बंगलादेशमाथि माल्दिभ्सको जित, फाइनल समीकरण रोमाञ्चक मोडमा

काठमाडौं । अली अश्फाक र हाम्जा मोहम्मदको गोलमा आयोजक माल्दिभ्सले साफ च्याम्पियनसिपमा बंगलादेशलाई २–० ले हराएको छ ।
जारी संस्करणमा माल्दिभ्सको यो पहिलो जित हो । साविक विजेता माल्दिभ्स पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । माल्दिभ्सले अब प्रतियोगितामा श्रीलंका र भारतविरुद्ध खेल्न बाँकी छ । चार अंकका साथ दोस्रो स्थानमा रहेको बंगलादेशले नेपालसँग खेल्न बाँकी छ । नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ ।
माल्दिभ्सको जितसँग साफमा अबको समीकरण रोमाञ्चक बनेको छ । नेपाल, बंगलादेश, माल्दिभ्स र भारतमध्ये दुई टोलीले फाइनलमा उपाधिका लागि खेल्नेछन् ।
नेपाललाई अब दुवै खेल बराबरी गरेमात्र पनि पुग्छ । तर, पराजित भएको अवस्थामा नेपालको यात्रा पनि कठिन बन्न सक्छ । यस संस्करणमा पाँच टोलीले मात्र सहभागिता जनाएका छन् । राउन्ड रोबिन प्रणालीमा खेलाइएको प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । त्यसकारण अझै पनि सबै टोलीको ढोका खुला रहेको छ ।
माल्दिभ्सले ५५औँ मिनेटमा हाम्जाको गोलबाट अग्रता लिएको थियो । हाम्जाले हुसैन निहानको पासमा एक्रोबाइटिक सटमा गोल गरेका थिए । ३६ वर्षे फरवार्ड अश्फाकले ७४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै माल्दिभ्सको अग्रता दोब्बर बनाएका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्