संस्कारको क्षेत्र जति फराकिलो छ, उत्ति नै महत्वपूर्ण पनि छ—३

हरिराम महर्जन ‘ठेचो’

माघ लागेपछि छोेराको एसईई परीक्षाको तालिका सार्वजनिक भयो र दुई महिना स्कुलमा होस्टल राख्ने सुचना आयो । हरिचा र राममायाले आफ्नो छोराको आवश्यक व्यवस्था गरेर शिक्षकहरूलाई छोराको राम्रो हेरविचार गर्न अनुरोध गरेर विद्यालयमा छोडे । राममायाले छोराको लागि दिनुहुँ स्कुल गएर थर्मसमा तातो पानी पु¥याउने र छोराको अवस्था बुझ्न जाने गरिरहिन् । छोराको परीक्षा प्रारम्भ भयो । उनी हरेक दिन छोरासँग परीक्षाको बारेमा बुझ्ने गर्थिन् । छोराको परीक्षा रामै्रसँग टुंगिएको कुरा सुनेर दुवै जना खुसी भए । हरिचा र राममायाले परीक्षा सकेको केही दिनपछि छोराको इच्छा बुझेर अंग्रेजी भाषा र कम्प्यूटर तालिममा पठाए । राम हरेक दिन बिहान अंग्रेजी भाषाको कक्षामा र साँझ कम्प्यूटर कक्षामा जान थाल्यो । उनीहरूले छोरालाई कलेज भर्नाको तयारी कक्षामा पठाए । 

असारको पहिलो हप्तामै छोराको नतिजा सार्वजनिक भयो । राम सर्वोकृष्ट अंक ल्याएर पास भयो । छोराको राम्रो परिणामले हरिचा र राममायाको भुईँमा खुट्टै रहेन, खुशीको सिमा नै रहेन् । दुवै जनाले छोरालाई सगुन दिन दही, लालमोहन, जेरी, पुजा सामानको तयारी गरे । हरिचाले हतारहतार पसल आउनेजाने क्रम चलिरहेको देखेर छिमेकीले ‘छोरा पास भयो ? त्यसैले हतार हो की ?’ भनेर सोधे । उनले ‘हो ! छोराले ब्ं मा पास गर्यो, घर आउनु है’ भन्दै खुसि व्यक्त गरे । हरिचा र राममायाले छोरालाई सगुन दिएर डाक्टर बनोस् भनेर शुभकामना दिए । उनीहरूले आफन्त, इष्टमित्रहरू, छरछिमेकी, छोराका साथीहरू र शिक्षकहरूलाई निम्तो गरेर सानो पार्टी गरेरै खुसियाली मनाए । उनीहरूले दिएको पार्टीमा सबैले छोराको निकै प्रशंसा गरेको सुनेर दुवै गमक्क परे । छोराले नाम चलेको कलेजमा विज्ञान विषयमा नाम निकाल्यो र आमाबुबाको इच्छा अनुसार जीवविज्ञान पढ्यो । राम कक्षा एघार र बाह्रमा पनि राम्रै पास भयो । उसले डाक्टर पढ्ने तयारी ग¥यो । रामलाई विदेशमा गएर डाक्टर पढ्नको लागि पचास लाख रूपैया चाहिने भयो । हरिचा र राममायाले ‘छोराको लागि त हो’ भनेर एक रोपनी खेत बेच्ने निधो गरे । हरिचाले जग्गाको दलाली गर्ने आफ्नै भतिज मार्फत लेनदेनको भाउ मिलाएर जग्गा बेचे । भतिजले काकासँग कुनै पारिश्रमिक नमागेपनि हरिचाले पेशा सम्झेर केही रकम दिए । राममायाले छोराको भविष्य सम्झेर आँशु झार्दै जग्गा पासको लागि सहिछाप गरिन् । केही समयपछि भतिजले आनाको एक लाख रूपैया खाएको थाहा पाएपछि हरिचाको मन थामिएन र उसले भतिजसँगको सम्बन्ध तोड्यो । ‘मानिस पैसाको लागि यति तलसम्म गिर्दो रहेछ, विश्वास, धर्म, पाप कहाँ हो कहाँ । जमाना कस्तो भयो ।’ हरिचा एक्लै बर्बराउँन थाले । 

