संस्कारको क्षेत्र जति फराकिलो छ, उत्ति नै महत्वपूर्ण पनि छ

संस्कार
संस्कार शब्दलाई धेरै अर्थमा प्रयोग गरेको पाईन्छ । संस्कारको क्षेत्र जति फराकिलो छ, उति नै महत्वपूर्ण पनि छ । व्यक्तिगत संस्कार, पारिवारिक संस्कार, सामाजिक संस्कार, जातिय संस्कार, धार्मिक संस्कार, राजनीतिक संस्कार आदि । हरेक क्षेत्रमा संस्कार धेरैभन्दा धेरै प्रयोग भएको पाइन्छ । राजनीतिक आदर्श अनुसारको व्यवहार, राजनीतिक संस्कार हो । धार्मिक आस्था अनुसारको व्यवहारलाई धार्मिक संस्कार भनिन्छ । त्यस्तै जातिय रूपमा गर्दै आइरहेको व्यवहार, जातिय संस्कार हो भने समाजले अंगिकार गर्दै आइरहेको परम्परागत थितिलाई पनि संस्कार नै भन्ने गरेको पाइन्छ । परिवारमा कायम रहेको चलन पारिवारिक संस्कार हो भने व्यक्तिको व्यवहारमा देखिने स्वभाव व्यक्तिगत संस्कार हो । यसरी हेर्दा संस्कार भनेको व्यवहार भन्ने पनि बुझिन्छ । स्वभाव, गुण, अनुशासन, परम्परा भन्ने पनि बुझिन्छ । शिष्ट, अनुशासित व्यक्तिलाई संस्कारी भन्ने गरिन्छ । अनुशासनहिन व्यक्तिलाई कुसंस्कारी वा संस्कार नभएको, संस्कार बिग्रिएको भन्ने गरिन्छ । यसले संस्कारलाई व्यक्तिको गुण र अनुशासित व्यवहारको अर्थमा संकेत गरेको देखिन्छ । जन्म, मृत्युमा गर्दै आईरहेको परम्परागत कर्मकाण्डलाई जातीय एवं सामाजिक संस्कारको रूपमा लिने गरिन्छ । मान्छेले मान्छेसँग व्यवहार गर्ने संस्कार, सत्कार गर्ने संस्कार, चाडपर्व मनाउने संस्कार, सजाउने संस्कार, लगाउने संस्कार, खाने संस्कार, विवाह बन्धनको संस्कार कति हो कति । जन्मदेखि नै मान्छेमा संस्कारको प्रभाव परेको हुन्छ । सबैको संस्कार सबैसँग मिल्दैन । प्रकृतिअनुसार, समाजअनुसार, जातिअनुसार, परिवारअनुसार, व्यक्तिअनुसार, धर्मअनुसार, राजनीतिक आदर्शअनुसार संस्कार फरकफरक हुन्छन् । राजनीतिक व्यवहारमा बस्नु राजनीतिक संस्कार हो भने धर्मको निर्धारित अनुशासनमा बस्नु धार्मिक संस्कार हो । चोर्नु, ढाँट्नु, बेइमानी गर्नु, अरूको हानीनोक्सानी गर्नु, दुःख दिनु, रिस गर्नु, ईष्र्या गर्नु, कुलतमा लाग्नु सबै कुसंस्कार हुन् । आदर, प्रेम, सहयोग, सद्भाव, ईमान्दार, शिष्टता सुसंस्कार हुन् । संस्कारमा पनि उच्चकोटिको संस्कार सुसंस्कार हो । समय परिस्थिति अनुरूप परिवर्तन हुन नसकेका संस्कार एक किसिमका कुसंस्कार हुन । संस्कारको यतिसम्म कुरा गरिसक्दा के कुरा प्रष्ट हुन्छ भने मानव कल्याणका, समाज कल्याणका अथवा सबैको हितमा हुने सबैखालको व्यवहार सुसंस्कार संस्कार हुन् भने दोषयुक्त खराब व्यवहार सबै कुसंस्कार हुन । संस्कारी मान्छे गुणी हुन्छ, विवेकशील