झापामा लागुऔषध कारोबार र प्रयोग बढ्दो, स्थानीय सरकारसँग छैन नियन्त्रणको योजना

2.7k Shares

झापा, १५ मंसिर । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक भन्छ- झापामा लागुऔष प्रयोगकर्ता र कारोबारीको संख्य बढ्दै छ । भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापामा दैनिकजसो लागुऔषध कारोबारी पक्राउ परिरहेका छन् ।

प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्र लागु औषधको ६५ मुद्दामा ९९ अभियुक्त पक्राउ परे । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ११ केजी ७०१ ग्राम गाँजा, ३२९ ग्राम ७२५ मिलिग्राम ब्राउन सुगर, लागुऔषधजन्य क्याप्सुल ४९६, सिरिन्ज १२ एम्पुल, अन्य लागु औषधजन्य औषधि २०५ बोटल बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा झापामा ३११ जना लागुऔषध प्रयोग र कारोबारमा संलग्नलाई पक्राउ परेका थिए । आर्थिक वर्ष ०७६/०७७ मा १९० जना पक्राउ परेका थिए । प्रहरीको तथ्यांकले पनि झापामा प्रत्येक वर्ष लागु औषध कारोबारी र प्रयोगकर्ता बढिरहेको देखाउँछ । भारतसँग खुला नाका भएको झापामा भारत जाने बहानामा लागुऔषध कारोबारीले लागुऔषध ल्याउने गरेका छन् । प्रहरीको अनुभवअनुसार कोही सीमा नदीमा पौडी खेल्ने बहानामा, कोही गाईवस्तु चराउने बहानामा समेत लागु औषध ल्याउने गरेका छन् । पछिल्लो समय प्रहरीले निगरानी बढाएसँगै गोप्य अंगमा लागुऔषध राखेर ल्याउने क्रम पनि बढिरहेको प्रहरीले जनाएको छ । 

भारतसँग खुला नाका भएकै कारण लागुऔषध कारोबारी र प्रयोगकर्ताको संख्या बढेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । ‘खुला सिमाना भएका कारण सहजै ल्याउने गरेको पाइन्छ । भारततिरको काउन्टर पार्टमा खासै कडाइ नहुँदा पनि कारोबारी बढेको देखिन्छ’, उनले भने, ‘मानिसहरू फुर्सदिलो हुँदा पनि लागु औषधको लतमा फसकेको हुनसक्ने हाम्रो अनुमान छ । लागुऔषध नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाउँदै आएको छ ।’

यद्यपि, प्रहरीले मात्र कुनै पनि अपराध नियन्त्रण गर्न नसक्ने उनी बताउँछन् । अपराध नियन्त्रणका लागि नागरिक समाज, स्थानीय सरकारको पनि उतिकै सहयोग आवश्यकता पर्ने उनले बताए । लागुऔषध नियन्त्रणका लागि स्थानीय सरकार र प्रदेश सरकारले विशेष भूमिका देखाउनुपर्ने उनी बताउँछन् । ‘स्थानीय तहमा पनि सामाजिक शाखा हुन्छ । जनचेतना मूलक कार्यक्रमका लागि प्रहरीसँग स्थानीय तहले सहकार्य गरे धेरै हदसम्म नियन्त्रणको काम गर्न सकिने थियो,’ उनले भने, ‘प्रदेशमा सामाजिक विकास मन्त्रालय छ । यसले पनि लागुऔषध नियन्त्रणका लागि केही काम गरे हामीलाई धेरै सहयोग हुनेछ।’

झापाका काँकडभिट्टा, चन्द्रगढी, बिर्तामोड, दमकजस्ता ठूला सहरमा लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्य धेरै छ । यसअघि प्रहरीले लागुऔषध कारोबारीले डिलर नै सञ्चालन गरेकालाई पनि पक्राउ गर्दै आएको थियो । ठूला सहरमा लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्या धेरै हुँदा पनि स्थानीय सरकारसँग लागुऔषध नियन्त्रणका कुनै योजना छैन । जिल्लाका स्थानीय तहहरू पनि प्रहरीकै भरमा छन् । विगतमा कोरोना महामारीको समयमा मेचीनगर नगरपालिकाले लागुऔषध कारोबार र प्रयोगका लागि पूर्वी नाका काँकडभिट्टा आउनेलाई छुट्टै क्वारेन्टाइन बनाएर राखेको थियो । अहिले त्यो कार्य नगरपालिकाले अघि बढाउन सकेको छैन । काँकडभिट्टामा रहेको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काम गरिरहेको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य बताउँछन् । विगतमा नगरपालिकाले विभिन्न संघसंस्थासँग मिलेर जनचेतनाको कार्यक्रम गरेको तर पछिल्लो समय कोरोना महामारी लगायत कारणले गर्न नसकिएको उनले बताए । 

प्रहरी तथ्यांकअनुसार जिल्लाको धेरै प्रयोगकर्ता र कोराबारी भएको दमक नगरपालिकासँग पनि लागुऔषध नियन्त्रणका लागि ठोस् योजना छैन । नगरपालिकाले हाल कुनै कार्यक्रम संचालन गर्न नसकेको नगरप्रमुख रोमनाथ ओली बताउँछन् । ‘विगतमा विभिन्न संघसंस्थासँग मिलेर नियन्त्रणको काम गरेका थियौँ । अहिले ती कार्यक्रम पनि छैन,’ उनी भन्छन्, ‘हामीले प्रहरीलाई कडाई गर्न भनेका छौँ ।’

लागुऔषध प्रयोगकर्ता पीडित हुन् । अर्काको लहै-लहैमा लागुऔषध प्रयोग गर्नेका लागि सुधार र चेतनाको खाँचो छ । तर, झापामा सरकारीस्तरमा सुधारगृह छैन । एउटा स्थानीय तहले मात्र सुधारगृह राख्न सक्ने अवस्था नरहेको दमक नगरपालिकाको प्रमुख ओली बताउँछन् । ‘लागुऔषध धनीले मात्र हैन गरिबले पनि प्रयोग गर्छन् । गरिबले निजी सुधारगृहमा राख्न सक्ने अवस्था हुँदैन । सुधारगृह धेरै खर्चिलो हुँदो रहेछ ।  उनीहरूलाई निःशुल्क सुधार गृहमा राख्नुपर्छ,’ उनले भने, ‘सरकारी सुधारगुह झापामा छैन । एउटा मात्र स्थानीय तहले बनाउन सक्ने अवस्था पनि छैन । सरकारी सुधारगृह भए धेरै सहज हुने थियो ।’

सम्बन्धित समाचार