खेलाडीको मनोबल उकास्ने काम राज्यबाटै भएको छैन ः श्रेष्ठ

खेलकुद क्षेत्रमा सफलता गर्ने देशहरुले खेलकुद प्रतियोगिता तय भएको मितिदेखि नै त्यहाँ कसरी सफलता हासिल गर्ने भनेर योजना बनाएर खेलाडी तयारी पार्छन् । सफलता हासिल गर्नका लागि अन्तर्राष्ट्रिय, राष्ट्रियस्तरका प्रतियोगिताहरुमा क्रमिक रुपमा सहभागिता गराइरहेका हुन्छन् । खेलाडीको मनोबल बढाउने कार्यमा कुनै कन्जुस्याई नगरी राम्रै लगानी गरेका हुन्छन् । तर, नेपालमा त्यस्तो अवस्था छैन । नेपालमा केही हप्ता अगाडि खेलाडी छनौट गर्छन्, खासै अन्तर्राष्ट्रिय खेलको अनुभव खेलाडीले गर्नै पाएका हुँदैनन् । त्यही खेलाडीबाट राज्यले पदकको आश गरिरहेको हुन्छ । यस्तो छ हाम्रो देशको खेलकुद विकास गर्ने भनि खडा गरिएको नेतृत्व गर्नेहरुको व्यवस्थापन । अनि कसरी हुन्छ नेपालको खेलकुद विकास । यसै पेरिफेरिमा रहेर करातेका आठौं र नवौं साग गेमका स्वर्णपदक विजेता, राष्ट्रिय प्रशिक्षक तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठसँग खोजतलासले गरेको संक्षिप्त कुराकानी ः 

० गएको तेह्रौं साग गेममा करातेतर्फ आठौं साफ गेमका तुलनामा कम मेडल आयो, के कारणले यस्तो भएको होला ? 

गएको आठौं साग गेमका तुलनामा तयारी कम, त्यो बिचमा नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा जति उल्लेख्यरुपमा सहभागिता जनाउनुपर्ने थियो त्यो अवस्था रहेन, करातेको आन्तरिक विवादका कारण हाम्रो देशले भन्दा अन्य देशले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाई अनुभव बटुली आफ्नो स्तर वृद्धि गर्ने अवसर पाए तर आन्तरिक विवादकै कारण नेपाली खेलाडीहरुले त्यस्तो अवसर नपाएकै कारण आठौं साफ गेमको तुलनामा १३ औं साग गेममा कम मेडल आएको हो । तर, नेपाल आयोजक मात्र नभएको भए सायद नेपालले करातेतर्फ दुई वटा स्वर्णपदक ल्याउन धौधौ पर्ने स्थिति थियो ।


० जहिले पनि करातेमा विवाद भइरहन्छ, के कारणले यस्तो भइरहेको होला ? 

पहिलो कारण भनेको त राजनीतिक अस्थिरता नै हो । खेलकुदको विकासको जिम्मेवारी लिएको संस्था राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व गर्नेहरु विशेष गरी राजनीतिक पृष्ठभूमिबाटै आउने गरेका कारण र उनीहरुले सही व्यवस्थापन गर्न नसकेकै कारणले पनि कतिपय खेलहरुमा नेपालले स्तरीय खेल प्रस्तुत गर्दागर्दै पनि पछि पर्नुपर्ने अवस्था आइरहेको छ । विशेष गरी करातेमा धेरै नै विवादहरु छन् । व्यवस्थापन नमिलेका कारणले अरु खेलको तुलनामा करातेलाई सिधै प्रभाव परेको छ । कराते खेल विकास गर्न जिम्मेवारी लिएका व्यक्तिहरुको व्यक्तिगत स्वार्थका कारण राम्रा खेलाडीहरुले राम्रो खेल प्रस्तुत गर्ने वातावरण र अवसर पाइरहेका छैनन् । सोही कारण पनि पछिल्लो समय कराते खेलको स्तर उन्नति भन्दा पनि ओरालोतिर लागिरहेको प्रष्टरुपमा देख्न सकिन्छ । 

० कराते खेलको विवादहरु निर्मुल पारी विकास गर्न कस्ता उपाय अप्नाउनुपर्ला ? 

कराते खेलको विकास गर्न भनि आएका पुराना नेतृत्वकर्ताहरुका कारण कराते खेल खस्कँदै गएको अवस्थामा अब नयाँ नेतृत्व ल्याई नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने अवस्था आइसकेको छ । नयाँ नेतृत्वका लागि पुरानो नेतृत्व गर्नेहरुले ढोका खुल्ला गरिदिएको खण्डमा केही वर्षमा नै कराते खेलले जति प्रगति गरी अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउन सफल बनेको छ त्यो भन्दा बढी पदक ल्याउने सक्नेछ । 


० खेलकुदमा लागेर खेलाडीहरुले आफ्ना भविष्य सुनिश्चित गर्न नसकेको गुनासोहरु धेरै छन्, तपाईं अन्तर्राष्ट्रिय खेलाडीदेखि लिएर अहिले प्रशिक्षकको भूमिकामा हुनुहुन्छ, खेलाडीको भविष्य सुनिश्चित गर्न राष्ट्रले के गर्नुपर्ला ?

