‘खेलाडीको मनोबल गिराउने काम राज्यबाटै भएको छ’

ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्को निवासी करातेतर्फ १३ औं साग गेममा स्वर्ण पदक ल्याउन सफल विप्लव लाल श्रेष्ठ राष्ट्रले खेलेरै जिविकोपार्जन गर्नसक्ने वातावरण बनाई दिएको खण्डमा आफू जीवनभर खेल क्षेत्रमै लाग्ने सोच रहेको बताउँछन् ।

नेपाल बाहेक अन्य मुलुकमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई लक्षित गरी खेलाडीहरुलाई प्रशिक्षण, अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागिता गराउने, खेलाडीलाई प्रतियोगितामा सहभागिता हुनका लागि अनुभवदेखि लिएर सेवा सुविधाहरु दिने गरिन्छ, तर नेपालमा १३ औं साग गेममा स्वर्ण पदक ल्याएका खेलाडीहरुलाई अहिलेसम्म सागभन्दा माथि एसियन, ओलम्पिक गेमसम्म खेल्न जाने वातावरण नबनाएको गुनासो पोख्छन् श्रेष्ठ ।


१३ औं साग गेम आयोजना भएको दुई वर्ष वितिसक्दा पनि राष्ट्रले स्वर्ण पदक ल्याउने खेलाडीहरुलाई प्रोत्साहन गर्नुको साटो खेल क्षेत्रमा नै लाग्ने वातावरण खेलकुद क्षेत्रको विकासका लागि गठन राष्ट्रिय खेलकुद परिषदले नबनाएको गुनासो पोख्छन् विप्लव लाल श्रेष्ठ । 

१३ औं साग गेममा नेपाललाई ऐतिहासिक ५१ वटा स्वर्ण पदक ल्याई दोस्रो बनाउन सफल बनाउन महत्वपूर्ण भूमिका कराते र तेक्वान्दो खेलले खेलेको थियो । करातेतर्फ १० वटा स्वर्ण, तेक्वान्दोले १२ वटा स्वर्ण पदक ल्याएको थियो । तर नेपाललाई साउथ एसियन गेममा दोस्रो बनाउन महत्वपूर्ण भूमिका खेलेको कराते खेलका खेलाडीहरुलाई खासै राज्यले महत्व नदिएको विप्लव बताउँछन् । 

फुटबल र क्रिकेटलाई जस्तो महत्व दिई राष्ट्रले करातेमा लगानी गर्ने हो भने एसियन, ओलम्पिक पदक ल्याउन कुनै कठिनाई नहुने विप्लव बताउँछन् । वास्तवमा भन्नुपर्दा अर्जेन्टीनालाई फुटबल खेलले विश्वभर चिनाएजस्तो नेपाललाई पनि कराते खेलले विश्व सामु चिनाउन राष्ट्रले फुटबल र क्रिकेटमा जति मात्र लगानी गरे पुग्ने श्रेष्ठ बताउँछन् । 

कराते खेललाई खेलकुदको जिम्मेवारी लिने पदाधिकारीहरुले एउटा सामान्य खेलको रुपमा लिए पनि नेपाललाई अन्तर्राष्ट्रियस्तरको पदक दिलाउने खेल भनेको कराते नै हो । करातेका खेलाडीले एसियन गेममा राम्रो खेल प्रस्तुत गरी नेपाललाई पदकसमेत दिलाइसकेका छन् । यस्तो खेललाई समेत वेवास्ता गर्दै नेपालको खेलकुद क्षेत्रको विकासको लागि गठन गरिएको राष्ट्रिय खेलकुद परिषदको पहलमा अहिलेसम्म राष्ट्रियस्तरको प्रतियोगिताहरुसमेत नगरी वेवास्ता गरेको छ । भन्ने बेला खेलाडीहरु राष्ट्रका गहना भन्ने तर, खेलाडी उत्पादनदेखि लिएर सक्षम खेलाडीहरुलाई समयमा प्रशिक्षण, अनुभवका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराउने कार्य गरेको छैन । १३ औं साग गेममा पदक ल्याउने खेलाडीहरुलाई दुई वर्ष वितिसक्दा पनि अहिलेसम्म प्रशिक्षणदेखि लिएर अनुभवका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउने पहलसमेत गरेको छैन । यस्तो अवस्थामा खेलाडीको मात्रै मेहनतले अब आउने अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा नेपाली खेलाडीले कसरी पदक ल्याउन सक्छन्, खोजतलाससँग श्रेष्ठ गुनासो पोख्छन् । 

