मेक्सिकोबाट अवैध रूपमा यसरी अमेरिका छिर्छन् नेपाली

छत्र मैनाली, कोलम्बिया (बोगटा) । अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी चिट्ठाबाट हजारौं नेपाली अमेरिका पुगिसकेका छन् । अन्य कानुनी प्रक्रियाबाट अमेरिका पुगेका नेपालीको संख्या पनि निक्कै छ। त्यही भएर पनि नेपाली जुनसुकै मूल्य चुकाएर भए पनि अमेरिका छिर्न लालयित हुन्छन् ।

मानव तस्करको सञ्जालसँग केही न केही सम्बन्ध भएका स्थानीय दलाल ‘ग्राहक’ खोज्न गाउँ-गाउँ पस्छन् ।उनीहरूले गाउँका युवालाई ग्यारेन्टीका साथ अमेरिका पुर्‍याइदिने सपना बाँड्छन्, अनेक प्रलोभन देखाउँछन्। यसरी दूरदराजका युवा अमेरिका उडाइदिने सर्तमा मानव तस्करलाई ५०-६० लाख रुपैयाँ बुझाउन तयार हुन्छन् ।

नेपालका दलालले आश्वास्त पारेपछि उनीहरु ‘अवैध बाटो’ हुँदै अमेरिका छिर्न तत्पर भएका देखिन्छन् । यहाँका स्थानीय दलालले त्रिभुवन विमानस्थल, काठमाडौंका कर्मचारीसँग सेटिङ मिलाएर उनीहरूलाई नेपालीलाई ‘अनअराइभल भिसा’ दिने सिंगापुर वा गाम्बिया, गिनी बिसाउजस्ता अफ्रिकी मुलुक हुँदै हवाइ मार्गबाट दक्षिण (ल्याटिन) अमेरिकाको कुनै पनि देश पुर्‍याउने चाँजोपाजो मिलाउँछन् ।

मैले सन् दुई वर्षजति ल्याटिन अमेरिकी मुलुक कोलम्बियास्थित इमिग्रेसनमा नेपाली भाषा अनुवादकका रूपमा काम गर्दा पक्राउ परेका नेपाली युवासँग अन्तर्वार्ता लिने अवसर जुरेको थियो । त्यस क्रममा अवैध रूपमा अमेरिका छिर्न खोज्दा समातिएका दर्जनौं नेपालीसँग कुराकानी भएको थियो । तिनै नेपालीसँग भएको कुराकानीलाई आधार बनाएर मैले यो आलेख तयार पारेको हुँ ।

स्थलमार्गबाट अमेरिका छिर्ने एक मात्र मुलुक मेक्सिको

विश्वका कुनै पनि मुलुकबाट अवैध रूपमा अमेरिका छिर्न दक्षिण अमेरिकाका ब्राजिल, बोलिभिया, सुरिनाम, गुयना, पेरु वा चिलीमध्ये कुनै एक मुलुकमा हवाइ मार्गबाट पाइला राख्नैपर्छ । ल्याटिन अमेरिका पुगेपछि जसरी भए पनि त्यहाँबाट अमेरिका पुग्नैपर्छ भन्ने मानसिक दबाब त्यहाँ आइपुगेका नेपाली युवाहरूलाई हुन्छ किनभने उनीहरू दलाललाई लाखौं रकम बुझाएर आएका हुन्छ ।  

हरेक ल्याटिन अमेरिकी देशमा रहेका दलालले अत्यन्त जोखिमसाथ उनीहरुलाई स्थल वा जलमार्ग पार गराउँदै मेक्सिको पुर्‍याउँछन्, जुन स्थलमार्गबाट अमेरिका छिर्ने एक मात्र ल्याटिन अमेरिकी मुलुक हो ।

ल्याटिन अमेरिकी मुलुकबाट मेक्सिकोसम्म पुग्न स्थल र जलमार्ग नै प्रयोग गर्नुपर्छ। स्थलमार्गबाट जाँदा कैयौं दिनसम्म हिँड्नुपर्ने भएकाले कतिपयले मेक्सिकोसम्म पुग्न हवाइजहाज पनि प्रयोग गर्छन् ।

