भोजपुरलाई कांग्रेसको उर्बरभूमि बनाउँछु

नेपाल विद्यार्थी संघबाट खारिएका जुझारु युवा नेता हुन् विनोद वान्तवा । स्पष्ट वक्ता, निडर र अत्यन्तै लगनशील युवा नेता वान्तवा भोजपुरका सबै तप्का र समूहमा अतयन्तै विश्वासिलो व्यक्तित्वको रुपमा चिनिन्छन् । भोजपुर जिल्लाको दूरदराजमा जन्मिएका वान्तवा नेपाली कांग्रसका महासमिति सदस्य पनि हुन् । आसन्न १४ औं महाधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका उनी राजनीतिलाई नितान्त समाजसेवा ठान्दछन् । पार्टी संगठनको लागि सधैं दत्तचित्त भएर लाग्ने उनी उदार लोकतन्त्रको अभ्यासका लागि युवाहरूलाई अभ्यस्त बनाउनुपर्नेमा जोड दिन्छन् । सधैं निष्ठाको राजनीतिमा लागेर लोकप्रिय छवि बनाएका वान्तवा पार्टी संगठन बलियो बनाउन गुटगत राजनीतिबाट टाढा रहनुपर्ने बताउँछन् । १४ औं महाधिवेशनसँग केन्द्रित रहेर महासमिति सदस्य वान्तवासँग गरेको कुराकानीको सम्पादित अंश ः
० कांग्रेस १४ औं महाधिवेशनमा तपाईंको दावी के मा हो ?
– नेपाली कांग्रेसको १४ औं महाधिवशनमा मेरो भोजपुर जिल्लाको सभापति पदमा उम्मेदवारी रहेको छ । नजिकिँदै गरेको अधिवेशनको लागि सभापतिको तयारी गरिरहेको छु ।
० भोजपुर जिल्लाको सभापति हुनेगरी तपाईं नेपाली कांग्रेस के योगदान रहेको छ ?
– म नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा आएको हँु ।  मैले २०४४÷४५ सालदेखि नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमितिमा रहेर काम गर्दै आएको छु । त्यतिबेला पार्टी प्रतिबन्धित अवस्थामा थियो । त्यहींबेलादेखि सक्रिय विद्यार्थी राजनीतिमा रहेर काम गरिसकेको छु । विद्यार्थी राजनीतिमा नेविसंघको जिल्ला कार्यसमितिबाट केन्द्रीय सदस्य हुँदै केन्द्रीय कोषाध्यक्षसम्म हुन भ्याएँ । त्यसपछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेको हूँ ।
० विद्यार्थी राजनीतिपछि पार्टीको कुनकुन पदमा रहेर काम गर्नुभयो ?
मैले पार्टीको विभिन्न पदमा रहेर सक्रिय भूमिका निर्वाह गरेँ । म अहिले पनि महासमिति सदस्य छु । म नेपाली कांग्रेसले बनाएको विद्यार्थी विभागको सदस्य पनि हो । मैले कांग्रेस पार्टीले आह्वान गरेका विभिन्न कार्यक्रम, आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छु । अर्को म नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) भएर फेरि एकता भइसकेपछि रामेछाप जिल्लामा प्रतिनिधि भएर गई दुई भागमा बाँडिएको पार्टी र नेता, कार्यकर्तालाई मिलाउने काम पनि गरेको छु ।
० पार्टीलाई एक ढिक्का पारेर मिलाउने काम गर्ने मौका पाउनुभयो ?
– हो, त्यतिबेला नेपाली कांग्रेस फुटेर दुईवटा भएको थियो । एउटा शेरबहादुर दाइले नेतृत्व गर्नुभएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) र अर्को गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको नेपाली कांग्रेस गरेर । त्यसबेला म गिरिजाप्रसाद कोइरालाको पक्षबाट रामेछाप जिल्लाको पार्टी प्रतिनिधि भएर त्यहाँका नेता, कार्यकर्ता र साथीहरूसँग समझदारी गरेर पार्टीलाई मिलाएर आएको छु ।
० तपाईं २०४४÷४५ सालदेखि विद्यार्थी राजनीतिबाट खारिएर आनुभएको नेता कतिपटक महासमिति सदस्य हुनुभयो ?
