दशैँको नवरात्रिमा पुजिने नवदुर्गा


प्रेममान डंगोल
नेपालीहरुको ठूलो चाड दशैँ नेवार मौलिकताले भरिएको चाड हो । जमरा राख्ने दिनदेखि नौ दिनसम्म मनाइने नवरात्रिका नवदुर्गा भवानीको अत्यन्तै ठूलो मूल्य–मान्यता रही आएको छ । यो नवरात्रिको समयमा नवदुर्गा भवानीका विभिन्न शक्तिपीठमा पूजा गरी बलि दिएर शास्त्रोक्त र तान्त्रिक विधिअनुसार आराधना गर्ने चलन छ । बिहान उज्यालो नहुँदै, परम्परागत सांस्कृतिक बाजा बजाएर नेवार समुदाय दिनको एक पीठमा गई देवीको पूजा–आराधना गर्ने गर्छन् । एक त दशैँको समय, रमाइलो वातावरणको समय, उसमाथि बिहान सबेरै बाजाको आवाज गुञ्जिदा एकदमै रमणीय हुन पुग्छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म पूजा गरी मनाइने नवरात्रिको नवदुर्गाबारे यहाँ सङ्क्षिप्तरुपमा प्रस्तुत गर्ने प्रयास गरेको छुं ।
(१) शैलपुत्री : पहिलो दिन आश्विन शुक्ल प्रतिपदाका दिन चोखोनितो गरी खोलाको बालुवा ल्याएर त्यसमा तिल, जौ, मकै छरी जमरा राखिन्छ । यस दिन नवदुर्गा भवानीको पहिलो स्वरुपको रुपमा शैलपुत्रीको पूजा–आराधना गरिन्छ । कमलको फूल र त्रिशूल धारण गरेर साँढे चढिरहेकी, अर्धचन्द्रयुक्त मुकुट धारण गरी शैलीपुत्री रुप भएकी, मनले चिताएको फल दिने महादेवका प्रिय यशस्विनी देवी, सम्पूर्ण दुःख नाश गर्ने श्री शैलपुत्री भवानीको आराधना गरिन्छ । प्राचीन ग्रन्थका अनुसार जगदम्बा भगवतीले सत्य युगमा सतीदेवीको रुपमा जन्म भई पुनः हिमालय पर्वतकी पुत्री पार्वतीको रुपमा जन्म लिएकी शैलपुत्री नामले प्रसिद्ध भइरहेकी छिन् । शैलपुत्रीलाई हेमवती पनि भन्ने गरिन्छ । शैलपुत्रीको विवाह महादेवसँग भएको थियो । शैलपुत्रीको आराधना गर्दा साधकले आफ्नो मनलाई मूलाधार चक्रमा केन्द्रित गरी आह्वान गर्नुपर्छ । यसले गर्दा योग साधना प्रादुर्भाव हुन जान्छ ।
(२) ब्रह्मचारिणी : नवरात्रिको दोस्रो (द्वितिया) का दिन नवदुर्गा भवानीको दोस्रो स्वरुपको रुपमा रहेकी ब्रह्मचरिणी भगवतीको महिमा अत्यन्तै महत्वपूर्ण छ । ब्रह्म शब्दको अर्थ तपस्या र चारिणीको अर्थ आचरण हो । तपस्या गर्ने आचरण भएकीले ब्रह्मचारिणी देवी भनिएको हो । दक्षप्रजापतिकी छोरी सतीदेवी पार्वतीको रुपमा जन्म लिएपछि महादेव पति पाऊँ भनी तपस्या गरेकीले ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको बाहन छैन । सेतो वस्त्र लगाई कमलको फूलको गहना लगाएर जपमाला, कमण्डलु धारण गरेकी ज्योतिर्मय रुपकी कहिल्यै नाश नहुने अक्षय वरदान दिने ब्रह्मचारिणी भगवतीलाई सम्पूर्ण सिद्धि र बुद्धिको लागि आराधना गरिन्छ । ब्रह्मचरिणीको आराधनाले तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धि हुन्छ भनिन्छ ।
(३) चन्द्रघण्टा : नवरात्रिको तेस्रो दिन आश्विन शुक्ल तृतियाका दिन नवदुर्गा भवानीको तेस्रो शक्तिको रुपमा प्रादुर्भाव भएकी चन्द्रघण्टा भगवतीको महिमा अत्यन्तै महत्वपूर्ण छ । शिरमा अर्धचन्द्रयुक्त घण्टा आकारको मुकुट धारण गर्ने भएकीले चन्द्रघण्टाका नामले प्रसिद्ध भएको हो । स्वर्णमय दिव्य शरीर भएकी, दश हात भएकी, विभिन्न शस्त्रअस्त्र धारण गरेकी, सिंहमा सवार भएकी, भक्तका दुःखकष्ट एवं शत्रु निवारण गरी रक्षा गर्ने चन्द्रघण्टा भगवतीलाई बारम्बार प्रणाम गर्दै प्रार्थना गर्छन् ।
(४) कुष्माण्डा : नवरात्रिको चौथो (चौथी) का दिन नवदुर्गा भवानीको चारौँ शक्तिको रुपमा प्रादुर्भाव भएकी कुष्माण्डा भगवतीको पनि ठूलो महिमा छ । सूर्यको जस्तै तेज भएकी, आठ हात भएकी कुष्माण्डा भगवतीको उपासनाले रोग र शोक नहुने जनविश्वास छ । अट्टहास गर्दा ब्रह्माण्डको उत्पत्ति र विनाश गर्ने शक्ति भएकैले कुष्माण्डा भनिएको हो । सिंहवाहिनी भई कमण्डलु, धनु–वाण, कमलको फूल, अमृतले भरिएको कलश, चक्र, गदा र जपमाला धारण गरिरहने कुष्माण्डा भगवतीलाई आफ्नो अभिष्ट पूरा गर्न साधकले उपासना गर्छन् ।