हरिचाले घरमा टेलिभिजन र इन्टरनेट जोड्यो । छोरालाई मोबाईल, ल्यापटपको पनि व्यवस्था ग¥यो । हरिचा अब सँधैजसो टेलिभिजन सिरियलको गफ दिन थाल्यो । उसले खर्च गरेर बाँकी रहेको पैसा सहकारीमा जम्मा गरेको थियो । सो रकमको ब्याजले घरको खर्च चलिरहेकोले दुवै जना श्रीमानश्रीमती खेत बेच्नु परेपनि त्यति दुःखी भने थिएनन् । उसको छोरा विदेशमा डाक्टर पढ्न जाने भयो । उसले कागजपत्र, भिसा हवाईजहाजको टिकट, लुगाफाटा लगायत आवश्यक सामानहरूको व्यवस्था गरिदियो । राम विदेश जाने दिन आफन्त, इष्टमित्र, छरछिमेकी, छोराको साथीहरूले पनि शुभकामना दिए । घरमा उसको बिदाई गर्नेहरुको ठूलो भिडभाड भयो । हरिचा र राममायालाई एकातिर छोरा विदेश जान लागेकोमा गर्व थियो भने अर्कोतिर छोरासँग विछोड हुनु परेकोमा दुःख पनि थियो । उनीहरूको अनुहारमा दुःख र गर्वको मिश्रित भाव झल्किरहेको थियो । हरिचा एयरपोर्टसम्म गएर छोरालाई विदाई गरेर घर फर्कियो । राममायाको आँखामा भने आँसु रोकिएन् । हरिचा क्षणक्षणमा राममायालाई सम्झाउँदै थियो । यसरी सम्झाउँदै गर्दा हरिचाको आँखा पनि रसाइरहेको थियो । हरिचा र राममाया चार वर्षपछि छोराले डाक्टर पनि पास गरी फर्केको दिन साह्रै खुशी भए । छोराले डाक्टरी सेतो लुगा (एप्रोन) लगाई घाँटीमा बिरामी जाँच्ने यन्त्र झुण्ड्याएर सरकारी अस्पतालमा काम पनि प्रारम्भ ग¥यो । उसले एक वर्षपछि अमेरिकामा गएर विशेषज्ञको लागि थप पढ्ने इच्छा ग¥यो । हरिचा र राममायाको मनले त स्विकार गर्न नसकेपनि छोराको इच्छा र आफ्नो पनि पहिलेदेखि नै छोरालाई अमेरिका पठाउने चाहनाको कारण पहिलेको बचेको पैसाले नपुग ऋण लिएर अमेरिका पठाए । दिन बित्दै गयो, ऋणको ब्याज पनि बढ्दै गयो । हरिचा र राममाया छोराले पैसा कमाएर पठाउला र ऋण तिरौँला भन्ने आशामा बसेका थिए तर अब ऋण थाम्न सक्ने स्थिति रहेन् । हरिचाले छोरासँगको सल्लाहमा बाँकी रहेको एक रोपनी खेत पनि बेच्यो । उसले आफूलाई लागेको ऋण तिरेर बाँकी रहेको रकम मध्ये केही छोरालाई पठायो र केही सहकारीमा जम्मा ग¥यो । छोराले अब काम गर्दै पढ्न प्रारम्भ गरेको खबर सुनेर हरिचा र राममायाको मन केही सञ्चो भयो । गाउँटोलमा हुने पार्टी गफमा हरिचाले अमेरिकामा रहेको छोराको गफ सुनाउन बाँकी राखेन् । रामले चार वर्षपछि डाक्टरी पढाई सक्यो । ऊ राम्रो डाक्टर बन्यो र अमेरिकामै अस्पतालमा काम पनि प्रारम्भ ग¥यो । हरिचा र राममायालाई रामले ‘यहाँ तलब राम्रो छ, त्यसैले केही वर्ष काम गरेर मात्र फर्कन्छु’ भनेको ठिकै लाग्यो । उताको डलर महंगो भएको र नेपाली रूपैयाको हिसाब गर्दा महिनामा झण्डै डेढ लाख जति तलब पाउने कुरा सुनेर उनीहरू झन दंग परे । हरिचाले गाउँसमाजमा छोराको गफ लगाइरहन्थ्यो । ऊ छोराले पैसा पठाउला भन्ने आशामा भएपनि गाडी किनेछ, घर किन्ने योजना गरेको थाहा पायो । हरिचा र राममाया ‘छोराले आफ्नै लागि मेहनत गरेको ठिकै हो’ भनेर चित्त बुझाए । हरिचा र राममाया एक्कासी छोराले कुनै खबर बिना नेपाली केटीसँग बिहे गरेको सुनाएपछि दिक्क भए ।

