भय मानसिक विकार हो

हरिराम महर्जन ‘ठेचो’


भय ः भय मानसिक विकार हो । भयलाई डर पनि भन्ने गरिन्छ । भय भनेको भविष्यको प्रतिकुलताको कल्पना हो । मानिसलाई भूतकालप्रति भय हुँदैन । भय संकट वा प्रतिकुल परिस्थितिको आभाष हो अथवा एक किसिमले भविष्यप्रतिको आशंका हो । मानिसमा जब आफ्नो प्राण, अस्तित्व या अस्तित्वसँग जोडिएको कुनै पनि चिज गुम्ने डर हुन्छ, तब मनमा भय उत्पन्न हुन्छ । मानिस धन, सम्पत्ति, प्रतिष्ठा, पद, सम्बन्ध प्राणको भय हुन्छ । भय भनेको अविश्वास हो, अविश्वासले भ्रम उत्पन्न हुन्छ । भ्रमले भयबाट मुक्तिको गलत मार्गनिर्देश गर्छ । यो गलत मार्ग, दुःखको मार्ग हो । मानिस अनन्त दुःखको दलदलमा जीवन बिताउँछन् । भयको जननी इच्छा हो, आशक्ति हो । मानिसमा इच्छा जति बढि हुन्छ, त्यति नै कुनै पनि चिज प्राप्त नहुने डर हुन्छ । जुनजुन चिजप्रति जति आशक्ति हुन्छ, त्यति नै ती चिजहरू गुम्ने डर हुन्छ । मानिस जोप्रति जति धेरै आशक्त हुन्छ, त्यति नै तिनीहरूबाट छुटिने डर हुन्छ । मानिसलाई सफलतामा पनि डर उत्पन्न हुन्छ । आज तपाईँले महिनाको पचास हजार तलब पाउने जागिर पाउनुभयो भने साथसाथै त्यो जागिर गुम्ने डर पनि उत्पन्न हुन्छ । परीक्षामा सफल हुनुभयो भने अब प्रतिष्ठा गुम्ने डर उत्पन्न हुन्छ । तपाईँ कार किन्न सफल हुनु भयो भने हैसियत गुम्ने डर हुन्छ । तपाईँ धनी हुनुभयो, अब गरिब हुनुपर्ला भन्ने डर हुन्छ । तपाईँ शक्तिशाली बन्नु भयो, अब कमजोर हुनुपर्ला भन्ने डर हुन्छ । स्वर्गको चाहनाले नर्कको डर उत्पन्न हुन्छ, निरोगीको चाहनाले रोगको डर, प्रतिस्ठाको चाहनाले अपमानको डर, धर्मको चाहनाले पापको डर हुन्छ । जब मानिसमा प्राप्तिको इच्छा हुन्छ, तब पाएको चिज गुम्ने भय उत्पन्न हुन्छ । जति बढि इच्छा र आशक्ति, त्यति धेरै डर हुन्छ । मानव जीवन असंख्य इच्छा र आशक्तिको आवेग हो । त्यसैले मानव भयग्रस्त छ । मानव जीवन भयको अधिनमा छ । मानिसले भयको कारण चाहेको कुरा पनि त्यागिरहेका हुन्छन्, नचाहँदा नचाहँदै पनि भोगिरहेका हुन्छन् । कुनै काम ग¥यौँ भने यसो भन्ला, गरेन भने यसो होला, बर्बादै होला आदि सोच उत्पन्न हुन्छन् र बाध्य भएर गरिरहेका हुन्छन्, त्यागेका हुन्छन् । मान्छेमा जब भयको धेरै प्रभाव पर्न थाल्छ, तब मान्छे अस्थिर हुन थाल्छ, बेचैन हुन थाल्छ । ऊ भयबाट बच्ने उपायको खोजी गर्न थाल्छ । ऊ भ्रमित हुनथाल्छ र भयबाट मुक्त हुने उपायको खोजीमा बाहिर भौतारिन्छ र जीवन अन्त हुन्छ । मानिस आफ्नो मृत्युको भयबाट सुरक्षा खोज्छन् । मानिस घरभित्रको सुरक्षा अनि घर बाहिरको सुरक्षा खोज्छन् । उनीहरू सुरक्षाको व्यवस्थापनको लागि धनको आवश्यकता देख्न थाल्छन् अनि धनको