(५) स्कन्दमाता : नवरात्रिको पाँचौं (पञ्चमी) का दिन नवदुर्गा भगवतीको पाँचौँ स्वरुपको रुपमा प्रादुर्भाव भएकी शक्तिस्वरुपा स्कन्दमाता हुन् । स्कन्दमाता भगवतीले मोक्षको द्वार खोलेर सबै इच्छा पूरा गरिदिन्छिन् । कमलको फूलको आसनमा बस्ने श्वेतवर्ण, तीन नेत्र, चार हात भएकी स्कन्दमाताले स्कन्द कुमारलाई जन्म दिएकीले स्कन्दमाता भनिएको हो । स्कन्दमाताको शस्त्रअस्त्र भनेकै कमलको फूल हो ।
(६) कात्यायनी : नवरात्रिको छैटौँ (षष्ठी) का दिन नवदुर्गा भगवतीको शक्तिको रुपमा रहेकी कात्यायनी भगवतीको ठूलो महिमा छ । कात्यायनी भगवतीको तीन नेत्र र आठ हात छन् । कमलको फूल र तरवार नै कात्यायनीका शस्त्रअस्त्र हुन् । यो दिन कात्यायनी भगवतीको साधना गर्दा साधकको मन आज्ञा चक्रमा बस्छ । यी भगवतीलाई मोक्ष प्राप्तिका लागि उपासना गरिन्छ ।
(७) कालरात्रि : नवरात्रिको सप्तमीका दिन नवदुर्गाको सातौं शक्तिको रुपमा प्रादुर्भाव भएकी कालरात्रि भगवतीको पूजा गरिन्छ । देवीको शरीर गाजलजस्तै चिल्लो र ज्यादै कालो रंग हुन्छ । तीन नेत्रबाट बिजुली चम्केझैँ ज्योति निस्किरहेको हुन्छ । नाकको प्वालबाट आगोको ज्वालाजस्तै श्वास निस्किरहेको हुन्छ भने दाँत किट्किटाइरहेको हुन्छ । कपाल फहराइरहेको हुन्छ भने घाँटीमा बत्तीको जस्तै चमक भएको माला लगाएको हुन्छ । बाघको छाला बेरेर उभिएकी, भयंकर रुपधारण गरेकी कालरात्रि भगवती गधा चढेकी हुन्छिन् ।
(८) महागौरी : नवरात्रिको अष्टमीका दिन महागौरी भगवतीको आराधना गरिन्छ । यस दिनलाई महाअष्टमी पनि भनिन्छ । महागौरी भगवतीको शरीर दूधजस्तै सेतो हुन्छ । देवी भागवतमा महागौरीको वर्णन आठ वर्षकी बालिकाको रुपमा गरिएको छ । सेतो वस्त्र र सेतै गहना लगाई सेतो साँढे चढेकी हुन्छिन् । महागौरीको चार हातको दायाँतर्फ अभय मुद्रा र त्रिशूल हुन्छ भने बायाँतर्फ डमरु र वर मुद्रा रहेको हुन्छ । महागौरीको स्वरुप अत्यन्तै शान्त र सौम्य रहेको छ । अम्बिका भगवती अत्यन्त सेतो वर्ण भएकी, पार्वती रुपधारण गरी आठ वर्ष भएदेखि नै महादेवलाई पतिको रुपमा प्राप्त गर्न हिमालय पर्वतमा कठोर तपस्या गरेकी हुन् ।
(९) सिद्धिदात्री : नवरात्रिको नवमीका दिन नवदुर्गा नवौं रुपमा प्रादुर्भाव भएकी शक्ति स्वरुपाको नाम हो सिद्धिदात्री । यो नवमीलाई महानवमी पनि भनिन्छ । देवी पुराणका अनुसार महादेवले भगवती देवीको आराधना गरेर सिद्धि प्राप्त गरेकीले तिनै देवीलाई सिद्धिदात्री भनिएको हो । सिद्धिदात्री सुनजस्तै चम्केर सौन्दर्यमयी भई सदा सौम्य र शान्त मुद्रामा बस्छिन् । चार हातमा शंख, चक्र, गदा र कमलको फूल धारण गरेकी, रातो वस्त्र पहिरी कमलको फूलमा बसेर सिंहमा आरुढ गरिरहेकी हुन् सिद्धिदात्री । अष्टमातृकाका नवौं शक्तिको रुपमा प्रादुर्भाव भएकी सिद्धिदात्री भगवती नवदुर्गा भवानीको प्रमुख शक्तिको रुपमा त्रिपुरा सुन्दरीको रुप धारण गर्छिन् । विशेष गरेर महानवमीका दिन आगममा अष्टमातृका देवीको आह्वान गरेर महा त्रिपुरासुन्दरी स्वरुपिणी महासिद्धिदात्री भगवतीको आराधना गरिन्छ ।
दशैँको नवरात्रिभरै पूजा गरिने विभिन्न देवीको शक्ति रुपहरुको आ–आफ्नै पहिचान र विशेषता हुन्छ । विभिन्न विशेषतामा पनि भगवती देवीका अनेक रुपमा एउटै सार भनेको असत्यमाथि सत्यको विजय, अन्यायउपर न्यायको विजय र असुरउपर सुरको विजय नै हो । हरेक वर्ष प्रतिकात्मक आराधनाका लागि दशैँ चाड मनाउने गरिन्छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्