छोराले हरिचा र राममायालाई आफूले बिहे गरेको एक वर्षपछि अमेरिकामा बोलायो । छोराले अमेरिका पुग्न आवश्यक रकम पठायो । उनीहरू अत्यन्त खुसी भएर अमेरिका गए । हरिचा र राममायाले नाति जन्मिएपछि नातिको स्याहारसुसार गर्दै छ महिना अमेरिकामा बिताएर नेपाल फर्के । 

उनीहरू घर फर्केपछि दैनिक जीवनमा व्यस्त भए । उनीहरू घर आएको केही समयमा खेत पनि सकियो । उनीहरूको घरव्यवहार सहकारीमा रहेको केही पैसाको ब्याजले मात्र चल्ने अवस्था रहेन । छोराको आशमा बस्दाबस्दै उनीहरूको शरीर शिथिल हुँदै गयो । राममायालाई बेलाबेलामा तल्लो पेटको दुखाई बढ्न थाल्यो, हरिचालाई पनि कहिलेकाहीँ रिङ्गटा लाग्ने रोग देखिन थाल्यो । दुवै जना जसोतसो बाँच्दै गए । छोरासँगको सम्पर्क टुट््दै गयो र कुराकानी पनि पातलिँदै गयो । उनीहरू छोराले जहिले पनि व्यस्त भएको र पैसा जोगाउन नसकेको कुरा सुन्दा दिक्क भए । उनीहरूले छोरा बुहारी घर फर्कने छाँट देखेनन् । हरिचा र राममायाले छोरासँग आफ्नो स्वास्थ्य र घरको परिस्थिति बारेमा भन्न चाहेनन् ।

