‘ट्रान्सफ्याट नभएको तेल–घिउ प्रयोग गरौं, हृदयघात हुनबाट बचौं’

डा. प्रेम राज बैद्य, सिनियर काडियो—भास्कुलर सर्जन, सुमेरु अस्पताल, धापाखेल

नेपालमा प्रयोग हुने तेलका कारण हृदयघात, मस्तिष्कघातको समस्या धेरै देखिन्छ र कतिपयको मृत्यु नै हुने गर्छ । नेपालीहरुले प्रयोग गर्ने तेलकै कारण अस्पताल र क्लिनिकहरुमा मुटुसम्बन्धी समस्या लिएर आउने बिरामीहरुको संख्या हरेक वर्ष ह्वात्तै बढ्ने गरेको चिकित्सकहरुको अनुभव छ । यसको मुख्य कारण मानिसहरुले दैनिक उपभोग गरिने चिल्लोयुक्त खाना र मदिराको अधिक प्रयोग तथा व्यायामको कमी मानिदै आएकोमा हालै आएर चिल्लोयुक्त खानामा पनि ट्रान्सफ्याटयुक्त खानाको अधिक उपभोगले हृदयघात र मस्तिष्कघात बढी हुने गरेको तथ्य बाहिर आएको छ । यसै कारण खानाहरु ट्रान्सफ्याटरहित हुनुपर्ने भनेर नेपालमा पनि अभियान शुरु भइसकेको छ । विश्व स्वास्थ्य संघको पहलमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, स्वास्थ्य मन्त्रालय आदि निकायहरुले अभियानको शुरुवात गरेका हुन् ।

नयाँ अध्ययनअनुसार ट्रान्सफ्याटयुक्त खानाको प्रयोगका कारण विश्वमा बर्सेनि ५ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । विश्वबजारमा उपलब्ध गराइने खाद्यवस्तुलाई कारखानामा उत्पादन गरिएको ट्रान्सफ्याटमुक्त बनाई त्यसमा स्वस्थकर तेल उपलब्ध गराउन सकिएमा प्रतिवर्ष ५ लाख मानिसको जीवन बचाउन सकिने तथ्य अघि सार्दै विश्व स्वास्थ्य संघले सन् २०२३ सम्ममा विश्वबजारमा उपलब्ध गराइने खाद्यवस्तुलाई औद्योगिक रुपमा उत्पादन गरिएको ट्रान्सफ्याटमुक्त गर्ने लक्ष्य नै तय गरेको छ । संघका अनुसार औद्योगिक रुपमा उत्पादन गरिएको ट्रान्सफ्याटको एउटा उदाहरण बोतल बन्द तेल हो, जुन हामी मध्ये धेरैले सहजरुपमा प्रयोग गरिरहेका छौँ र अत्यन्त हानिकारक छ । नेपालमा पनि ट्रान्सफ्याट उन्मूलन गर्न नीति–नियम बनाउन नेपाल हृदयरोग निवारण प्रतिष्ठानले अघि बढाएको प्रोजेक्टका निर्देशक एवं सुमेरु अस्पतालमा कार्यरत वरिष्ठ कार्डियो भास्कुलर सर्जन डा. प्रेमराज वैद्यसँग गरेको कुराकानी ः 

ट्रान्सफ्याट भनेको के हो ?

‘ट्रान्सफ्याटलाई खराब खालको चिल्लोको रुपमा लिइन्छ । यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भनिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ । प्राकृतिक ट्रान्सफ्याट र कृत्रिम ट्रान्सफ्याट । प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट थोरै मात्रामा हुने भएकाले ठिक्क प्रयोग गर्दा हानि हुँदैन । कृत्रिम ट्रान्सफ्याट हाइड्रोजन र वनस्पति तेलको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानि पु¥याउँछ । यो कोठाको सामान्य तापक्रममा जम्ने गर्छ ।