पछि लाग्छन् । मानिस धन मात्रले पनि भरोसा बलियो देख्दैन । मानिस भगवानको पूजा, ध्यान, चन्दा, दान, भाकल, तन्त्रमन्त्र आदिको सहरामा पुग्छन्, मृत्युको भयको अन्त नहुँदै मृत्युको छायाँ पर्छ र जीवनको अन्त हुन्छ । जब मानिसको सामू भय उपस्थित हुन्छ, शुरुमा सम्भव भएसम्म भाग्ने कोशिस गर्छन् । मानिस भागेर सुरक्षित नहुने अवस्थाको महसुस हुन थाल्छन् अथवा भाग्न सम्भव देख्दैन तब उसँग एउता मात्र आक्रमणको उपाय रहन्छ । मानिस आत्मसमर्पण कहिले पनि गर्दैन, अन्तिम क्षणसम्म पनि बच्ने प्रयास गरेकै हुन्छ । भयकै कारण मान्छे क्रोधित हुन्छ र भयप्रति आक्रमक हुन्छ । भयकै अन्तका लागि त्यतिबेला जस्तोसुकै हर्कत गर्न पनि तयार हुन्छ । भयकै कारण मान्छे शक्तिशाली, बलवान बन्न खोज्छ । ऊ शक्ति आर्जनको निम्ति घातक भन्दा घातक अस्त्र, शस्त्रको तयारी गर्छ, देवीदेवता, पूजा आराधना, तन्त्रमन्त्र समेतलाई उत्तिकै महत्व दिन्छ । मानिसमा ईष्र्या, द्वेष, निन्दा, षडयन्त्र जस्ता आवेगहरू भयकै कारण उत्पन्न हुन्छन् । मानिसले आफू शक्तिशाली भएको अनुभूति गरेको बेला असुर बन्छ । ऊ आफू शक्तिशाली भएको प्रमाणित गर्ने प्र्रयास गर्छ, शक्तिको दुरूपयोग गर्छ, निर्बलमाथि अन्याय गर्छ । मानिस अहंकारले गर्दा भ्रयग्रस्त हुन्छन् । अहंकारले मानिसलाई विवेकहिन बनाउँछ, भ्रष्ट बनाउँछ । समग्रमा अपराधी हुन्छ । अपराधीको अन्त दुःखद हुन्छ । अतः भय दुःखको कारण हो भन्न सकिन्छ । 

यसै सन्दर्भमा एउटा पौराणिक कथा उल्लेख गर्न चाहन्छु । द्वापर युगमा मथुरा राज्यमा उग्रसेनको राज्य चल्दै थियो । एकदिन राजकुमारी देवकीको विवाह वासुदेवसँग सम्पन्न भयो । दुलाहा दुलहीलाई रथमा विदा गर्ने समयमा देवकीको भार्ई कंसले आफूले रथ हाँक्ने निधो गरे । रथ अगाडि बढ्दै गर्दा अचानक देवकीको गर्भबाट जन्मने आठौँ पुत्रद्वारा कंसको हत्या हुने आकाशवाणी भयो । यो आकाशवाणी सुनेर कंस अत्यन्त भयभित भए र उनले तुरुन्तै देवकीलाई मार्न तम्सिए । बासुदेवले क्रोधित कंसलाई देवकीबाट जन्मने सबै पुत्र सुम्पिने वचन दिए र हत्या नगर्न अनुरोध गरे । कंसले तुरुन्तै देवकी र वासुदेवलाई कारागारमा राखेर कडा निगरानी गर्न थाल्यो । पिता उग्रसेनले यसको विरोध गर्न थालेपछि कंसले राजालाई पनि बन्दी बनाएर जबर्जस्ती आफूलाई राजा घोषणा गरी शासन गर्न थाल्यो । कंस अत्याचारी राजा थियो । उसको अत्याचारबाट मानव मात्र होइन, ऋषिमुनि, देवता पनि पिडामा थिए । उसको राज्यमा सत्य, धर्म र न्यायको कुनै गुन्जायसै रहेन । कंस इन्द्रलाई हराएर स्वर्ग लोक जितेपछि अहंकारी बन्यो । उसमा आफ्नो शक्तिप्रति निकै घमण्डी थियो । कंस आफूलाई विष्णुभन्दा बलवान ठान्थ्यो