चेन्नई र कोलकाता फाइनलमा भिड्ने

2.5k Shares

काठमाडौं । इन्डियन प्रिमियर लिगको फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सले प्रतिस्पर्धा गर्ने भएका छन् । कोलकाताले आज सम्पन्न दोस्रो क्वालिफायर्समा दिल्ली क्यापिटल्समाथि तीन विकेटको रोमाञ्चक विजय हासिल गर्दै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो ।
लिग चरणमा शीर्ष स्थानमा रहेर प्लेअफमा स्थान बनाएको दिल्ली क्यापिटल्सले फाइनलमा स्थान बनाउन भने सकेन । पहिलो क्वालिफायर्समा दिल्ली चेन्नईसँग चार विकेटले पराजित भएको थियो । लिगको चौथो स्थानमा रहेर प्ले अफ पक्का गरेको कोलकाताले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई चार विकेटले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान पक्का गरेको हो ।
शारजाह क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दिल्लीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३५ रन बनाएको थियो । १३६ रनको लक्ष्य कोलकाताले एक बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गरेको हो ।
दिल्लीका लागि शिखर धवनले सबैभन्दा ३६ रन बनाए । श्रेयस ऐयरले अविजित ३० तथा पृथ्वी र मार्कुस स्टोइनिसले समान १८ रन बनाउँदा शिमरन हेटमेयरले १७ रन जोडे । कोलकाताका बरुण चौधरीले दुई तथा लोकी फर्गुसन र शिभम माबीले एक-एक विकेट लिए ।
कोलकाताका लागि बेन्काटेस ऐयरले सबभन्दा धेरै ५५ रन बनाए । शुबमन गिलले ४६ रन जोडे । दुई जनाले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे । नितिश रानाले १३ रन बनाए । त्यसपछि राहुल त्रिपाठीले अविजित १२ रन बनाउँदै कोलकातालाई रोमाञ्चक जित दिलाए ।
दिल्लीका एनरिच नोट्जे, कागिसो राबडा र रविचन्द्रन आश्विन समान दुई विकेट लिँदा अभिष खानको नाममा एक विकेट रह्यो ।

सम्बन्धित समाचार