– महासमिति सदस्य चाहीं म १३ औं महाधिवेशनमा मात्रै भएको हूँ । त्योभन्दा पहिला मैले अन्य साथीहरूलाई सहयोग गरेँ । तर, १३ महाधिवेशनमा भने महाधिवेशन प्रतिनिधि भएर आएको हूँ ।
० पार्टीमा निकै संघर्ष र योगदान गर्नुभएको रहेछ त्यहाँका प्रतिनिधिहरूले तपाईं जिल्ला सभापति बनाउनुहुन्छ त ?
– मुलतः मैले भोजपुर कांग्रेसका नयाँ, पुराना नेता, कार्यकर्ता सबैसँग राम्रो सम्बन्ध राखेर काम गरेको छ । यहाँका प्रत्यक वडाहरूमा कांग्रेसका अग्रज नेता, कार्यकर्ता र मित्रहरूसँग पुगेको छु । उहाँहरूकै साथ, हयोग र हौसलामा म सभापतिको उम्मेदवार बनेको छु । म पछिल्लो समय प्रत्येक स्थानीय तह, वडा र गाउँमा घुमेर आउँदा साथीहरूमा उत्साह भएको पाएको छु । ती ठाउँ घुम्दा ‘तपाईं जत्तिको मान्छे भोजपुरको सभापतिमा आउनुपर्छ, पार्टीलाई गतिशील बनाउनुपछर्, त्यसमा हाम्रो साथ, सहयोग र समर्थ हुन्छ’ भनेर प्रतिनिधि साथीहरूले मलाई पूर्ण रुपमा आस्वस्त र विश्वास दुवै बनाएर पठाउनुभएको छ ।  
० त्यसोभए प्रतिधिनि साथीहरूले चुनाव जिताउँछन् भने ढुक्क हुनुहुन्छ ?
– हो, म एकदमै ढुक्क छु । जो नेपाली कांग्रेसका पुराना सिनियर नेताहरू हुनुहुन्छ उहाँबाट पनि मलाई पूर्ण रुपमा साथ सहयोग रहने छ । जो नयाँ जोश, जाँगर बोकेर आउनुभएका युवाहरू हुनुहुन्छ उहाँहरूको पनि मलाई साथ, सहयोग छ । त्यसैगरी पार्टीको विधान अनुसार विभिन्न कलस्टरबाट आउनुभएका दलित, महिला, अल्पसंख्या, जनजाति, खसआर्य, उत्पीडित तथा मधेसी र मुस्लियमलगायतको पनि मलाई साथ, सहयोग र समर्थन छ । त्यसैगरी अग्रज नेता, कार्यकर्ताबाट पनि मलाई पूर्ण रुपमा साथ, सहयोग हुने बचनवद्धता पाएको छु । जो अहिले कांग्रेसमा प्रवेश गरेर आउनुभएको छ उहाँहरूले पनि ‘तपाईं भोजपुर कांग्रेसको आइडलनै हुनुहुन्छ । तपाईंलाई हाम्रो पूर्ण रुपमा सहयोग रहने छ’ भन्नुभएको छ । त्यसैले मेरो जित सुनिश्चित जस्तै भइसकेको छ ।
० तपाईं त्यहाँका कांग्रेस नेतामा त लोकप्रिय नै हुनुहुन्छ, सभापतिको तयारीको लागि कसरी खटिरहनुभएको छ ?
– मैले जिल्ला सभापतिको तयारी गर्दै गर्दा प्रत्येक वडा, गाउँ, नगरमा गएर उहाँहरूको कुरा सुन्ने आफ्ना पनि कुरा राख्दै आएको छु । प्रतिनिधि साथीहरूसँग पार्टी संगठनलाई कसरी बलियो बनाउन सकिन्छ भनेर पनि विभिन्न विचार, गोष्ठी राखेको छु । उहाँहरूलाई परेका विभिन्न समस्यामा आफ्नो बलबुताले भ्याएसम्म साथ दिँदै आएको छु । उहाँहरूले पनि मेरो काम, निष्ठा र लगावको मूल्यांकन गर्नुहुन्छ भन्ने लागेको छ । त्यो वचन पनि उहाँहरूबाट पाएको छु ।
० तपाईंभन्दा कम योगदान गरेका मान्छे पार्टीको केन्द्रीय कमिटिमा आइसकेका छन् तपाईंले कसरी अरूलाई पालो दिएर बस्नुभयो त ?
