सिड्नी, २३ मंसिर । अस्ट्रेलियाको एउटा कम्पनीले थ्री डी प्रिन्टेड पड निर्माण गरेको छ, जसले मानिसहरुलाई कुनै पीडा नदिइ मृत्युवरण गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । सो मेसिन चाँडै नै स्वीट्जरल्यान्डका वासिन्दाले प्रयोग गर्न पाउने भएका छन् ।
पडको निर्माण गैरनाफामुखी संस्था एक्जिट इन्टरनेसनले गरेको हो । पडले मानिसहरुलाई स्वेच्छिक आत्महत्या गर्न सहयोग गर्नेछ । एक्जिट इन्टरनेसनले पडलाई सार्को मेसिन भनेको छ ।
स्वेच्छिक मृत्यु चाहना गर्नेका लागि स्वीट्जरल्यान्डमा यसअघि एक प्रकारको तरल पर्दाथ पेन्टोबारबिटल दिइएको थियो । तर, त्यसको विकल्पको रुपमा एक्जिट इन्टरनेसनलले पड निर्माण गरेको हो ।
एक्जिट इन्टरनेसनलका संस्थापक फिलिप नितस्चेकका अनुसार मृत्युवरण गर्न चाहने व्यक्तिलाई पडभित्र राखेपछि अक्सिजनको तह विस्तारै घटाएर एक प्रतिशतमा सीमित गरिन्छ र नाइट्रोजनको मात्रा बढाइन्छ । यो प्रक्रिया ३० सेकेन्डमा पूरा हुन्छ । अचेत हुनुअघि नै व्यक्ति बोल्न नसक्ने हुन्छ ।
‘स्वेच्छिक मृत्युवरण गर्न चाहने व्यक्ति मेसिनभित्र छिरेपछि आरामले पल्टिछन् । यो निकै आरामदायी छ,’ नितस्चेक भन्छन् ।
मेसिनले मृत्युवरण गर्न चाहने जुनसुकै व्यक्तिलाई आरामसँग मर्नका लागि सहयोग प्रदान गर्ने र यसलाई आवश्यकता अनुसार विभिन्न सहरमा लैजान सकिने नितस्चेकले बताएका छन् ।
‘सम्पूर्ण काम ३० सेकेन्डमा सकिन्छ । बोल्दा बोल्दै मानिसको जिब्रो गडबढाउछ र सास जान्छ,’ उनले भने । सो पडलाई स्वेच्छिक मृत्युको अनुमति दिएका जुनसुकै देशमा लैजान सकिने उनको भनाई छ ।