हुन्छ, निस्वार्थ हुन्छ । गुणी मान्छेको गुणका कारण तेजिलो हुन्छ, प्रभावशाली हुन्छ । ऊ मानव जगतमा एक किसिमको नायक नै बन्छ, उसलाई धेरै पछिसम्म पनि मान्छेले सम्झने गर्छन्, आदर्शको रूपमा पूजा गर्ने गर्छन् । हामीले यस्ता महापुरुषहरू धेरैको नाम लिन सक्छौँ । मर्यादित संस्कारको कारण श्रीराम मर्यादा पुरुषको रूपमा चिनिन्छन् । चारित्रिक संस्कारले सितालाई नारी सुसंस्कारकी जननीको रूपमा चिनिन्छ । त्यस्तै महावीर, सिद्धार्थ गौतम कल्याणकारी संस्कारका कारण आजसम्म महामानवको रूपमा पूजनीय बनेका छन् । भक्ति संस्कारले श्रवणकुमारलाई आदर्श पुरुष बनाए । सत्पुरुषहरूसँगै कुसंस्कारीहरूको नाम पनि जोडिएका छन् । रावण अहंकारी संस्कारको कारणले दानव बने । हिटलरलाई आपराधिक संस्कारले अपराधी बनाए । यसरी संस्कारले सबै क्षेत्रमा प्रभाव पार्ने भएकोले यसलाई बुझ्नु अत्यन्त आवश्यक छ । यदि संस्कारी बन्नु छ भने संस्कार बुझ्नैपर्छ ।
अहिले हाम्रो राजनीतिक पार्टीका नेताहरू संस्कारी बन्न नसकेको कारण राजनीतिक विकृति सतहमै देखिन थालेको छ । समाज संस्कारी नबनेका कारण सामाजिक विसंगतिले समाज अस्तव्यस्त बनेको छ । न पारिवारिक संस्कार कायम छ न व्यक्तिगत संस्कार कायम छ । त्यसैले न व्यक्ति सन्तुष्ट न परिवार सन्तुष्ट छ । सबै क्षेत्र लथालिङ्ग छ । समाजमा असझदारी, अविश्वास, ईष्र्या, द्वेष, लालच, छलकपट व्याप्त छ । यसको कारण के हो ? दोष कसको ? हामी र हाम्रो समाज नै मुख्य कारण हुन् ।
सन्तान गर्भमा जन्म लिएको संकेतसँगै आमाबुबामा कल्पनाहरू पनि तरंगित हुन थाल्छन, जीवनशैलीमा परिवर्तन देखिन थाल्छन । उनीहरू आउने सन्तानको सुस्वास्थ, तेज र सुन्दरताको लागि अनेकौ कर्महरू पनि प्रारम्भ गर्छन, पुजापाठ, मन्दिर, दान आदि समेत गर्न भ्याउँछन्् । आमाचाहिँ हरेक पल होशियारी साथ रहन्छिन ताकि गर्भको सन्तानलाई कुनै नोक्सानी नपुगोस् । उनी आफूले उठ्दा, बस्दा, काममा लाग्दा, खानपानमा समेत उतिकै ध्यान पु¥याउँछिन, प्रसव व्यथा सजिलै छुटोेस् भनि प्रार्थना गर्न पनि भ्याउँछिन् । आमाबुवा दुवै तेजवान, रूपवान, गुणवान सन्तानको कल्पनामा डुब्न थाल्छन् । सन्तान जन्मनु अगावै छोरा जन्मे यस्तो, छोरी जन्मे यस्तो भनेर सपना देख्छन् । आमाबुबाले सन्तान जन्मेको दिनदेखि सन्तानको भविष्यको सपना देख्न थाल्छन् । सम्पन्न परिवारका आमाबुबा, सन्तानलाई डाक्टर बनाउने, इन्जिनियर बनाउने, सफल व्यापरी बनाउने आदि कल्पनामा रमाउँछन् । राजनीतिमा लागेका आमाबुवा नेता बनाउने, मन्त्री, प्रधानमन्त्री बनाउने सपना देख्न थाल्छन् । उनीहरू कसैले कलाकार बनाउने, खेलाडी