– राजनीतिमा सबैले कर्म गर्ने हो । त्यो कर्म गर्दै गर्दा सबैले केन्द्रीय कमिटिमा भाग पाइँदैन । फेरि काम गर्न पदै चाहिन्छ भन्ने पनि छैन । राजनीति भनेको एउटा आत्मसन्तु र समाजसेवा हो । अर्को दर्शन र सिद्धान्तको पाटो पनि हो । त्यसैगरी राजनीति भनेको एउटा विसुद्ध रुपमा सामाजिक काम पनि हो । समाजसेवासँगै देशको सेवा गर्ने काम पनि हो । म नेपाल विद्यार्थी संघको इमानदार सिपाही भएको कारणले चुनाव लड्ने चाहना हुँदा–हुँदै पनि पार्टीले टिकट दिन सकेन होला । त्यति हुँदाहुँदै पनि पार्टीले मलाई मेरो गच्छेअनुसार पद र ओहदामा राख्छ भन्नेमा पूर्ण विश्वस्त छु ।
० कांग्रेस अहिले गुटगत राजनीतिले थिलथिलो भएको छ, तपाईं सभापति भएपछि असन्तुष्ट नेता, कार्यकर्तालाई एकढिक्का पार्न कसरी मिलाउनुहुन्छ ?
–अब नेपाली कांग्रेसभित्रको गुटगत राजनीतिलाई अलि घटाउन चाहन्छौं । युवा पुस्ताका साथीहरू स्थानीय, प्रदेश र संघमा आउँदै गर्दा त्यसलाई न्यूनिकरण गर्न प्रयास गर्ने छौं । अहिले धेरै युवा, महिला साथीहरू आउनुभएको छ । त्यसको सामथ्र्यले पनि आन्तरिक अस्वस्थ प्रतिस्पर्धा र गुटगत राजनीतिलाई घटाएर एकढिक्का बनाउन सहयोग गर्ने छ । त्यसको प्रयासमा हामी नेतृत्वमा आएको भोलिपल्टदेखि लागिपरेर काम गर्ने छौं । जसको कारणले नजिकिँदै गरेको स्थानीय, प्रदेश र संघको राष्ट्रिय चुनावमा देशलाई कांग्रेसमय बनाउन सहयोग पुग्ने छ । मैले भोजपुर सभापति जितेको भोलिपल्टबाट जिल्लालाई कांग्रेसमय बनाउने अभियानमा जुट्ने छु ।
० तपार्इं फरक प्यानलबाट सभापति जित्नुभयो तर केन्द्रीय नेतृत्वमा अर्कै प्यानल आयो भने त्यो नेतृत्वको निर्देशन अनुसार काम गर्न सक्नुहुन्छ ?
– नेपाली कांग्रेस भनेको पुरानो इतिहास बोकेको लोकतान्त्रिक पार्टी हो । यसको नेतृत्वमा पुग्न लोकतान्त्रिक विधि, पद्धति अनुसार आन्तरिक प्रतिस्पर्धा हुन्छ । त्यसैले नै नेपाली कांग्रेस अरू पार्टीभन्दा फरक हो । चुनावको बेला प्रतिस्पर्धा हन्छ । तर, त्यो प्रतिस्पर्धाबाट खारिएर आएको नेतृत्वलाई सबैले पूर्ण रुपमा मानेर जानुपर्छ । त्यसको लागि नेतृत्वमा जो आएपनि विधि, पद्धति अनुसार मानेर अगाडि बढ्न म तयार छु । हामी जत्तिका युवा नेताहरूले केन्द्रीय तहका नेताहरूलाई औला ठड्याएर पनि भन्न सक्छैं । त्यसको लागि उहाँहरूलाई ‘गुटउपगुटमा धेरै नलाग्नुहोस्, अहिलेका युवा पुस्ताले भनेको पनि मान्नुहोस्’ भनेर । यतिबेला मुलुकले कांग्रेसँग आशा, भरोसा र विश्वास गरेको छ । त्यसलाई तुसारापात गर्ने कुनै नेतालाई अधिकार छैन । गुटको आधारमा ‘कोटरी र टोकरी’ भन्दा पनि उपयुक्त व्यक्तिलाई उपयुक्त पद र जिम्मेवारी दिनुपर्छ । त्यो भयो भने कांग्रेस सबै तह, तप्का, वर्ग र समुदायबीच पुग्छ भन्ने हाम्रो मुल्य र मान्यता छ ।
० राष्ट्रिय चुनाव नजिकिँदै छ, आन्तरिक प्रतिस्पर्धाबाट चिँडिएको कांग्रेसलाई कसरी एकढिक्का बनाउनुहुन्छ ?
