मानव जीवनलाई अन्तसम्म बेरिरहने डोरी सुख र दुःख हो

सुख र दुःख

मानव जीवनलाई अन्तसम्म बेरिरहने डोरी सुख र दुःख हो । मानिस सुख र दुःखबाट मुक्त हुन कठिन छ तर असम्भव छैन । मानिस सुख र दुःखको चक्रमा घुमिरहने भएकोले नै कोही जीवनलाई सुख र दुःखको संयोग भन्ने गर्छन् । जीवनमा सबै प्रकारको सुखभोग गर्ने चाहना राख्छन् भने सबै किसिमका दुःखबाट मुक्त हुन चाहन्छन । यो मानव स्वभाव हो । यसैको कारण मान्छेहरू अनेक कर्म गर्छन र दुखी हुन्छन । मानिस सुख र दुःखको परिभाषा र त्यसको प्रकृतिलाई बुझ्ने प्रयास गर्दैनन । सुख के हो ? दुःख के हो ? सुख र दुःखका श्रोत केके हुन ? यसका विषयमा गहन विश्लेषण गर्दैनन । सुख र दुःखको पहिचानबिना मुक्ति सम्भव छैन । त्यसैले पहिला सुख र दुःखको परिभाषाको विषयमा चर्चा गरौँ ।

 सुख के हो ? दुःख के हो ? आफूलाई राम्रो लाग्ने भाव सुख हो भने नराम्रो लाग्ने भाव दुःख हो । मनको व्याकुलता दुःख हो भने मनको स्थिरता वा निराकुलता सुख हो । जुन अनुभूति मन पर्छ र खुसिसाथ भोग गर्छौँ त्यो सुख हो । हामीलाई जुन अनुभूति मन पर्दैन तर बाध्यतावश भोग गर्छौँ, त्यो दुःख हो । कसैले तपाईँलाई मिठो भोजन दियो र भोजन मन प¥यो भने सुख अनुभूति हुन्छ । कसैले तपाईँको प्रशंसा ग¥यो र तपाईँलाई मन प¥यो भने सुख अनुभूति हुन्छ । कसैले तपाईँलाई गाली ग¥यो र तपाईँलाई मन परेन भने दुःख अनुभूति हुन्छ । कुनै भोजन मन परेन तर बाध्यतावश खानु प¥यो भने दुःख अनुभूति हुन्छ । जीवनमा हामीलाई मनपर्ने हरेक अवस्थामा सुखको अनुभूति हुन्छ भने त्यसको उल्टो मन नपर्ने हरेक अवस्थामा दुःखको अनुभूति हुन्छ । अतः सुख र दुःख भनेको मनको अनुभूति मात्र हो । सुख र दुःख हाम्रो आरुनै मनभित्र नै छ । जीवनमा सुख र दुःख एउटा सिक्काको दुई पाटो जस्तै हो । सुखबिना दुःख र दुःखबिना सुखको अस्तित्व नै हुँदैन ।

हरेक मनुष्यको चाहना सुख प्राप्ति हो, दुःख होइन । सबले सुखकै कामना गर्छन । कहिल्यै पनि दुःखी हुन चाहँदैन । मानिस सधैँ सुख प्राप्तिकै निम्ति प्रयत्न गरेको हुन्छ । राजा होस् या प्रजा, धनी होस् या गरीब, अपाङ्ग होस् या सपाङ्ग, पुरुष होस् या स्त्री । मानिस जति सुखको चाहना गर्छन्, उति नै दुःखको सम्भावना पनि बढ्छ । मानिस जसरी जति उचाईमा पुग्छन्, उति गहिराई पनि बढ्छ । दुःख छ र त सुखको अनुभूति हुन्छ । जीवनमा दुःख नै छैन भने सुखको अनुभूति कसरी सम्भव हुन्छ ? सुख छ र त प्राप्तिको चाहना हुन्छ । मानिसको प्रवृत्ति र रुचि अनुसार सुखको प्रकृति फरक हुन्छन् । कोही धनमा सुखी हुन्छन्, कोही दानमा सुखी हुन्छन् । कोही प्राप्तिमा सुखी हुन्छन् त कोही त्यागमा सुखी हुन्छन् । उच्च प्रवृत्तिको मानव अरूलाई सहयोग गरेर सुखी हुन्छन्, अरूको खुसिमा सुखी हुन्छन् तर नीच प्रवृत्तिका मानव अरूको दुःखमा सुखी हुन्छन्, अरूको खुसीमा दुःखी हुन्छन् । त्यसैले भागवत गीतामा श्रीकृष्ण भन्नुहुन्छ, ‘सुख र दुःखको परिभाषा हरेक मनुष्यको प्रवृत्ति र रुचि अनुसार अलगअलग हुन्छ । सुख र दुःख जीवनको चक्र हो । न सुख स्थायी छ न दुःख स्थायी छ । सुख र दुःख भनेको क्षणिक अनुभूति मात्र हुन् । मनुष्य जीवन नै स्थायी छैन भने अनुभूति कसरी स्थायी हुनसक्छ ? परिवर्तन प्रकृतिको नियम हो, त्यसै अनुसार सुख र दुःख पनि परिवर्तन भइरहन्छन् । मानौँ जीवनको आधा भाग सुख हो भने आधा भाग दुःख हो । अतः जीवनमा सुखको चाहना राख्नेले दुःख भोग्न पनि तयार हुनैपर्छ ।’

