गण्डकी लाइसेन्सको सेटिङमा अख्तियार मौन

पोखरा । झन्डै दुई बर्षदेखि रोकिएको सवारी चालक अनुमतिपत्र लाइसेन्सको प्रयोगात्मक परिक्षा कास्कीमा चलिरहेको छ । धेरै पहिले दर्ता भएर ट्रायल हुन नसकेको काम अहिले धमाधम भैरहेको छ । मोटरसाइकलको हकमा दैनिक दुई सय चालिसदेखि तीनसयसम्मको ट्रायल भैरहेको छ । नियमनकारी निकायले चासो नदिँदा अहिले यहाँ दलालहरू मार्फत् सेटिङ मिलाएर रकम असुली गर्ने काम भैरहेको छ । केही सेटिङ भएका पुराना ड्राइभिङ सेन्टर त व्यक्तिगत दलाल मार्फत् रकमको लेनदेनका आधारमा लाइसेन्स वितरण गर्ने काम भैरहेको छ । केही ड्राइभिङ सेन्टरहरूको सिधै सम्पर्क ट्राफिक प्रहरीसँग भएको कारण पनि उनीहरू मार्फत् काम हुने गरेको खुलेको छ । विगतमा कास्कीको लाइसेन्सको परिक्षामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिदै आएकोमा केही बर्षदेखि गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिकहरू खटिने गरेका छन् । दलालहरूले तिनै ट्राफिक प्रहरी मार्फत् सेटिङ गरिरहेका छन् ।मोटरसाइकलको हकमा अवस्था हेरेर ३५ सयदेखि पाँच हजारसम्मको दररेट रहेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी प्रभु ढकालले लाइसेन्समा सेटिङ मिलाउनकै लागि आफु सरूवा भएर आउदा निरीक्षक मनोज शाहीलाई सरूवा गरेर ल्याएका छन् । उनीहरूको महानगरीय ट्राफिक प्रहरी कार्यालयदेखि नै नजिकको सम्बन्ध भएको कारण पनि ढकालले लिएर आएको सोही कार्यालयका एक सईले जानकारी दिए । ढकाल आएदेखि नै लाइसेन्स हेर्ने कमान्डर यिनै मनोज शाही हुन ।

यसबाहेक सेटिङको सबै प्रवन्ध मिलाउने काम सई प्रमोद कडेलले गर्दै आएका छन् । घर नै पोखरा भएका कडेल धेरै लामो समयदेखि ट्राफिक प्रहरीमा कार्यरत छन् । यहाँ अचम्मको कुरा के छ भने संचार दरवन्दी भएका कडेललाई ढकालले लाइसेन्समा खटाउदै आएका छन् । जबकि संचारको कर्मचारीलाई त्यसरी लाइसेन्समा खटाउन पाइदैन ।त्यसैगरी एसपी ढकालको बिश्वास प्राप्त रहेका असई सुरेश बहादुर थापाको हालिमुहाली व्यापक रहेको छ । धादिङमा कार्यरत रहँदा होस् या बग्गीखाना जहाँ हुदापनि सधै काण्ड र बिबादमा पर्ने थापा पनि यहाँको ट्राफिकमा लामो समयदेखि कार्यरत छन् र उनले पनि सेटिङको चाजोपांजो मिलाउने काम गर्दै आएका छन् । अख्तियारको कार्यालयदेखि आफुलाई इमानदार भन्न रूचाउने तर सांढे तेत्तीस किलो सुनकाण्डमा मुछिएका डिआइजी दिवेश लोहनी पोखरामा नै छन् तर लाइसेन्स वितरणमा भएको अनियमितता र सेटिङमा भने मौन देखिन्छन् ।आखिर किन ? प्रश्न यहीँ छ । गण्डकी प्रदेश स्थित पोखरा यातायातमा कार्यालय प्रमुखको रूपमा प्रेम प्रसाद श्रेष्ठ छन् ।



तपाइको प्रतिक्रिया दिनुहोस्