– मैले पहिला पनि भनिसकेको छु । म अहिले लगभग ५२ वर्षको उमेर पार गर्दै छु । अब मैले नेपाली कांग्रेसको सक्रिय राजनीति १५ वर्ष मात्रै गर्ने हो । अब आउने कार्यकालमा जिल्ला सभापतिको रुपमा रहेर म कांग्रेसको विभिन्न तह, तप्का, वर्ग समुदायमा संगठन निर्माण गर्छु । त्यसबखत मैले साथीहरूलाई भनिपनि सकेको छु । म आगामी निर्वाचनमा सभापति भएपनि माननीय लगायत अन्य निर्वाचनमा टिकटको दावी गर्दिन । तर, परिस्थितिजन्य घटनाहरू भएभने म त्यो अवसरबाट पछाडि पनि हट्दिनँ । म सभापति भएँ भने आगामी निर्वाचनको स्थानीय, प्रदेश संघमा आपूm दावी नगरिकन जुन, जुन ठाउँमा जस, जसको लोकप्रियता र योगदान देखिन्छ । उहाँहरूको लागि टिकट दिलाउनेदेखि चुनाव जिताउनसम्म दिलोज्यान दिएर लाग्ने छु । त्यो प्रतिवद्धता मैले साथीहरू साभु घोषणा पनि गरिसकेको छु ।
० त्यसोभए तपाईं सभापति हुनुभयो भने एक पद, एक व्यक्तिको अवधारणा लागु गर्नुहुन्छ ?
– हो, त्यो अवधारणा म एकदमै लागु गरेरै छाड्छु । त्यसको बारेमा मैले पहिला नै साथीहरू साभु प्रतिवद्धता जाहेर गरिसकेको छु । म बोलेको कुरा व्यवहारमा ल्याएर देखाउन चाहन्छु । मेरो पहिलादेखिको भनाइ पनि त्यही हो । योगदान गरेका साथीहरूले पनि अवसर पाउनुपर्छ । त्यसको लागि म आफ्नो बल, बुताले भ्याएसम्म लागेर सहयोग गर्दछु ।
० जुन गुटको साथी भएपनि चुनाव जित्न सक्ने साथीलाई सहयोग गर्नुहुन्छ हो ?
– हो, त्यस क्षेत्रमा चुनाव जित्न सक्ने विश्वास दिलाउनुपर्छ । त्यहाँका जनताले पत्याउने हुनुपर्छ । उहाँलाई म जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न तयार छु । आन्तरिक चुनावको प्रतिस्पर्धाको इगो अन्य पार्टीसँग लड्दा साध्नुहुँदैन । त्यसैले राष्ट्रिय चुनावमा कांग्रेस जिताउ अभियानमा जुट्ने मेरो पहिलो काम हन्छ । आन्तरिक चुनावमा मसँग पाइला पाइलामा सहमत छन् भने पनि जनताबीचमा उनी लोकप्रिय छन् भने उनलाई टिकट दिलाउनेदेखि चुनाव जिताउनसम्म मेरो सक्रिय सहयोग रहने छ । त्यो नै सच्चा कांग्रेसको इमान्दारिता पन हो ।
० यसअघि भोजपुरमा कांग्रेसले हारिरहेको छ तपाईं सभापति भएपछि जिताउनुहुन्छ ?