दुःखको कारण

एउटा कोणबाट हेर्दा दुःखको कारण इच्छा, चाहना, आकांक्षा हो । इच्छाले मानिसको चित्त अस्थिर बनाउँछ । अस्थिर चित्तको कारण भ्रम हो भने भ्रम अचेतनको कारण उत्पन्न हुन्छ । चेतनालाई भ्रमित गर्ने काम व्यवहारले गर्छ । ब्यवहारले इच्छालाई तरङ्गित बनाउँछ । त्यसैले दुःखको कारण अस्थिर चित्त हो । वास्तवमा सुखको चाहना नै दुःखको कारण हो । सुखको अनुभूतिमा पनि दुःख लुकेको हुन्छ किनभने सुखको अनुभूति हुँदा त्यसलाई स्थायी बनाउने चाहना उत्पन्न हुन्छ । मानिस त्यसको लागि अनेक उपाय गर्छन्, दुःख गर्छन् । मानिस सुखप्राप्तिको आकांक्षामा बाँच्छन् त्यसैले सुखको लागि भन्दै सधैँ दुःख गर्छन् । धनमा सुख देख्छन्, धनको पछि लाग्छन्, प्रतिष्ठामा सुखी देख्छन्, प्रतिष्ठा स्थापित गर्न प्रयास गर्छन् । भौतिक सम्पन्तामा सुखी देख्छन्, भौतिक सुविधाको व्यवस्थापनमा लाग्छन् । भोगमा सुखी देख्नेहरू, भोगविलासमा डुब्छन् । नशामा सुखी देख्नेहरू, नशामा डुब्छन् । सांसारिक जीवनमा दुःख देख्नेहरू, सन्यासीको जीवन बिताउँछन् । कोही पदमा पुग्छन्, कोही मन्दिर धाउँछन् । सुखको आशामा दुःखमै जीवनको अन्त हुन्छ । भ्रम यही हो । स्मरण गरौँ ‘सुख बाहिर होइन, हृदयमा खोजौँ ।’ संसारमा न सुख प्राप्त गर्ने बजार छन्, न दुःख मुक्त गर्ने भगवान नै छन् । संसारमा कोही पनि दुःखमुक्त छैन । संसारमा सुख मात्र कहिँ पनि छैन । यदि धनमा सुख प्राप्त हुने भए धनीहरूले निद्राको औषधि खानुपर्ने नै थिएन होला । मानिसले पदप्रतिष्ठामा सुख पाउने भए नेता, मन्त्रीहरूमा उच्च रक्तचापको समस्या नै आउने थिएन होला । संसारमा मन्दिर, सन्यासी, धनी, गरीब, पद, प्रतिष्ठा, परिवार, समाज सबैमा दुःख छन् । गौतम बुद्ध भन्नुहुन्छ, ‘संसार दुःखमय छ ।’ विद्यालयमा विद्या पाइन्छ, मदिरालयमा मदिरा पाइन्छ, वस्त्रालयमा वस्त्र पाइन्छ, दुःखालयमा सुख कहाँ पाइन्छ र ? दुःख नै पाइन्छ । संसार दुःखालय हो । जीवनमा एकपछि एक, रूप रूपमा दुःख आउँछ, जान्छ त्यसै कारण संसारलाई भवसागर भनिएको हो । यस भनाइका कारण कतिपयले बुद्धलाई निराशावादी भनेर आलोचना पनि गरेका छन । हामीले यतिसम्म भन्नु सायद न्याय नहोला । किनभने बुद्धले दुःख निवारणको राम्रो उपाय पनि दिनुभएको छ । सुख छ, आफूभित्रै छ, दुःख पनि आफूभित्रै छ । आफू बाहिर न सुख छ, न दुःख छ । सुख र दुःख मनको संवेदना मात्रै हो, चित्तको अनुभूति मात्रै हो । यहि शास्वत सत्यलाई नबुझेर मानिस सुखको खोजीमा भौतारिन्छन् । यही भ्रमको कारण मानिस सदा दुःखी हुन्छन् । 