बनाउने, धनाढ्य बनाउने, सबै सबैले सम्पन्न बनाउने अनेक सपनामा डुब्छन तर एउटा गरीब परिवारको आमाबुबाले भने मनभित्रको खुसीलाई व्यक्त गर्न सक्दैनन् । उनीहरू सन्तानले भोग्नुपर्ने सम्भावित दुःखलाई सम्झेर चिन्तित हुन थाल्छन, सम्भावित संघर्षको योजना गर्न थाल्छन् । सबैसबैले आ–आफ्नो इच्छा, चाहना अनुसार कल्पना गर्छन, कसैले वंश थाम्ने, कसैले भविष्यको सहाराको रूपमा सम्झेर मख्ख पर्न थाल्छन् । कुनै पनि अभिभावकले मेरो सन्तानलाई संस्कारी बनाउँछु भनेर सोचेकै हुँदैन । मेरो सन्तानलाई अनुशासित नागरिक बनाउँछु, जिम्मेवार नागरिक बनाउँछु भनेर कल्पना समेत गरेको हुँदैन । मानवीय समस्या यहिँबाट शुरु हुन्छ । आमाबाबु सन्तानलाई आफ्नो इच्छा, चाहना, सपना अनुरूप बनाउने प्रयास गर्दै हुर्काउँछन । बालबच्चा हुर्काउनु र पालनपोषण गर्नु मूर्तिकारले माटाकोे मूर्ति बनाए जस्तै हो । उनीहरूले न बच्चाको क्षमता बुझ्छन न सीप हेर्छन न सन्तानको इच्छाको मतलब नै बुझ्छन् । त्यसैले आमाबुबाको लागि सानो हुँदासम्म सन्तान ठिकै हुन्छ तर जब उमेर बढ्न थाल्छ, तब सन्तान अटेरी लाग्न थाल्छ । उमेरसँगै छोराछोरी आफ्नै कल्पनामा डुब्न थाल्छन् । उनीहरू आफ्नो भविष्यको विषयमा आफैले योजना बनाउन थाल्छन् । मानिसले जब सन्तानले आफ्नो इच्छा, योजनाहरू व्यक्त गर्न थाल्छन, सन्तानको इच्छा आमाबुबासँग मेल हुँदाको बेलासम्म सबै खुसी भएपनि कहिलेकाहीँ बेमेल हुँदा कस्तो अवस्था सिर्जना होला ? आमाबुबाको चाहना डाक्टर बनाउने तर सन्तानको चाहना खेलाडी बन्ने हुन्छ । आमाबुबालाई पनि असहज, सन्तानलाई पनि असहज हुन्छ । घरपरिवारमा द्वन्द्वको रूप यहीँबाट प्र्रारम्भ हुन्छ । यहाँ कसै न कसैको इच्छा बलिदान हुन बाध्य हुन्छ, बलिदान हुनेको चित्त दुख्छ । उनीहरूले आमाबुबाको लागि, सन्तानको लागि भनेर चित्त बुझाउनैपर्ने हुन्छ । घरमा यदि कोही आफ्नो चाहनाको वलिदान गर्न तयार भएन भने अन्ततः परिवारको विच्छेद हुन्छ । परिवारमा विच्छेद भएर आमाबुबा र सन्तान अलग्गिन्छन् ।
यहि मात्र होइन, परिवार छुट्टिनुको कारण अरू पनि छन् । आमाबुबामा सन्तानलाई डाक्टर, इन्जिनियर, पाइलटको रूपमा देख्ने चाहना किन हुन्छ ? नेता, अभिनेता, मन्त्री, उद्योगपति, सफल व्यापरी होस् भनि कल्पना किन गर्छन् ? आफ्नो सन्तानलाई सबै सम्पन्नतामा देख्न चाहना राख्नुको कारण के हो ? बाबुआमाले सन्तानको जीवनमा इज्जत, सम्मान हुन्छ, जीवन सहज बन्छ भन्ने विश्वास राखेका हुन्छन । यो आमाबुबाको सन्तानप्रतिको मोह हो, प्रेम हो त्यसरी नै आफ्नो जीवन पनि सहज होला र इज्जत, प्रतिष्ठा पनि होला भन्ने आशा