हिरासतमै एक थुनुवाको मृत्यु, इनरुवा तनावग्रस्त

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जना झुन्डिएको अवस्था फेला परेपछि स्थानीयले आन्दोलन गरेका छन् ।  स्थानीयबासीले नाराबाजी गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेपछि इनरुवा बजार तनावग्रस्त भएको छ। 

अभद्र व्यवहारको मुद्दामा थुनामा रहेका भोक्राहा नरसिंह गाउँपालिका ५ का हकिब मियाँको मृत्यु भएको थियो।

पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि झडप समेत भएको छ। ढुङ्गामुढा भएपछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ ।

झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन्। उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।

उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए। उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताए ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउन पटक पटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरी माथि जाई लागेको थियो। झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिब मियाँ अनुसन्धानको क्रममा थुनामा थिए ।

पीडित पक्षले भने केटाकेटी राजीखुसीले भागेको विषयमा राजनीति लादिएको बताएका छन्। उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन । 

प्रहरी स्रोतका अनुसार मियाले खत्वे थरकी एक युवतीलाई भगाएका थिए । तर, केटी पक्षले उजुरी गरेपछि मिया र खत्वेलाई प्रहरीले धनकुटाको हिलेबाट नियन्त्रणमा लिएको थियो । हिलेबाट सुनसरी सदरमुकाम इनरुवा ल्याएर खत्वेलाई परिवारको जिम्मा लगाइयो । तर, मियालाई अभद्र व्यवहार भन्दै थुनामा राखिएको थियो ।



तपाइको प्रतिक्रिया दिनुहोस्