दुःख छ, दुःखको कारण पनि छ । दुःखको कारण इच्छा हो, कामना हो । इच्छा भनेको प्राप्तिको चाहना हो, आशक्ति हो । सम्पत्तिको इच्छा, सुखको इच्छा, मानसम्मानको इच्छा, कृतिको इच्छा । सन्तानको इच्छा, गाडीबगंलाको इच्छा, सुन्दरताको इच्छा, प्रतिष्ठाको इच्छा । जीवन नै इच्छैइच्छा । इच्छा प्राप्तिको निम्ति मानिस दिनरात कर्म गर्छन् । चरम इच्छाको आवेगमा मानिस सामाजिक–असामाजिक, न्यायोचित–छलकपट, सत्य–असत्य, वैधानिक–अवैधानिक सबै खालका कर्म गर्न पछि पर्दैनन् । मानिस आफ्नो इच्छाको खातिर धर्म, समाज, नैतिकता, सत्य, न्याय, सम्बन्ध सबै तोड्न तयार हुन्छन् । मानिसले जस्तोसुकै कर्म गरेको भए तापनि कर्मबाट दुई परिणाम आउँछ, सफलता या असफलता । मानिस जब असफल हुन्छ, ऊ कि निराश हुन्छ कि क्रोधित हुन्छ । मानिसको कर्म सफल हुँदा उसमा अझ चाहना बढ्छ र लोभ उत्पन्न हुन्छ । लोभबाट अहंकारको जन्म हुन्छ । अहंकारसँगै ईष्र्या उत्पन्न हुन्छ । अरूकोभन्दा आफूलाई सफलता मिल्दा घमण्ड उत्पन्न हुन्छ तर आफू असफल भई अरू सफल हुँदा ईष्र्या उत्पन्न हुन्छ । इच्छाको कारण काम, भय र चिन्ताको जन्म हुन्छ । भयको कारण क्रोध, अहंकार पैदा हुन्छ । त्यस्तै चिन्ताको कारण लोभ, मोहको जन्म हुन्छ । अतः काम, क्रोध, लोभ, मोह र अहंकार दुःखका मुहान हुन् । 

अर्को कोणबाट हेर्दा मनमस्तिष्क अस्थिर हुनुको कारण इच्छा हो भने इच्छालाई सबल बनाउने काम व्यवहारले गर्छ । हाम्रो चित्तलाई साथीभार्ई, इष्टमित्र, परिवार, समाज, राज्य प्रणालीको ब्यवहारले पनि अस्थिर बनाउन मद्दत गर्छ । मानिस अपमानित हुँदा, अन्यायमा पर्दा, आघात हुँदा, कुनै चिज गुमाउनु पर्दा, धेरै नपाउँदा मन स्थिर हुन गाह्रो हुन्छ । मानिसमा नकारात्मक व्यवहारको कारण ईष्र्या, द्वेष, घृणा, क्रोध, रिस, राग, अहंकार जस्ता क्लेशहरुको जन्म हुन्छन् । जब क्लेशहरू सक्रिय हुन थाल्छन् तब सुख धेरै टाढाको कुरा हुन जान्छ । भागवत गीतामा कृष्ण भन्नुहुन्छ, ‘काम, क्रोध, लोभ, मोह र अहंकार दुःखका जननी हुन् ।’ समाजमा बलात्कार, हत्या, हिंसा, लुट, भ्रष्टाचार जस्ता अपराधहरू जन्मन्छन् । यसैका कारण सबैखालका कुकर्म हुन जान्छन् । त्यसैले धर्मग्रन्थहरूमा यी पाँच विकारहरूलाई नर्कको द्वार भनिएको छ, त्याग्य भनिएकोछ, अनर्थ भनिएको छ । जसको कारण मानव मन दिग्भ्रमित हुन्छ, बुद्धि भ्रष्ट हुन्छ । अनि जीवन दुःखमय हुन्छ । अब यी दुःखका कारणहरूको विषयमा चर्चा गरौँ । क्रमशः 



तपाइको प्रतिक्रिया दिनुहोस्