फ्याट अर्थात् फ्याटी एसिड दुई किसिमका हुन्छन्– स्याचुरेटेड र अनस्याचुरेटेड । तेललाई जति धेरै तताइन्छ स्याचुरेटेड फ्याट त्यति धेरै वृद्धि हुँदै जान्छ । घिउ, बोसोमा भने नतताईकन नै थोरै मात्रामा स्याचुरेटेड फ्याट हुन्छ । अहिले अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुने कुरा पत्ता लागेको छ । एउटा पोली अनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनो अनस्याचुरेटेड फ्याटी एसिड । मोनो अनस्याचुरेटेड पनि दुई किसिमको हुने गर्छ । एउटा ट्रान्सफ्याट र अर्को सिस फ्याट । यसमध्ये पनि ट्रान्सफ्याट धेरै हानिकारक छ । ट्रान्सफ्याट मिसिएका खाना खाँदा त्यसले मानिसको मुटु, रक्तनली र मस्तिष्कमा गम्भीर असर पु¥याउने गरेको र यसले मानिसको मृत्युदर बढाउन थालेको अनुसन्धानबाट पाइएकोले ट्रान्सफ्याटलाई प्रतिबन्ध लगाउने अभियान विश्वभर शुरु गरिएको हो ।

पहिला हामी अनस्याचुरेटेड फ्याट वा तेलहरुलाई राम्रो भन्थ्यौँ । यही तेलहरुमध्ये नै एक किसिमको तेल (वनस्पति तेल) मा ट्रान्सफ्याट धेरै हुन्छ । वनस्पति तेल (तोरी, सूर्यमुखी, भट्मास, मकै आदि) मा हाइड्रोजन ग्यास मिसाएर हाड्रोजेनेसन (Hydrogenation) गरेपछि तेल अलि बाक्लो हुन्छ । अझ धेरै हाइड्रोजन मिसाएपछि तेल जम्छ, जसलाई वनस्पति घिउ (डाल्डा) भन्ने गरिन्छ । यो घिउ निकै खराब हुन्छ । त्यसमा ट्रान्सफ्याट धेरै हुन्छ । वनस्पति घिउमा ३५ देखि ४५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । यो भनेको मानव स्वास्थ्यका लागि निकै खराब हो । यसले स्वास्थ्यमा प्रत्यक्ष हानि पु¥याउँछ । यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपात निकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ ।

ट्रान्सफ्याट धेरै भएको खानेकुरा खाएपछि यसले मानिसको शरीरमा कोलेस्ट्रोलको सन्तुलनमा गडबडी ल्याउँछ । फाइदा गर्ने कोलेस्ट्रोल (HDL) घटाउँछ र खराब गर्ने कोलेस्ट्रोल (LDH) चाहिँ बढाउँछ । अहिलेसम्म पत्ता लागेअनुसार वृद्धि भएको यही कोलेस्ट्रोल जमेर धमनीमा अवरोध गर्छ र हृदयघात हुन्छ । धमनीमा अवरोध भएपछि रक्तचाप पनि बढ्छ, जसका कारण स्ट्रोक (मस्तिष्क घात) पनि हुन सक्छ र हृदयघात पनि हुन सक्छ ।

ट्रान्सफ्याटयुक्त तेल खानै नहुनेचाहिँ होइन, पूरा तेलको २ प्रतिशतभन्दा कम ट्रान्सफ्याट भएको तेल खाँदा हुन्छ । कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने भएकोले यो स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । त्यसकारण यस्ता तेल–घिउमा बनाइएका मिठाई, सेल, माल्पुवा, ग्वारमरी, पुरी, जेरी, स्वारी, हलुवालगायत अन्य तयारी जंक फूडहरु नखानु नै राम्रो हो ।

कम उमेरमै हृदय घात बढ्नुको कारण के हो ?

अहिले नेपालमा पनि ४० वर्षभन्दा कम उमेरका मानिसको हृदयघातबाट मृत्यु भएको खबर दैनिक आइरहेको देखिन्छ । ४० वर्ष नाघेपछि हृदयघातको खतरा प्रायः सबैमा हुन्छ । उमेरकै कारणले बढ्दै जाने यो खतरा रोक्न सकिन्न । पुरुषलाई यो खतरा बढी हुन्छ । महिलामा महिनावारी नरोकिएसम्म यस्तो खतरा कम हुन्छ । त्यसपछि पुरुषलाई जति नै हुन्छ । वंशाणुगत खतरा पनि हुन्छ नै । यसलाई रोक्न सकिन्न । तर ट्रान्सफ्याटको कारण हुने हृदयघातलाई रोक्न सकिन्छ । खराब कोलेस्ट्रोल वृद्धि गर्ने र राम्रो कोलेस्ट्रोल घटाउने यो ट्रान्सफ्याटलाई नियन्त्रणमा राख्नुपर्छ । मानिसलाई कोलेस्ट्रोल नभई पनि नहुने वस्तु हो । हामीलाई फाइदा गर्ने कोलेस्ट्रोल शरीरमा धेरै हुनुपर्छ र हानि गर्ने कोलेस्ट्रोल कम हुनुपर्छ । शरीरमा बन्ने सबै हर्मोनहरु कोलेस्ट्रोलकै कारण बन्ने हुन्छ । घामको किरण मानिसको छालामा परेपछि त्यही कोलेस्ट्रोलबाट भिटामिन ‘डी’ बन्ने गर्छ । यदि हाम्रो शरीरमा लो डेन्सिटीको (LDH) कोलेस्ट्रोल धेरै भयो भने धमनीहरुमा भित्रतिर जम्छ र क्षति पु¥याउँछ । यसैका कारणले कम उमेरकाहरुमा हृदयघात, मस्तिष्कघात हुन जान्छ ।

