योग र ध्यान के हो ?


आउँदो माघ १ गते राष्टिय योग दिवश मनाउदै छौ । योगशास्त्र पूर्वीय ६ वटा दर्शन शास्त्र मध्ये एउटा शास्त्र हो । यस अनुसार योगशास्त्र भन्नाले पतञ्जली योग योगशास्त्र भनी बुझिन्छ  तर योग शब्दको उल्लेख पतञ्जलीको योग शास्त्रमा मात्र भएको नभई ‘शिव संहिता’ हठयोग, श्रीमद्भगवद गीता लगायत शास्त्रहरुमा भएको देखिन्छ । 

योगको विषय व्यापक र गहन छ तर यसलाई रहस्यमय बनाउनु जरुरी छैन । आजकल व्यायाम, आसन, प्राणायामलाई मात्रै योगको रुपमा बुझ्ने गरिन्छ तर योग भन्ने कुरा यी ३ मा मात्र सिमित छैन । योग शास्त्र भनेको स्वाँफ्वाँ गर्ने विषय मात्र नभई शरीरलाई दह्रो र लचिलो बनाउने र मनलाई पनि दह्रो र लचिलो बनाउने शास्त्र हो । संसारका हरेक व्यक्ति जन्मसिद्ध योगी हो तर परिवारको, समाजको र औपचारिक प्रशिक्षणले उसको मनमा मत मान्यता र गलत विचारको संस्कार भर्ने काम हुन थाल्छ । मानिसले अनुचित आहार  विहार विचार गरेर नै कर्मसिद्ध वियोगी हुने हो ।  त्यसैले योगी भनेको महान व्यक्ती होइन साधारण व्यक्ती हो, बृत्ति मुक्त व्यक्ती हो । आफ्नो स्वरुपमा स्थित ब्यक्ती नै योगी हो । 

सबै पूर्वीय दर्शन शास्त्र दुःख निवारण गर्ने शास्त्र भए जस्तै योग शास्त्र पनि दुःख निवारण  गर्र्ने शास्त्र हो । मोक्षको शास्त्र हो, भ्रम नाश गर्ने शास्त्र हो । महर्षी पतञ्जली यस विज्ञानका आविश्कारकर्ता र प्रस्तोता हुन् । उनका अनुसार ‘योगः चित्र वृत्ति निरोध’ हो अर्थात् योगशास्त्र अनुसार चित्त अर्थात् मनमा आउने विकारको नाश हुनु योग हो । चित्त वृत्ति निरोध हुनु योग हो । योग शास्त्र अनुसार दुःखको कारण चित्तवृत्ति हो । (क्लिष्ट र अक्लिष्ट) अथवा नकारात्मक र सकारात्मक गरी २ प्रकारका चित्तवृत्ति रहेका छन । संक्षेपमा भन्दा मननपर्ने र मनपर्ने भाव नै दुःखको कारण हो । यी दुबै भावको अभाव हुनु नै दुःखबाट मुक्त हुनु हो । मानिस साँच्चिकै निरोगी र आनन्दीत हुन बन्धनबाट मुक्त भई स्वतन्त्र मानिसको ढाँचा कायम रहनु पर्छ । मानशिक बन्धनबाट मुक्त हुन योगशास्त्रमा अष्टाङ्ग योगको चर्चा गरिएको छ । 


अष्टाङ्ग योगमा १ यम, २ नियम ३ आसन ४ प्राणायाम ५ प्रत्याहार ६ धारणा ७ ध्यान ८ समाधी

१) यम व्यक्तिले अन्य व्यक्तिहरुको सम्बन्धमा अपनाउनुपर्ने आचारसंहिता हो । यमका पनि ५ वटा अंग छन् । ती हुन्ः

- अहिंसाः मन, वचन र कर्मबाट कसैको कुभलो नचिताउँने ।

- सत्यः जे हो त्यो हो र जे होइन त्यो होइन भनेर बुझ्ने ज्ञान सत्य हो । मन बचन कर्ममा एकता हुनु पनि सत्यतामा रहनु हो ।

- अस्तेयः चोरी नगर्नु । मन बचन कर्मले आफ्नो हक नलागेको केही पनि चिज लिने  ईच्छा नगर्नु ।

- ब्रम्हचर्यः आनन्दको लागि यौन संसर्ग नगर्नु ।

- अपरिग्रहः आवश्यकता भन्दा बढी केही पनि नथुपार्नु ।

२) नियमले व्यक्तिले आफ्नो सम्बन्धमा आफैले पालना गनुपर्ने आचार संहिता हो । नियमका ५ अंगहरु छन् ।