यसरी दक्षिण अमेरिकाबाट हवाइ रुट हुँदै मेक्सिको पुग्न दलालमार्फत् पैसा खर्च गरेर सेटिङमा नक्कली पासपोर्ट बनाउँछन् । यस्तो पासपोर्टमा नाम स्थानीय व्यक्तिकै हुन्छ भने  फिंगरप्रिन्ट तथा फोटो चाहिँ अवैध अप्रवासीको राखिएको हुन्छ। जस्तोः ब्राजिल पुगेको नेपालीले मेक्सिको जानका लागि पासपोर्ट बनाएको छ भने ब्राजिलको स्थानीय व्यक्तिको नाम र राष्ट्रियता हुन्छ भने फिंगरप्रिन्ट र फोटो चाहिँ यात्रा गर्ने नेपालीकै हुन्छ ।

यस्तो नक्कली पासपोर्ट बोकेर ल्याटिन अमेरिकी मुलुकमा यात्रा गर्ने विभिन्न मुलुकका अवैध आप्रवासीको संख्या पछिल्लो समय बढ्दै गएको देखिएको छ । कतिपय आप्रवासीलाई भाषा नजान्दा एयरपोर्टबाट फर्काउने गरेको समेत भेटिएको छ । ब्राजिलमा ९९ प्रतिशत व्यक्तिले पोर्चुगिज भाषा बोल्छन् । ब्राजिलबाहेक अर्जेन्टिना, पेरु, चिली, कोस्टारिका, एलसाल्भाडोर, होन्डुरसलगायत ल्याटिन अमेरिकी मुलुकमा अधिकांशले स्पेनिस भाषा मात्र बोल्छन् । त्यही भएर पनि एसिया, अफ्रिका, मध्यपूर्वलगायत मुलुकबाट ल्याटिन अमेरिका छिरेका अवैध आप्रवासीलाई त्यहाँ भाषाको समस्या हुन्छ । इमिग्रेसनमा स्पेनिस भाषामा सोधेको प्रश्नको जवाफ दिन नसक्दा यसरी फर्काइएका व्यक्तिहरू धेरै छन् ।

९८ प्रतिशतभन्दा बढीको ट्रक र कन्टेनरमा यात्रा 

ल्याटिन अमेरिकी मुलुकबाट ज्यादै जोखिम उठाएर अवैध आप्रवासीलाई बस, ट्रक र कन्टेनरमा राखेर मेक्सिकोेसम्म पु¥याउने गरिएको पाइएको छ। मैले अध्ययन गरेसम्म ९८ प्रतिशतभन्दा बढी आप्रवासी यसरी ट्रक र कन्टेनरमा यात्रा गर्छन्। अधिकांश नेपाली युवाहरुले पनि यस्तै सास्ती व्यहोर्छन्। 

बटोमा रुटमा पर्ने हरेक देशका स्थानीय दलालले त्यहाँबाट सिमा कटाएर अर्को मुलुकसम्म पु¥याउने जिम्मा लिएका हुन्छन्। अर्को मुुलुकमा फेरि अर्को दलाल तयार भएर बसेको हुन्छ।

बीचमा कुनै बाधा–व्यवधान भएन भने नेपालबाट हिँडेको व्यक्तिहरू कम्तीमा दुई साताभित्र युवाहरू ल्याटिन अमेरिका आइपुग्छन्। ट्रान्जिट, भिसा र अन्य प्रक्रियाले गर्दा अलि बढी समय पनि लाग्न सक्छ। यी सबै प्रक्रिया दलालले नै सेटिङमा मिलाउँछन्। 

ल्याटिन अमेरिका पुगेपछि पनि मेक्सिको बोर्डर हुँदै अमेरिका छिर्न कम्तीमा तीन साता लाग्ने गरेको छ। कहिलेकाही डकुमन्टको इस्युले गर्दा बढी समय पनि लाग्ने गर्छ। 