अचानक राममायालाई पेटको व्यथाले च्याप्यो । छिमेकी, आफन्तहरूको सहयोगमा अस्पतालमा उपचार प्रारम्भ भयो । डाक्टरले राममायाको चेकजाँच ग¥यो । उसले हरिचालाई आफ्नो कार्यालयमा बोलाएर राममायालाई पाठेघरको क्यान्सर फैलिसकेको कुरा बतायो । डाक्टरले उपचारमा ढिलो भएको कारण उपचार हुन नसक्ने अवस्थामा पुगिसकेको र राममाया तीन महिना मात्र बाँच्ने जानकारी दिँदै उनीहरूलाई घर जान सल्लाह दियो । डाक्टरको कुरा सुनेर हरिचाको शरीर अडिरहन सकेन, ढल्यो । हरिचाको तुरुन्त इर्मजेन्सीमाउपचार भयो । उसको रक्तचाप उच्च रहेछ । ऊ केही दिनको उपचारपछि ठिक भयो । डाक्टरले दिनहुँ औषधि खान सल्लाह दिए । हरिचा जीवनको अन्तिम सहाराको रुपमा रहेकी राममायालाई सम्हाल्दै घर फर्कियो । हरिचाले राममायालाई हरिचाले उसको स्वास्थ्यको बारेमा डाक्टरले भनेको कुराको कुनै जानकारी दिएन । राममायालाई आजभन्दा भोलि, भोलि भन्दा पर्सि गा¥हो हुन थाल्यो । उनी बेलाबेलामा मेरो व्यथा कम भएन, झन बढ्न थाल्यो भनेर पीडा सुनाउने गर्थिन । हरिचा उनलाई ‘मनलाई सम्हाल, औषधिले ठिक हुन्छ, नआत्तेउ’ भनेर जवाफ दिएर कुरा मोड्ने गर्थे । एकदिन हरिचा एक्लै कोठामा बस्दै रोइरहेका थिए । राममायालाई आफूलाई नराम्रो रोग लागेको रहेछ, अब आफू नबाँच्ने कुरा थाहा भयो । राममायाले रुँदै हरिचालाई सोधिन् ‘किन मलाई कुरा लुकाएर आफू एक्लै रुन्छौ ? जिन्दगीभर सुखदुःखमा सँगै रहने वाचा गरेका हामी । तिमी एक्लै रुने ? मलाई सँगै रुन पनि नदिने ? मैले थाहा पाएँ, अब म बाँच्दिन भन्ने कुरा । त्यसैले मलाई कुनै कुरा नलुकाउनु भन मलाई के भएको रहेछ ?’ राममायाको कुराले हरिचाको मन थाम्नै सकेन । उसले आँसुु पुछ्दै डाक्टरले भनेको सबै कुरा सुनायो । उनीहरू दुवै जना अंगालोमा बाँधेर आँसु सुक्ने गरी रोए । राममायाले छोरासँग कुरा गर्ने इच्छा छोड्न सकेकाी थिइन् । राममायाले छोरा, बुहारी र नातिलाई भेट्ने अन्तिम इच्छा राखिन् । हरिचाले छोरालाई नेपाल फर्कन धेरैपटक अनुरोध गरेपनि ऊ आएन । हरिचा निराश भयो । छोराका गैरजिम्मेवार जवाफ सुनेर हरिचा छोरा देखेर वाक्क भयो । राममाया जतिबेला पनि त्यही छोरा, बुहारी, नातिको बारेमा सोधिरहन्थिन् । हरिचा विवश भएर रोएर बस्थ्यो । राममाया अन्तिम अवस्थामा पुगेर छटपटाएको बेला छोराले पठाएको रु. १ लाख रूपैया लिएर सहकारीका कर्मचारी घरमा आयो । राममायाको आँखाबाट आँसुको खोला बग्यो । ‘छोराबुहारी नआएर पैसा मात्र पठाएछन् ? मलाई पैसा किन चाहियो ? अब मलाई पैसाको के काम ? बरु उसैलाई काम लाग्छ, फर्काइदिनु ।’ उनले हरिचालाई झोक्किएर भनिन् । हरिचाले पैसा लिन इन्कार गरे । त्यहाँ भएका छरछिमेकी, आफन्त सबै भावुक भए । राममायाले हरिचालाई बेस्सरी समातेर, रोएर, चिच्याएर संसार त्याग गरिन । हरिचा पूर्खादेखिको खेतबारी जानु, धेरै भरोसा गरेको छोराले धोका दिनु अनि सबैभन्दा ठूलो कुरा त राममायाले छोडेर गएपछि जीवनदेखि निराश हुँदै गयो । उसलाई अब कुनै कुराको फिक्री रहेन । हरिचा राममायाले मृत्युका बेला ‘मलाई सम्झेर नरुनु, जीवनको ख्याल राख्नु, छोराबुहारी, नाति एकदिन आउनेछन्, राम्ररी मिलेर बस्नु’ भनेको कुरा सम्झेर क्षणक्षणमा बर्बराएर रुन थाले । उसको यो अवस्था देखेर समाजमा सबैले उसको मगज बिग्र्रेको भन्न थाले । आफन्तले हरिचाको अवस्थाको जानकारी रामलाई दिएपनि ऊ फर्केर आएन । समाजमा मानिस यस्तो छोरा हुनुभन्दा नहुनु ठिक भन्न थाले ।

एकदिन एकाबिहानै मन्दिर गएकाहरूले मन्दिरको ढोका बाहिर हरिचा ढलेको अवस्थामा देखे । उनीहरूले उसलाई उठाउन खोज्दा नउठेपछि गाउँमा हल्ला भयो । सबै गाउँलेहरू त्यस ठाउँमा जम्मा भए । आफन्तहरूले आएर हेर्दा हरिचा बितिसकेको रहेछ । मानिसहरू लाश उठाउने कुरामा अलमलमा परे । सामाजिक चलन अनुसार छोराले दाहासंस्कार गर्नुपर्ने भएपनि छोरा अमेरिकामा भएकोले पर्खने कुरा भएन । आखिरमा दाजुभाईले आवश्यक संस्कार गर्ने निधो गरे । लाशलाई मिलाउने क्रममा हरिचाको हातमा एउटा कागज च्यापेको देख्यो । हरिचाको भतिजले पढ्न थाल्यो । कागजको विवरण यस प्रकार रहेछः