– भोजपुरमा नेपाली कांग्रेसले २०१५ सालमा जितेको थियो । अब पार्टी सभापति भइसकेपछि भाजपुरको कांग्रेसलाई २०१५ सालमा फर्काने मेरो अभियान रहन्छ । चुनाव जितेको भोलिपल्टबाट मेरो प्रयास त्यसमा रहन्छ । म भोजपुरलाई २०१५ सालमा वीपी कोइरालाको पालाको जस्तो कांग्रेसको उर्बर भूमि बनाउन चाहन्छु । मैले त्यो सम्भावना पनि देखेको छु र त्यसको लागि काम पनि गरेर देखाउँछु ।
० धेरै वर्षदेखि बिग्रिएको संगठनलाई मजबुद बनाउने के जादु छ तपाईंसँग ?
– म विद्यार्थी राजनीतिबाट खारिएर आएकाले मसँग सांगठनिक क्षेमता छ । म सबै तह, तप्का, वर्ग, जाति, जनजाति, समुदायलाई एकढिक्का बनाएर प्रयास गर्छु । अहिलेको कांग्रेस संगठन सप्रिन्छ भन्नेमा म विश्वस्त छु । सबैलाई एकढिक्का बनाएर भोजपुरमा कांग्रेसको जित सुनिश्चित बनाएरै छाड्छु । यी वर्ग, समुदायका विभिन्न विषयका मुद्दाहरू पनि छन् । त्यसको सम्वोधन गर्ने मसँग क्षमता पनि छ । म समय पनि पार्टीलाई पूर्ण रुपमा दिने छु । म ५२ वर्षको उमेरमा पुगिसकेकाले पार्टी संगठनबाहेक अरू काममा लाग्दिँन । यो कुरा मैले विभिन्न सञ्चारमाध्यमबाट भनिरहेको छु । अब नेताहरूले लोभ र मोहबाट मुक्त हुन जरुरी छ । त्यसबाट हामी पनि मुक्त हुन जरुरी छ । नेपाली कांग्रेस भोजपुरलाई गाउँदेखि जिल्लासम्म जोड्नको लागि मैले जिल्ला सभापतिमा उम्मेदवारी दिएको हूँ ।
० अन्त्यमा त्यहाँका प्रतिनिधिहरूलाई के भन्नुहुन्छ ?
– समाजमा धेरै खालका मान्छेहरू हुन्छन् । नेपाली कांग्रेसमा पनि त्यति नै धेरै खालका मान्छेहरू छन् । कोही जीवनभर राजनीति गरेर एउटा सदस्यको लागि लडभिड गरिरहेका छन् । कोही साथीहरू पैसाको बलमा राजनीति गर्छु भनेर आएका छन् । म आज भोजपुरका कांग्रेस नेता, कार्यकर्ता, अग्रज र क्षेत्रीय प्रतिनिधिहरूमाझ हरेक दुःख गर्ने साथीहरूलाई न्याय गरिदिनुहोस् भन्न चाहन्छु । जो राजनीतिक व्यक्ति छन् जो पार्टीको सिद्धान्त, निष्ठामा हिँडेका छन् तिनीहरूलाई माया गर्नुहोस् । जसरी वीपी कोइरालाले ‘तपाईंलाई देश र आफ्नो भूगोलको माया छ भने आपूm उभिएको ठाउँको एक मुठी माटो लिनुहोस् र सम्झनुहोस्’ भन्नुभएको छ । त्यसैगरी त्यहाँका सम्पूर्ण अग्रज नेता, कार्यकर्ता, महिला, दलित, उत्पीडित, अल्पसंख्यक, जाति, वर्ग समुदायका प्रतिनिधिलाई उचित व्यक्तिलाई आफ्नो विवेकको मत दिनुहोस् भन्न चाहन्छु । तपाईंले दिएको एक मतले भोलि पार्टी संगठनमा ठूलो अर्थ राख्छ । तपाईं र तपाईंको भविष्य निर्धारण गर्दछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्