ब्राजिलबाट कोलम्बिया हुँदै मेक्सिको

अधिकांश नेपाली युवाहरु सुरुमा ल्याटिन अमेरिकाको ब्राजिल आइपुग्छन्। उनीहरूले ब्राजिलमा पाइला टेकेपछि स्थलमार्गबाट यात्रा अगाडि बढ्छ। त्यहाँबाट पेरु इक्वेडोर, कोलम्बिया, पानामा र कोस्टारिका हुँदै दलालले उनीहरु लाई मेक्सिकोसम्म पुर्‍याउँछन् ।

ब्राजिलबाट हवाइजहाज, बस आदिबाट यात्रा गर्दै उनीहरू पेरु र इक्वेडोर हुँदै कोलम्बिया आइपुग्छन् । यसबीचको यात्रा, होटल र खानपानको व्यवस्था हरेक देशका दलालहरुले नै मिलाउँछन् ।

कोलम्बियाबाट निर्जन जंगलको बाटो ४ दिन पैदल हिँडेर पानामा पुग्नुपर्छ । प्रहरी–प्रशासनको आँखा छल्न राति पनि जंगलको बाटो हिँड्नपर्छ । कतिपय हिँड्न नचाहने आप्रवासीलाई स्थानीय दलालले डुंगाबाट समुद्रको बाटो हुँदै पानामा पनि पठाउँछन् । बढी पैसा खर्च गर्न तयार भएमा  कतिपयलाई दलालले जंगलको बाटो हिँडाउनुको सट्टा प्लेन वा हेलिकोप्टर चार्टर गरेर पनि पानामासम्म लैजाने गरेको खुल्न आएको छ ।

डुंगाको यात्रा एकदमै जोखिमयुक्त भएकाले दैनिक दर्जनौं आप्रवासीले ज्यान गुमाउने गरेका छन् । चार महिनाअघि कोलम्बियाबाट डुंगामा पानामा जाने क्रममा डुंगा पल्टिँदा सातजना नेपालीसहित दर्जनौं आप्रवासीको मृत्यु भएको थियो ।

यसरी हरेक मुलुक पार गर्नुअघि स्थानीय दलालले नेपालको दलालले कबोल गरेको भन्दा अझै बढी रकम माग्छ र रकम नबुझाएमा त्यसभन्दा अगाडिको देशमा प्रवेश नगराउने चेतावनी दिएको हुन्छ । त्यसपछि उनीहरूले नेपालमा रहेका आफन्तलाई फोन गरेर पैसा पठाइ माग्छन् । दलालको हातमा पैसा परेपछि मात्र यात्रा अगाडि बढाउँछ, नत्रभने कैयौं दिनसम्म भोक र प्यास नभनी त्यहीँ बस्नुपर्ने हुन्छ ।

अनेक कष्ट खेप्दै नेपाली युवा पानामा प्रवेश गरेपछि शरणार्थीका रूपमा त्यहाँ बस्छन् । आफूले बोकेको सबै नेपाली पासपोर्ट तथा अन्य डकुमेन्ट नष्ट गर्छन् । 

पानामास्थित क्याम्पमा केही दिन बसेपछि पानामा इमिग्रेसनले देश छाड्नका लागि उनीहरुलाई ‘कन्ट्री एक्जिट पेपर’ दिन्छ, त्यो पेपर भएपछि उनीहरू खुलेआम पानामाभरि घुम्न पाउँछन् ।

पानामाबाट दलालले व्यवस्था गरेको बस, ट्रकजस्ता सवारी साधन चढेर उनीहरू कोस्टारिक पुग्छन् । त्यसपछि निकारागुवा र होन्डुरसमा रातिराति लुकेर–छलिएर कहिले ट्रक त कहिले जंगलको बाटोमा पैदलयात्रा गर्दै उनीहरू ग्वाटेमाला पुग्छन् । ग्वाटेमालाको बसाइ लामो हुँदैन । त्यहाँबाट दलालले उनीहरुलाई डुंगामा चढाएर मेक्सिकोको सिमावर्ती तापाचुला सहरसम्म पुर्‍याइदिन्छन् र त्यहाँ रहेको ‘इमिग्रेन्ट क्याम्प’मा शरण लिन्छन् । त्यहाँ केही दिन बस्नैपर्छ ।