अझ त्यतिमात्र होइन, विगतमा पदक ल्याउने खेलाडीहरुलाई पुरस्कार स्वरुप घडेरी, रोजगारदेखि लिएर अन्य सुविधाहरु दिने गरेको थियो । तर, पछिल्लो समय राष्ट्रको लागि खेली पदक ल्याउने खेलाडीहरलाई राष्ट्रले सेवा सुविधाको त कुरै छाडौं महिनाको ६ हजार प्रोत्साहन भत्तामात्र दिने गरी खेलाडीहरुको नै मनोबल गिराउने काम राज्यले गरेको छ । 

सक्षम र राम्रा खेलाडीहरुले महिनाको ६ हजारले आफ्नो दैनिक जिविकोपार्जनदेखि लिएर आफ्नो परिवारको भविष्यसमेत हेर्नुपर्ने अवस्थामा त्यस्ता खेलाडीले राष्ट्रको लागि कसरी खेल्न सक्छन् । वाध्य भएर त्यस्ता खेलाडीहरु आफ्नो भविष्य सुनिश्चितताका लागि रोजगारीको सिलसिलामा विदेशिन बाध्य भएको विप्लव बताउँछन् ।

नेपाली परिवेशमा खेलकुदलाई माया गर्ने र नयाँ पीढिका खेलाडीहरुले राज्यले अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउने खेलाडीहरुलाई गरेको यस्तो व्यवहार देख्दा कसरी नयाँ सक्षम खेलाडीहरु उत्पादन हुन्छन् सहज अनुमान लगाउन सकिन्छ । अझ भन्नुपर्दा, अन्तर्राष्ट्रिस्तरको प्रतियोगिताहरुमा नेपाली खेलाडीहरु सहभागी हुँदा खेलाडी १० जना हुन्छन् भने अफिसियल भनेर झण्डै दुई दर्जनभन्दा बढी राज्यको ढुकुटीबाट घुमफिरका लागि विदेश जाने गर्छन् । अफिसियलका रुपमा गएका कतिपय त विदेशमै भासिनेसमेत गर्छन् । यसले गर्दा नेपाली खेलकुद क्षेत्र नै बदनामी बन्दै गएको छ । 


वास्तवमै भन्नुपर्दा नेपाली खेलाडीहरुलाई नियमित प्रशिक्षणदेखि लिएर भविष्यसमेत सुनिचित हुने वातावरण बनाउने हो भने नेपालमा राम्रो खेलाडीहरु उत्पादन हुने र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि पदक विहिन बन्नुपर्ने अवस्था नआउने श्रेष्ठ बताउँछन् । 

एकवर्ष पछाडि हुने एसियन गेमको लागि अहिलेदेखि नै राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गरी खेलाडी छनौट गरी छनौट भएका खेलाडीहरुलाई बन्द सत्रमा राखी नियमित प्रशिक्षण, अन्तर्राष्ट्रिस्तरका प्रतियोगिताहरुमा सहभागिता गराई अनुभव बटुल्ने कार्य गराउने र खेलाडीहरुलाई बेला बेलामा मानसिक तनावरहित बनाउनका लागि अन्तर्रांष्ट्रियस्तरका अनुभव प्रशिक्षकहरुसँग प्रशिक्षण गराउने वातावरण राज्यले बनाई दिएको खण्डमा एसियन गेममा करातेले पदक ल्याउने सम्भावना बलियो हुने श्रेष्ठ बताउँछन् । 

प्रदेश, जिल्लास्तरमा प्रशिक्षक नियुक्त भएकाहरुलाई प्रशिक्षणको अनिवार्य जिम्मेवारी दिई खेलाडीहरु नियमित प्रशिक्षण दिने वातावरण राष्ट्रिय खेलकुद परिषद् र कराते महासंघले पहल गर्नुप¥यो । अहिले प्रशिक्षकको रुपमा तलव खाने तर प्रशिक्षण नदिने हजारौं प्रशिक्षकहरुलाई राखेपले अनिवार्यरुपमा नियमित प्रशिक्षण गराउने वातावरण बनाइदिनुपर्ने अवस्था सिर्जना भइसकेको छ । यस विषयमा श्रेष्ठ बताउँछन्, ‘जिम्मेवार निकायले प्रशिक्षकलाई प्रशिक्षण दिने वातावरण बनाई दिने हो भने प्रशिक्षकको पनि प्रशिक्षण दिलाउने कला बढ्दै जान्छ र दिनप्रति दिन राम्रा नयाँ खेलाडीहरु पनि उत्पादन हुने वातावरण बन्छ ।’



तपाइको प्रतिक्रिया दिनुहोस्