हो । हामी यसलाई कसरी गलत भन्न सक्छौँ ? तर यो भ्रम हो । यस भ्रमले परिवार विखण्डनको गराउँछ । यहि भ्रमलाई पालेर आमाबुबाले ज्ञानी, संस्कारी र उत्तरदायित्वको कामना गरी शिक्षा दिने गर्दैनन् बरु सक्षम नोकर बनाउने उद्देश्य लिएर सन्तानलाई शिक्षाको निम्ति प्रेरित गर्छन् । अनि कुसल सेवक बन्न सफल भएको दिन खुसियाली मनाउँछन । आमाबाबुले सन्तान धनी भए, इज्जत सम्मान पाए भने परिवारमा धन भित्रिने अभिलाषा राखेका हुन्छन् । मानिसले धन आर्जन गर्ने माध्यमको रूपमा पेशा व्यवसायलाई लिएको पाइन्छ । हाम्रो समाजमा क्षमताले भन्दा पनि चाहनाले डाक्टर बनेका, थुप्रै धन खर्चेर इन्जिनियर, पाइलट बनेका, निजी सपना बोकेर नेता, अभिनेता बनेकाहरू निश्चय नै धनकै पछि लाग्छन् । उनीहरूको पहिलो प्राथमिकता धन आर्जन गर्ने हुन्छ । आमाबुबाले पनि सन्तानलाई धन कमाउनको लागि नै प्रेरित गरेको पाइन्छ । आजका अभिभावकले सन्तानलाई कुन क्षेत्रमा लगाउँदा धेरै धन आर्जन गर्न सक्षम होला भन्ने सोचविचार गरेर विषय छनौट गरी पढाउने गर्छन । आजभोलि हाम्रो समाजमा विदेश जाने सोच लिएर विषय छनौट गरेर पढ्ने खराब प्रवृत्ति तिव्र रूपमा बढेको छ । समाजमा पेशाको धर्म र अनुशासनको के कुरा ? जिम्मेवारी र उत्तरदायित्वको के मतलब ? धन पहिलो प्राथमिकतामा परेपछि निश्चित नै आमाबुबा, परिवार, समाज, राष्ट्र भनेको त धनपछिको प्राथमिकतामा पर्ने नै भयो । मैले यहाँ धन आर्जनको विरोध गर्न खोजेको पक्कै होइन् । जीवनमा बाँच्नका लागि, दैनिक आवश्यकता पूरा गर्नको लागि धन चाहिन्छ । जीवनमा बाँच्नका लागि समेत धन कमाउनु पर्छ । धनबिना केही पनि हुने सम्भावना नै नभएको अहिलेको परिस्थितिमा धन त चाहिन्छ तर कसरी कमाउने ? धन कति कमाउने ? धन कमाउनुको सीमा के हो ? हामीले केके गर्नका लागि कमाउने ? यो मूल प्रश्न हो । यसको उत्तर पनि सिधा छ । हामीले केका लागि कमाउने ? जीवनमा गाँस, बास, कपासको लागि कमाउने, सन्तानलाई हुर्काउन, पढाउन, औषधी उपचार गर्न कमाउने, इज्जत, मानप्रतिष्ठाको निम्ति कमाउने, सन्तानको सुखको निम्ति कमाउने, जीवनको उत्तरार्धको सुरक्षाको निम्ति कमाउने, सुखसुविधाको निम्ति कमाउने, सहज जीवनयापनको निम्ति कमाउने आदि तयारी उत्तर हुन् । मानिसले समाजमा स्थापित हुन कमाएको भन्ने गरेको पाइन्छ, यो उसको दरिद्र मानसिकता हो । मानिस सम्पत्तिले नभएर मानसिकताले दरिद्र हुन्छ । संसारमा सबैभन्दा दरिद्र व्यक्ति भनेको मानसिक रूपमा दरिद्र व्यक्ति हो । यसै सन्दर्भमा अब्राहम लिङ्कनको जीवनीको एउटा प्रसङ्ग स्मरण गर्न चाहन्छु । क्रमशः


तपाइको प्रतिक्रिया दिनुहोस्