हे भगवान ! मलाई यति धेरै दुःख किन ? म यति धेरै पीडा सहन नसक्ने भएँ । मैले कहिल्यै पनि कुनै पाप सोचिनँ, कसैको कुभलो पनि चिताइनँ । मलाई राममायाजस्ती जीवनसाथी दिनुभयो, हर्षको बहार दिनुभयो । मैले छोरा मागेँ, अति सुन्दर राजकुमारजस्तो छोरा दिनुभयो, मलाई संसारकै खुसी दिनुभयो । छोरालाई डाक्टर बनाउने इच्छा गरेँ, अमेरिका पठाउने चाहना गरेँ, त्यो पनि पूरा गरिदिनुभयो । मलाई संसारकै भाग्यमान बनाउनु भयो । मैले खुसी नै खुसी, सुख नै सुख पाएँ तर अहिले म निसन्तान भएको छु, आफन्तहरूको माझ पनि एक्लो भएको छु । मलाई पलपल छट्पटी, आँसुको भेल किन दिनुभयो ? एक क्षणमा खुसीको बहार दिनुभयो थाम्नै मुश्किल हुने गरी, अर्को क्षणमा थाम्नै नसक्ने गरी आँशुको भेल दिनुभयो । किन रूप फेरियो भगवान ? मेरो कुन कुकर्मको सजाय दिनुभयो, भगवान ? मैले बुझेँ, भगवान । मैले छोरालाई डाक्टर बन्ने बाटो देखाएँ, पैसा कमाउन सिकाएँ, धनी मान्छे बन्न सिकाएँ । मैले अरूको देखासिकीमा छोरालाई विदेश पठाउने रहर गरेँ तर संस्कार सिकाउन सकिनँ । मैले उसलाई संस्कारी बन्ने संस्कार दिन सकिनँ । मेरो यही सानो भूलको सजाय भोग्नु परेको छ, मैले बुझिसकेँ । अब भयो भगवान, मलाई जिउने रहर पुग्यो, जीवनदेखि हारिसकेँ म । अब मलाई शरणमा लिनुहोस् । राममाया म आउँदैछु, तिमी बिना म अधुरो छु, म आउँदैछु । छरछिमिेकी, दाजुभार्ई, इष्टमित्र सबैमा मेरो विनम्र अनुरोध छ, मेरो जे जति बाँकी रहेको घरबारी छन्, सबै ज्येष्ठ नागरिकको हेरविचार गर्ने संस्थामा दिनुहोला । यो मेरो अन्तिम इच्छा हो ।

हरिचा । 

चिठीको कुरा सुनेर सबैको आँखामा आँसु बग्यो । लाश चिहानतिर लगियो । परम्परागत दाहसंस्कार भयो । हरिचाको अन्त भयो । 

अहिलेको समाज यही बाटोतिर तिव्रतर रूपमा अघि बढिरहेको छ । भविष्यमा हरिचा र राममायाको जस्तो कथाबाट पीडामा पर्नेको संख्या भयावह हुने लक्षण प्रशस्तै देखिन थालेका छन । मानिस अरूको देखासिकीमा डुब्दै गइरहेका छन् । उनीहरू धनी बन्ने सोचले अरू सबै छोड्दै गईरहेका छन । मानिस डाक्टर, इन्जिनियर, पाइलट, नेता जे बने पनि पैसाको लागि, अरूको सामू ठूलो हुँ भनि छाती फुलाउनको लागि, सहज जीवनयापनको लागि लागिरहेका छन् । यस्तै गलत संस्कारको मलजलबाट हुर्केको सन्तान कसरी संस्कारी बन्छ ? हामी सन्तानलाई पढाउँछौँ किन ? ज्ञानी बनाउनको लागि, संस्कारी बनाउनको लागि, बिल्कुलै होइन । हामी आफ्ना सन्तानलाई धनी बनाउन पढाउछाँै, जागिरे बनाउन पढाउछौँ, नोकरी गराउन पढाउछाँै, माथिल्लो ओहदामा पु¥याउन पढाउछौँ । सन्तानलाई पहिले नै आफूबाट धेरै टाढा जाने बाटोमा हुर्काएपछि बुढेसकालमा कसरी आm्नो सामुन्ने पाउनु हुन्छ ? । त्यसैले सन्तानलाई धनी बन्न नसिकाऔँ, संस्कारी बन्न सिकाऔँँ । धनको महत्व होइन, जीवनको महत्व बुझाऔँ । सुविधासम्पन्न बाक्लो डसना किन्ने बाटो नदेखाऔँ, मिठो निन्द्रा पाउने बाटो देखाऔँ । कमसे कम हाम्रो सन्तानले त सार्थक जीवन बाँच्न सकून् । हामी जीवनको उत्तरार्धमा पुगेकाहरुको सेवा गरौँ, सहारा बनौँ । सायद हाम्रो आफ्नो जीवनको उत्तरार्ध सुरक्षित हुनेछ । क्रमशः 



तपाइको प्रतिक्रिया दिनुहोस्