चराहरू बसेका छन । एक जना शिकारी आई बन्दूकले हानेर तीनवटा चरालाई मारेर खसाल्यो । अब त्यस रुखको हाँगामा कतिवटा चरा बाँकी हुन्छन् ? गणितको हिसाबले पाँचमा तीन वटा मरेपछि बाँकी दुई वटा हुन्छन् । तर वास्तवमा रुखको हाँगामा एउटै चरा बाँकी रहँदैनन्, बन्दुक चलिसकेपछि चराहरू अर्को गोली पर्खेर बस्छन् ? बस्दैनन् उड्छन् । यदि तपाईँले परीक्षामा दुई वटा चराहरू बाँकी हुन्छन् भनि जवाफ लेख्नुभयो भने पास हुनुहुनेछ । हाँगामा चराहरू बाँकी हुँदैन भनि लेख्नुभयो भने शतप्रतिशत फेल हुनेछ । गणितको हिसाबले सही तर व्यवहारिक हिसाबले गलत । हाँगामा बाँकी चराहरू देखाउन प्रायः असम्भव नै हुन्छ । यस्तो शिक्षा प्रणालीले कसरी शिक्षित बनाउन सक्छ ? नेपाली समाज विश्वसामू पछाडि पर्नुको कारण यही हो । त्यसैले शिक्षालाई व्यवहारिक बनाउनुपर्छ, वैज्ञानिक बनाउनुपर्छ, शिक्षा जिम्मेवार नागरिक उत्पादन गर्ने खालको हुनुपर्छ । सक्षम नागरिक उत्पादन गर्ने खालको हुनुपर्छ । हामीलाई मानव कल्याण गर्ने किसिमको नैतिक शिक्षाको आवश्यकता छ । यसरी हामी शिक्षित बन्न नसक्नुको कारण अव्यवहारिक र अवैज्ञानिक शिक्षा प्रणाली पनि हो । क्रमशः


तपाइको प्रतिक्रिया दिनुहोस्