काठमाडौं । नेपाली काँग्रेसको जिल्ला तहको अधिवेशनहरु धमाधम चलिरहँदा को बलियो भन्ने आँकडा आउन थालेको छ । अहिलेसम्म सभापति शेरबहादुर देउवाको एकल बहुमत रहने अवस्था देखिदैन । उनीभन्दा इतर समूह बलियो देखिएका छन् । इतर समूह मिलेमा देउवालाई सभापति जित्न असम्भवप्रायः हुन्छ । त्यसैले उनी आफूविरोधी समूहलाई फुटाउन सक्रिय भइसकेका छन् । विरोधी समूह एक भएमा देउवाले महाधिवेशनमा पराजित हुनुपर्छ कि त ब्याक हुनुपर्छ । यसैले परिस्थितिको लेखाजोखा गर्न देउवा लागेका छन् ।
काठमाडौं उपत्यकामा देउवा निकै कमजोर देखिएका छन् । उनी पक्षधर नेताहरु पूर्वमहामन्त्री प्रकाशमान सिंहका सामु फितलो देखिएका छन् । कामाडौं महानगरपालिकालगायत अधिकांश नगरहरुमा सिंह पक्षधर उम्मेदवारहरु अत्याधिक बहुमतले विजयी भएका छन् । सिंहविरुद्ध सभापति देउवालगायत हस्ती नेताहरु एकजुट हुँदा पनि उपत्यकाका अधिकांश पालिकाहरुमा उनी पक्षधरले सानदार विजय हासिल गरे । महानगरपालिकामा सिंह भर्सेस बाँकी नेता जस्तै अवस्था थियो । तर, उनी पक्षधर उम्मेदवार निलकाजी शाक्यले दुई तिहाई मतका साथ जित हासिल गरे । देशभरका पालिकामध्ये सबैभन्दा बढी वडा तहका प्रतिनिधि आएको काठमाडौं महानगरपालिकामा शिाक्यले ७८६ मत पाउँदा प्रगतिमान रञ्जितले ३२९ मत पाए । शाक्यको प्यानल नै विजयी भयो । काठमाडौंका अधिकांश पालिकामा सिंह पक्षधर विजयी भए । पराजित पालिकामा पनि झीनो मतान्तरले मात्र पराजित भए ।
ललितपुर र भक्तपुरमा पनि प्रकाशमान सिंह पक्षधर मजबुत देखिएका छन् । वडा तहबाटै उनीहरु बढी संख्यामा प्रतिनिधि चयन भएका छन् । प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला सभापतिको निर्वाचनमा समेत यसको असर देखिने भएको छ । महानगर र उपत्यकाका नगर र पालिकाको चुनावबाट पनि सिंह काठमाडौं उपत्यकाभित्र मजबुत देखिएका छन् । उपत्यकाका तीनवटै जिल्लामा उनी पक्षधरहरु मजबुत देखिएका हुन् । काठमाडौं महानगरपालिकामा सिंह पक्षधर शाक्यको विजयले काँग्रेसको राजनीतिमा अर्थपूर्ण सन्देश गएको छ । सभापतिको उम्मेदवारी घोषणा गरिसकेका प्रकाशमान सिंहको प्रभाव बढ्ने संकेतका रुपमा यसलाई लिइएको छ ।
सिंहले उत्साही हुँदै सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् । काँग्रेसमा राम्रो छवि बनाएकाले पनि सिंहको पक्षमा महोल बन्दै गएको छ । उनी कडा चुनौती बन्न सक्ने देखेर सभापति देउवाले भद्र सहमति गर्न खोजेका थिए । तर, सिंह तयार भएनन् । उनले आफूलाई सभापति छाड्न आग्रह गरे । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि यसपटक आफूलाई सभापतिमा साथ दिन आग्रह गरेका छन् । सिंह कुनै हालतमा पछि नहट्ने गरी बढिसकेका छन् । यसले पनि काँग्रेसको राजनीतिमा यसपटक नयाँ परिस्थिति विकास हुने देखिदैछ ।
देउवा भने महाधिवेशनमा स्पष्ट बहुमत आफ्नो पक्षमा नदेखेर महाधिवेशन सार्ने रणनीतिमा पुगेका छन् । मंसिरमा हुनुपर्ने महाधिवेशन सरेर माघ या फागुनमा पुग्ने देखिन्छ । त्यही बीच चुनाव घोषणा गरेर पछि धकेल्ने रणनीति समेत बनाउन थालेका छन् । देउवाको यो रणनीति बुझेर उनीइतर समूहहरु गम्भीर बनेका छन् । प्रकाशमान सिंह देउवाका लागि निकै ठूलो चुनौती बन्ने देखेबाट उनले कोइराला परिवारका सदस्यहरुलाई पनि साथमा ल्याउन खोजेका छन् । पौडेलसँग भद्र सहमति गरेर भएपनि फेरि सभापति बन्न खोजेका छन् ।