विश्वासको मत प्रस्ताव टेबल गर्दै मुख्यमन्त्री आचार्य

मोरङ, ५ कातिक । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव आज (शुक्रबार) प्रदेशसभामा टेबुल हुँदैछ । आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान भए पनि मुख्यमन्त्री आचार्यले ४३ औं दिनमा विश्वासको मतका लागि संसद्मा प्रस्ताव टेबल गर्ने तयारी गरेका हुन् । प्रस्ताव उपर छलफल र मुख्यमन्त्रीले जवाफ दिने कार्यक्रम तय छ । तर, मत विभाजनको विषयमा भने अन्योल देखिएको छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराएका थिए । असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगन गरेका थिए । एमालेको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका आचार्यको नियुक्तिदेखि नै विवाद भएको थियो ।

राजनीतिक रूपमा अल्पमतमा पर्दापर्दै प्रदेश प्रमुखले नियुक्ति गरेको भन्दै विपक्षी गठबन्धनले विरोध गरेको थियो । राजनीतिक रूपमा विरोध भए पनि नियुक्तिमा कानुनी जटिलता भने थिएन । तर पछिल्लो समय आधिकारिक रूपमा दल विभाजन भएपछि समेत आचार्यले सदन छल्दै मुख्यमन्त्री बनिरहेका छन् ।

संविधानको धारा १८८–९२० ले दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने उल्लेख्य गरे पनि आचार्यले भने समय गुजारेका हुन् । प्रदेश–१ को प्रदेश सभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । बहुमत पुर्‍याउन ४७ सांसद चाहिन्छ । तसर्थ आचार्यले विश्वासको मत पाउने अवस्था देखिँदैन । विपक्षी गठबन्धनका पक्षमा ५० सांसद छन् ।

सरकारका प्रवक्ता उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्षुमन तिवारीले छलफल र मुख्यमन्त्रीको जवाफमा अधिक समय लागे आइतबारको बैठकमा मात्र मत विभाजनको कार्य हुने जानकारी दिए । उनले भने, ‘मत विभाजन अर्को बैठकमा पनि हुनसक्छ ।’

विपक्षीले भने मुख्यमन्त्री आचार्य र एमाले नेतृत्त्वको सरकार अल्पमतमा परिसकेपछि पनि सत्ता लम्ब्याउने तानाबाना बुन्न सक्रिय रहेको आरोप लगाउँदै आएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसमा प्रमुख सचेतक केदार कार्कीले संविधानतः सरकार अल्पमतमा परिसकेको अवस्थामा एक–दुई दिन बढाउन खोज्नु सत्तालिप्सामा मात्र भएको टिप्पणी गरे ।


तपाइको प्रतिक्रिया दिनुहोस्