राष्ट्रले पहिलो कुरा त खेलाडीको भविष्यको लागि ठोस नीति ल्याउनुप¥यो । विगतमा साफ गेम, एसियन गेमका पदक विजेतालार्ई सरकारले रोजगारीको अवस्था सिर्जना गरिदिएको थियो । तर, सरकारको त्यो ठोस नीतिभित्र नपर्दाखेरि अहिलेका साफ, एसियनलगायत राज्यलाई योगदान दिने खेलाडीहरु यसबाट बञ्चित बनेका छन् । उनीहरुको भविष्य खेलकुदमा अन्धकार जस्तै छ । उनीहरु वाध्य भएर विदेशिनु वा खेलकुदबाट टाढिएर अन्य पेशा अंगाल्न बाध्य भएका छन् । यसरी खेलाडीले यस्तो नहुन छुटकारा पाई खेलेरै आफ्नो जीवन समर्पित गर्ने खेलाडीहरुलाई राज्यले नीतिगत हिसावले सेवा सुविधा दिने वातावरण बनाई दिनुपर्ने आवश्यक छ । यसतर्फ राज्यस्तरकै मुख्य—मुख्य व्यक्तिहरुले खेलाडीलाई राष्ट्रका गौरव भन्ने गर्छन् सोही अनुसार खेलाडीको मापदण्ड, योग्यता, क्षमताका अनुसार खेलाडीहरुको भविष्य सुनिश्चित बनाई खेल्ने र खेलक्षेत्रमै लाग्न वातावरण बनाई दिन मेरो अग्रह छ ।

० नेपालमा कुनै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागिता जनाउनुप¥यो भने केही हप्ता अगाडि खेलाडी छनौट गर्ने परम्परा छ यो एक किसिमको बैज्ञानिक छ त ? 

यो कुनै पनि हालतमा बैज्ञानिक होइन । प्रशिक्षकको हिसावले मलाई लाज लाग्छ । खेलकुद क्षेत्रमा सफलता प्राप्त गर्ने देशहरुले खेलकुद प्रतियोगिता तय भएको मितिदेखि नै त्यहाँ कसरी सफलता हासिल गर्ने भनेर योजना बनाएर खेलाडी तयारी पार्छन् । सफलता प्राप्त गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रियस्तरका प्रतियोगिताहरुमा क्रमिक रुपमा सहभागिता गराइरहेका हुन्छन् । तर, नेपालमा त्यस्तो अवस्था छैन । नेपालमा केही हप्ता अगाडि खेलाडी छनौट गर्छन्, खासै खेलाडीमा अन्तर्राष्ट्रिय खेलको अनुभव खेलाडीले गर्नै पाएका हुँदैनन् । त्यही खेलाडीबाट राज्यले पदकको आश गरिरहेको हुन्छ । यस्तो छ हाम्रो देशको खेलकुद विकास गर्ने भनि खडा गरिएको नेतृत्व गर्नेहरुको व्यवस्थापन । अनि कसरी हुन्छ नेपालको खेलकुद विकास ?

० तपाईंले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको अनुभव बटुल्नुका साथै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्ष समेत हुनुहुन्छ, खेलाडीको भविष्यको लागि सम्बन्धित निकायलाई कत्तिको घच्घच्याउने काम गर्नुभएको छ ? 

खेलाडी, प्रशिक्षकदेखि लिएर खेलाडीको हकहितको लागि स्थापित खेलाडी संघको नेतृत्व गरिरहँदा आफ्नो जिम्मेवारी मैले हरेक मन्त्री र सदस्य सचिवलाई आफू खेलाडी र खेलकर्मी भएका कारण खेलकुदलाई र खेलाडीको वृद्धि विकास गर्न हामीले योजनावद्धरुपमा बुँदागत रुपले योजनाहरु प्रत्येक नेतृत्वलाई पेश गरेका हुन्छौं । ती कुराहरुमा केही केही कुराहरु पुरा भए पनि धेरै खेलकुदलाई फड्को मार्ने योजनाहरु पुरा भएका छैनन् । तर, हामी निरन्तररुपमा ती योजनाहरु पुरा गराउन लागि परिरहेका छौं । खेलकुदको नेतृत्वमा आउनेमात्र नभई देशको राजनीतिक गर्ने शिर्ष नेताहरुलाई पनि समय सन्दर्भ मिलाएर भेटेरै यस्ता कुराहरु राख्ने गरेका छौं । त्यतिखेल हामीले राम्रै आश्वासन पाउँछौं, तर कार्यान्वयन भने भएको छैन । तर, हामी हरेस नखाई निरन्तररुपमा लागिपरिरहेका छौं । 

० नयाँ आउने पीढीका खेलाडीहरुलाई कस्तो सन्देश दिन चाहनुहुन्छ ?

नयाँ आउने खेलाडीहरुलाई आफ्नो भविष्य सोचेर भन्दा पनि स्वस्थ रहन र समाजलाई स्वस्थ बनाउन, खेलकुदले अनुशासन, नियम सिकाउछ, ती कुरा जीवनभरीका लागि उपयोगी हुने माध्यम हो । त्यही भएर नयाँ आउने पीँढीलाई नकारात्मक सोच भन्दा पनि सकारात्मक सोच लिई आउन आग्रह गर्छु । 



तपाइको प्रतिक्रिया दिनुहोस्