- सौचः शारीरिक सफाई र मानसिक सुद्धिकरण ।

- संतोषः असन्तुष्ट नहुनु ।

- तपः गर्नुपर्ने काम टुङगोमा पुग्ने गरी निरन्तर रुपमा गर्नु ।

- स्वाध्यायः सबैको भलाई हुने बिषयमा चिन्तन मनन र स्वःअध्ययन गर्नु ।

- ईश्वर प्रनिधानः क्लेश, कर्म, विपाक र आषयबाट मुक्त भई इश्वरले जस्तै कर्म गर्नु ।

(३) अटाङ्ग योगको तेस्रो अङ्ग आसन हो । महर्षि पतञ्जलीका अनुसार आसन भन्नाले (स्थिर सुखं आसनम्)े शरीर र मनलाई स्वस्थ अवस्थामा राख्न शरीर र मनको लचकता प्राप्त गर्न र कायम राख्न विभिनन आसनहरु पर्छन् । शरीरलाई ठीक गर्न व्यायाम र मनलाई ठीक हालतमा राख्न ध्यानात्मक आसनहरु गरिन्छ । आसनको उद्देश्य शरीरका सम्पुर्ण जोर्नीहरुलाई स्वभाविक र सरल ढंगले संचालनमा गर्न सक्ने अवश्था प्राप्त गर्न सक्नु हो ।

(४) योगको चौथो अङ्ग प्राणायाम भनेको प्राण र आयाम मिलेर बनेको छ । प्राण भनेको जीवनीशक्ती, आयाम भनेको विस्तार हो । जीवनी शक्तीको विस्तारको लागि श्वासलाई विभिन्न किसिमले नियन्त्रण नियमित गर्नु प्राणायाम हो । 

(५) प्रत्याहार भनेको इन्द्रीयहरुले बिवेक—बुद्धिको अनुशरण गर्न थाल्नु अथवा इन्द्रीयहरुलाई बशमा गर्नु प्रत्याहार हो । 

(६) धारणा ः— इन्द्रीयको लहलहैमा नलागी शान्तपूर्वक राम्रो विषयमा चित्तलाई स्थिर गरी विचार—अभ्यास गर्नु । 

(७) ध्यान ः— धारणाको निरन्तरता नै ध्यान हो ।

(८) समाधी ः समाधी भनेको ध्यानको चरमोत्कर्ष हो । चित्त आफ्नो ठाउँमा रहेको अवस्थामा नै समाधी हो । 

यम र नियमको पालना नगरिकन आसन र प्राणायाम ध्यानले मात्र योगसिद्ध हुन सक्दैन । यम नियमको अंगहरुलाई व्यवहारमा पालना गरेपछि इन्द्रियहरु बसमा भई प्रत्याहार सिद्ध हुन्छ र त्यसपछि मात्र धारणा, ध्यान समाधिसम्म पुग्न सकिन्छ । 


हठ योग केहो ?

ह भनेको दायाँ—सुर्य— ईडा—प्राण (दायाँ नाथा्रेबाट श्वास चल्नु )

ठ भनेको बायाँ—चन्द्र—पिगंला—अमान (बायाँ नाथो्रबाट श्वास चल्नु )

हठ योगको उद्देश्य दुबै नाथो्र बाट बराबर श्बास चलाउनु हो । जब मान्छेको दायाँ र बायाँ दुबै नाथो्रबाट बराबर श्वास चल्यो भने शुषुम्ना नाडी चल्छ, मान्छेको मन स्थिर हुन्छ, बुद्धि स्थिर हुन्छ अनि हठयोग सिद्ध हुन्छ र चित्त वृत्तिको निरोध हुन्छ ।

गीता योग के हो ?

श्रीमद्भागवत गीतामा “योगः कर्मशु कौशलम्” भनिएको छ । हरेक कर्मलाई कुसलता पुर्वक गर्नु नै योग हो । गीतामा योगलाई ३ भागमा विभाजन गरी बुझिन्छ । जसमा १. ज्ञान योगः सत्य कुरा जान्नु, २. भक्ती योगः जानेको सत्य प्रति अटल र इमान्दार रहनु र ३. कर्म योगः जानेको सत्य प्रति अटल रहेर कर्म गर्नु कर्म योग हो । भक्ती र कर्म विनाको ज्ञान पाखण्डमात्र हुन्छ । ज्ञान र कर्म विनाको भक्ती अन्धविश्वास मात्र हुन्छ र ज्ञान र भक्ती विनाको कर्म अकर्म मात्र हुन्छ । त्यसैले योगको अर्थ ज्ञान, भक्ती र कर्मको समग्र रुप हो, खण्ड रुप योग हुनै सक्दैन । अष्टाङ्ग योग, हठयोग र गीता योगको सबैको उद्देश्य हानोपाय शास्त्र (दुःख) निवारण गर्ने शास्त्र हो, मोक्ष शास्त्र हो । 

