बम्बई उच्च अदालतले आर्यन खान विरुद्धमा प्रमाण नभेटिएकोले जमानत दिने आदेश जारी

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको विरुद्धमा कुनै पनि सकारात्मक प्रमाण नभेटिएको बम्बई उच्च अदालतको जनाएको छ ।

शनिवार बम्बई उच्च अदालतले आर्यन खान लगायत अन्य दुईलाई जमानत दिने आदेश जारी गरेको थियो । अदालतले अभियुक्तहरू विरुद्ध अपराध गरेको देखाउने कुनै प्रमाण फेला नपरेको भनि फैसला सुनाएको थियो ।

२८ अक्टोबरमा आर्यन खान, उनका साथी अरबाज मर्चेन्ट र मुनमुन धामेचालाई उच्च अदालतले १४ वटा शर्तमा जमानतमा रिहा गरेको थियो । साथै उनीहरुले १–१ लाख रुपैयाँ धरौटी समेत तिरेका थिए । शर्तअनुसार उनीहरुले प्रत्येक शुक्रबार नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालय उपस्थित हुनुपर्ने नियम छ । 

अक्टोबर ३ मा मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक पार्टीमा छापा मारेर आर्यनसहित अन्य सात जनालाई एनसीबीले पक्राउ गरेको थियो । छापाबाट एनसीबीले १३ ग्राम कोकेन, २१ ग्राम चरेस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो ।

अदालतले जारी गरेको फैसलामा आर्यनको ह्वाट्सएप च्याट सार्वजनिक भएको तर आर्यनले अन्य आरोपितहरुसँग मिलेर कुनै अपराध गर्ने योजना बनाएको प्रमाण नभेटिएको उल्लेख गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्