र विष्णुको अस्तित्व नै समाप्त गर्न चाहन्थे । कंसको अत्याचार चरम अवस्थामा पुगिसकेकोले अब कंसको संहार अनिवार्य भैसकेको थियो । विष्णुले कंसको अत्याचारबाट सबैलाई मुक्त गर्ने उद्देश्य लिई कृष्णको रूपमा देवकीको गर्भबाट मनुष्य अवतार लिने निधो गरे । कसंले भयको कारण देवकीद्वारा जन्माएका प्रत्येक बालकको हत्या गर्न थाल्यो । ऊ आफ्नो भयलाई समाप्त गरेर आफू सुरक्षित भएको विश्वस्त हुन चाहन्थ्यो । कंसलाई बहिनी देवकीको आँसुको कुनै मतलब थिएन । कंसले उनीहरूका सातौँ पुत्रसम्मको हत्या गरिसकेपछि वर्षादिको मध्यरातमा आठौँ पुत्र कृष्णको जन्म भयो । कृष्णको जन्मसँगै चमत्कार भयो । देवकी र वासुदेव बन्धनमुक्त भए, कारागारका सबै ढोका खुले, पहरेदार सबै निन्द्रामा डुबे । त्यस समयमा तुरुन्त जन्मेको बालकलाई गोकुल लगेर यशोदालाई छोड्नु र यशोदाले भर्खरै जन्माएकी पुत्री लिएर आउनु भनि आकाशवाणी भयो । वासुदेवले तुरुन्तै बालकलाई गोकुल लगेर यशोदालाई सुम्पेर, यशोदाकी पुत्रीलाई लिएर कारागारमा आए । बालिका रोएको आवाजले पहरेदारहरूको निन्द्रा खुल्यो र तुरुन्तै कंसलाई देवकीले बालिकाको जन्म दिएको जाहेर भयो । आकाशवाणी बमोजिम आठौँ जन्म बालक नै हुनुपर्ने तर बालिका भएकोमा कंसलाई छल भएको शंका त लाग्यो तर पहिले जस्तै गरी कारागारमा आए र बालिका भए पनि मार्ने प्रयास गर्दा बालिका अन्तरध्यान भईन् र तेरो संहारकर्ता गोकुलमा जन्म भईसकेको आकाशवाणी भयो । आकाशवाणी सुनेर कंस आत्तिएर त्यस रात जन्मेका गोकुल र वरपर गाउँका सबै बालकलाई मार्ने आदेश दिए । कंस मृत्युको भयले बहुलाउन थाल्यो । उसले आफ्नो मृत्युको भयका कारण देवकीको आठोँ सन्तानको खोजीमा चारैतिर भौँतारियो । उसले कैयौ निर्दोष बालकहरूको हत्या ग¥यो । ऊ गोकुलवासीलाई अत्यन्त अत्याचार गर्न थाल्यो । जब उसले नन्दको घरमा हुर्केको चमत्कारी बालकको कुरा सुन्यो, तब उसले आफ्नै बहिनी पुतनाद्वारा छल गरेर विषयुक्त दुधपान गराई त्यस बालकलाई मार्ने प्रयास ग¥यो तर बालकद्वारा मायावी पुतनाकै अन्त भयो । बकासुर, अगासुर, धेनकासुुरजस्ता शक्तिशाली दानवहरूको पनि केही लागेन । अनेकौँ मायावी राक्षसहरूको पनि केही लागेन । कंसको हरेक प्रयास असफल भयो । उसले भयको अन्त गर्न शक्ति प्रदर्शन ग¥यो, अनेकौँ छलकपट ग¥यो । उसले क्रोधमा आएर कसैको पनि सल्लाहको मतलब भएन । उसले निरन्तर कृष्णलाई मार्ने अनेक उपाय ग¥यो । कसं भयभित भएर आफ्नो बचावटका लागि अनेकौँ उपाय गर्दागर्दै आखिरमा कृष्णको हातबाट मारियो । कसं इन्द्रलाई हराएर स्वर्गलोक जितेको अहंकारमा बाँच्यो र भयबाट मुक्त हुन नपाउँदै उसको जीवन समाप्त भयो । क्रमशः


तपाइको प्रतिक्रिया दिनुहोस्