माथि गरिएको चर्चाले शरीरलाई आठ ठाउँमा बंग्याएर आसन गर्दैमा, टाउको तल खुट्टा माथि गरी उल्टो आसन बस्दैमा जटिल आसनहरु गर्दैमा, विभिन्न किसिमले श्वास तान्ने, छोड्ने, रोक्ने अभ्यास गर्दैमा र आँखा बन्द गरेर चुपचाप एकान्तमा बस्दैमा योग गरेको ठहर्ने वा नठहनेहोइन रहेछ भन्ने हुन्छ । योगलाई सर्वाङिन रुपले यसरी हेरे बुझेपछि ‘योग भनेको आत्मालाई परमात्मासँग जोड्नु हो’ भन्ने परिभाषाबाट उत्पन्न हुन सक्ने अमूर्तपना र अलमलपना वा अन्यौलबाट मुक्ती मिल्न सक्छ । किनभने लौकिक व्यवहारमा न आत्मा कहाँ छ र भन्ने देखिन्छ न परमात्मा कहाँ छ भन्ने थाहा लाग्छ । जुन कुरा प्रत्यक्ष छैन त्यसलाई कसरी जोड्ने ? यसैले योग भनेको अलौकिक जगतमा आत्मा र परमात्मासँग जोड्नु होइन कि यही जगतमा जीवनमा चित्रमा सकारात्मक प्रवृत्ति प्रदत्त मानवीय गुणहरु जोड्नु हो मन वचन र कर्मले सकारात्मक र उचित काममा जन कल्याणमा लाग्नु हो अर्थात् अष्टाङ्ग योग यम र नियमलाई इमानसाथ व्यवहारमा लागु गर्नु हो । यम र नियमलाई व्यवहारमा लागू नगरी आशन र प्राणायाम र ध्यानको कुरालाई मात्र गरेर योग कहिल्यै सिद्ध हुँदेन, चित्तको बृत्ति कहिल्यै निरुद्ध हुँदैेन । 


प्राणायामको बारेमा बुझ्नुपर्ने कुरा ः —

योगको साधनमध्ये प्राणायाम एउटा साधन मात्र हो  प्राणायाम नै सबैथोक होइन । प्राणायामको उद्देश्य श्वासको माध्यमबाट शरीरको विकार बढीभन्दा बढी निष्काशन हुनु हो । योगमा विभिन्न किसिमका प्राणायामहरुको उल्लेख भएको पाइन्छ तर योगको उद्देश्य पूरा गर्नको लागि धेरै थरी प्राणायामहरुको अभ्यास व्यवहारिक जीवनमा जरुरी छैन । प्राणायामको अभ्यास मात्र गरेर निरोगी हुन सम्भव छैन । प्राणायाम उचित विहारको अंश मात्र हो । प्रकृति प्रेमी समूहले सरल प्राणायाम ध्यानको विधि दिएको छ जसको अभ्यासबाट अधिकतम लाभ, पाश्र्व प्रभावहिन र सरल छ । अप्राकृतिक र अस्वभाविक प्राणायाम गर्नाले हानी हुने सम्भावना रहन्छ । 

ध्यान के हो त ?