मेक्सिकोको कानुनअनुसार बाहिरबाट आएका शरणार्थीले केही दिनभित्रै देश छाड्नुपर्छ । त्यही प्रावधानअनुसार त्यहाँ पुगेका नेपाली युवाहरुलाई मेक्सिको सरकारले ‘कन्ट्री एक्जिट पेपर’ दिन्छ । त्यो पेपरले मेक्सिकोभरि यात्रा गर्न रोकटोक हुँदैन । त्यसपछि कैयौं दिनको हन्डरपछि आकुलव्याकुल भएका नेपाल युवाका आँखा अमेरिकाको बोर्डरतिर सोझिन्छन् । 

अमेरिका प्रवेश गराइदिपछि दलालको काम सकियो

तापाचुलाबाट त्यहाँ रहेको दलालले रातिको समयमा सुरक्षाकर्मीलाई छल्दै नेपाली युवालाई अमेरिकाको क्यालिफोर्निया राज्यको सान–डिएगोस्थित बोर्डरसम्म छाडिदिन्छन् । त्यहाँसम्म छाड्नका लागि दलालले ट्याक्सीवालासँग सेटिङ मिलाएको हुन्छ । वारि मेक्सिको, पारि अमेरिका। त्यहाँबाट नेपाली युवाले पर्खाल नाघेर अमेरिकाको भूमिमा पाइला टेक्छन् ।

यसरी अवैध रुपमा आएका नेपाली युवाले अमेरिकी भूमि प्रवेश गरेपछि दलालको काम सकिन्छ । अमेरिका छिराउनुभन्दा अगावै दलालले धम्क्याएर अनि थर्काएर नेपालीहरुबाट पैसा लिइसकेको हुन्छ । यसरी एउटा नेपाली युवाले अमेरिकी सपनामा घरखेत बेचेर ऋणपान गरेर दलाललाई ५०–६० लाख रुपैयाँ बुझाइसकेको हुन्छ ।

अमेरिका छिरेपछि नेपाली युवाहरुलाई त्यहाँको इमिग्रेसनले समातेर केरकार गर्‍यो वा डिपोर्ट नै गर्‍यो भने पनि दलाल जवाफदेही हुँदैन। दलालको काम जसरी हुन्छ अमेरिकासम्म छिराइदिने मात्र हो । अमेरिका पसेपछि उनीहरु आफैं नै जवाफदेही हुनुपर्छ ।

यसरी सुरक्षाकर्मीको रोकटोकबिना नेपालीले अमेरिकामा प्रवेश गर्न पाए भने ‘असाइलम’का लागि कानुनी प्रक्रिया अगाडि बढाउँछन् । वकिलको सहायतामा कागजात तयार पारेर इमिग्रेसनमा पेस गरिन्छ । कतिपय अवस्थामा प्रमाण नपुगेको भन्दै अवैध छिरेका नेपालीलाई अमेरिकाले ‘डिपोर्ट’ गरेको अवस्था पनि छ ।

पछिल्लो समय दक्षिण एसियाका भारत, बंगलादेश र नेपालबाट अवैध तरिकाले अमेरिका पस्न चाहने आप्रवासीहरुको संख्या बढ्दै गएको छ । यसका साथै मध्यपूर्व तथा अफ्रिकाका द्वन्द्वग्रस्त मुलुकबाट पनि ठूलो संख्यामा आप्रवासी ल्याटिन अमेरिका हुँदै अमेरिका छिर्न चाहन्छन् । कोभिडको बेलामा यो धन्दा कम चाहिँ भयो तर ठप्प भएन । यसले पनि मानव तस्करीमा लागेको अन्तर्राष्ट्रिय गिरोह कति बलियो छ भन्ने देख्न सकिन्छ । यसमा ठूलै अन्तर्राष्ट्रिय गिरोहको हात छ, जसलाई प्रहरी, प्रशासन र राजनीतिकर्मीको समेत संरक्षणप्राप्त छ । 

(कोलम्बियाको बोगोटामा बस्दै आएका मैनालीसँग त्यहाँको इमिग्रेसनमा नेपाली भाषा अनुवादकका रूपमा काम गरेको अनुभव छ।) 


तपाइको प्रतिक्रिया दिनुहोस्