अहिले ध्यानको नाममा अनेक विधि चलेका छन् र ध्यानको गहिराइमा पुगेपछि दुःखबाट मुक्ती मिल्ने वा आनन्द पाउने कुरा सबैजसो ध्यान विधिले गरेको देखिन्छ तर व्यवहारमा यो कुरा साकार भएको विरलै देख्न पाइन्छ । हरेक ध्यानमा विधिलाई निकै महत्व दिइन्छ तर ध्यानको उद्देश्य के हो भन्ने कुरामा महत्व दिइएको देखिँदैन जसले गर्दा हरेक ध्यान विधि एउटा परम्परागत कर्मकाण्ड जस्तो भएको देखिन्छ । ध्यान गर्दा विचार गर्नु हुँदैन, दिमाखलाई विचार शुन्य बनाउनु पर्छ भन्ने मान्यता चलेको छ । शरीरमा मन भएसम्म ध्यान समाधि हुन सक्दैन त्यसैले शरीरलाई मनमुक्त गर्नुपर्छ भन्ने मान्यता पनि चलेको  देखिन्छ । यी मान्यता गलत हुन् । ध्यान भनेको विचार शुन्य अवस्था होईन । शान्त र सक्रियतापूर्वक विचार गर्नु ध्यान हो । आफूबारे आफ्नो कल्याणबारे टुङ्गोमा पुग्ने गरी विचार गर्नु ध्यान हो । आफू को हो ? आफ्नो क्षमता के हो ? दुःख कहाँबाट आउँछ ? बन्धन भनेको के हो ? मोक्ष (मुक्ती) भनेको के हो ? भन्ने कुरामा टुङ्गोमा पुग्ने गरी विचार गर्नु साँचो ध्यान हो । प्रकृति प्रेमी समुहले संचालन गर्दै आएको दिशा बदले दशा सप्रिन्छ भन्ने कार्यक्रममा साँचो ध्यानको कार्यक्रम संचालन गराइन्छ । आत्म साक्षात्कार गर्ने, आफूलाई चिन्ने, दुःखबाट मुक्ती गर्ने ज्ञानको बोध गराउने कार्यक्रम गराउँदै आएको छ । 

यस प्रकार अष्टाङ्ग योगले विहार र विचारलाई उचित गराउने योगदान गर्दागर्दै पनि मानविय स्वास्थ्यको प्रमूख आधार आहारको बारेमा चर्चा त्यति नगरेको कारणले अहिले योगको नाउँमा जोगी भएर आठ ठाउँमा शरीर बङ्गाएर, उल्टोपाल्टो आसन गरेर भाङ गाजा खाएर योगासन गरेर ”योग“ गरिरहेका मान्छेहरु भेटिनु योगको नाममा विकृति नै हुन् । योगले व्यक्ति र समाजलाई व्यबहारिक रुपले माथि उठाउनु पर्छ तसर्थ योगको विकृतिबाट मुक्त हुनको लागि योगमा उचित आहार, विहार र विचारबारे चर्चा गरेर त्यसलाई व्यबहारमा उतार्ने काम हरेक योगीले गर्नुपर्छ । उचित आहार विना व्यायाम र ध्यानले मात्र मानिसको शारीरिक र मानसिक स्वास्थ्य ठिक गर्न सम्भव छैन, दुःख मुत्तिको लागि संभव छैन । त्यसैले योगलाई आसन र प्राणायामको रुपमा मात्र नबुभी उचित आहार विहार र विचारको संयोजन हो भनी बुझ्नु पर्छ ।

उचित आहार  कस्तो हुनुपर्छ ?

हामीले खाने आहार सुपाच्य, रेशादार, छोका्रबोक्रा सहितको प्राकृतिक आहार हुनुपर्छ । जसमा हरिया ताजा तरकारी, फलफुल अंकुरित अंन्न सहितको शाकाहारी आहार नै मानवको उचित आहार हो । यो कुरा मानिसले आफ्नो शरीरलाई मापदण्ड बनाएर के खाँदा शरीलाई ठिक र के खाँदा शरीरलाई बेठिक भन्ने कुरा बुझ्न सक्छ । प्रेमी समुह निरोगधामले ३ बराबर आहार को प्रस्तुत गरेको छ । 

३ बराबर आहार के हो ?

– एक दलिय अन्न एक भाग (३३%)

– हरियो तरकारी एक भाग (३३%)

– काँचो सलाद फलफुल एक भाग(३३%)

यदि मोटो मान्छे भए तौल घटाउने हिसाबले चार बराबर ( अन्न एक भाग,हरियो तरकारी दुई भाग र सलाद एक भाग ) लिनु पर्छ भने मोटो नभए तौल कायम राख्ने हिसाबले मात्रा निर्धारण गर्नुपर्छ । यदि मोटोपना र जीर्ण दीर्ध रोग छ भने माछा,मासु,अण्डा र दुग्धपदार्थ बन्द नै गर्नु पर्छ । मोक्षको लागि आहार विहार बिचार सम्बन्धी सत्य ज्ञान हुनुपर्छ । आहार विहार विचार सम्बन्धी सत्य ज्ञानयोग भएपछि त्यसमा अटल रहेर भक्ती योग गर्दै आहार विहार र विचारलाई  कर्ममा उतार्नु पर्छ । त्यस अवस्थामा मात्र मोक्ष सिद्ध हुन्छ, निरोग आनन्दको अवस्था कायम हुन्छ ।

सांभार (पुस्तक निरोग आनन्दको रहस्य)



तपाइको प्रतिक्रिया दिनुहोस्