हृदयघात ४० वर्ष नाघेका मानिसहरुलाई मात्र हुन्छ भन्ने परम्परागत धारणालाई विश्व स्वास्थ्य संघलगायत मुटुसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरुले मान्दै आएकोमा ४० वर्षभन्दा कम उमेरका युवाहरुमा पनि हृदयघात हुने क्रम बढेपछि विभिन्न अनुसन्धानहरु शुरु भए । त्यसमध्ये एउटा अनुसन्धानमा चिल्लो पदार्थमा पाइने ट्रान्सफ्याटको कारण कम उमेरका मानिसमा पनि हृदयघात र मस्तिष्कघात वृद्धि हुन थालेको तथ्य सन् २००१ मा सार्वजनिक भयो । तर यसलाई डेनमार्कबाहेक संसारका कुनै पनि मुलुकले पत्याएनन् । विश्व स्वास्थ्य संघले पनि महत्व दिएन । यस समयमा विश्वबजारमा मानव निर्मित ट्रान्सफ्याटयुक्त वनस्पति घिउ (डाल्डा घिउ) र तेल तथा यस्ता घिउ–तेल प्रयोग गरिएका तयारी खाना (जंक फूड) छ्यापछ्याप्ती भएका थिए । यस्ता जंक फूड खानुलाई आधुनिकतासँग जोडेर हेर्ने गरिन्थ्यो । जंक फूड धेरै उत्पादन गर्न थालिएको र उपभोक्ता आफैँले पनि अधिक मात्रामा प्रयोग गर्न थालेकाले कारखानामा उत्पादित ट्रान्सफ्याटयुक्त यस्ता तेल–घिउमा प्रतिबन्ध लगाउने कुरालाई कसैले महत्व दिएको थिएन । तर डेनमार्कले भने यस कुरालाई गम्भीररुपमा लियो र ट्रान्सफ्याटयुक्त तेल–घिउ उत्पादन एवं प्रयोगमा प्रतिबन्ध लगायो । ट्रान्सफ्याटयुक्त तेल उत्पादन गर्ने सबै कारखाना बन्द ग¥यो । लगातार १० वर्ष प्रतिबन्ध लगाएपछि यसबारेमा विस्तृत अध्ययन भयो । त्यो अध्ययनअनुसार सन् २००१ अघि ४० वर्षभन्दा कम उमेरका युवाहरु हृदयघात भएर जति संख्यामा मर्थे त्यसमा ७५ प्रतिशतले कमी भएको पाइयो । डेनमार्कले यो प्रतिवेदन विश्व स्वास्थ्य संघमा पनि बुझायो । त्यसपछि चाहिँ विश्व स्वास्थ्य संघले यसलाई गम्भीररुपमा लियो । विश्व स्वास्थ्य संघले सन् २०११ तिरबाट ट्रान्सफ्याटयुक्त तेल उत्पादनमा प्रतिबन्ध लगाउने विषयमा संसारभर अभियान चलाउनुपर्छ भनेर बहस अघि बढायो । त्यस बेलासम्म आमजनता मात्र होइन, अधिकांश चिकित्सकले नै ट्रान्सफ्याटको गम्भीर हानिबारे बुझेकै थिएनन् । त्यसैले यो विषयमा बुझाउनका लागि विश्व स्वास्थ्य संघले अभियान शुरु ग¥यो । हाल अमेरिका तथा युरोपका ४० भन्दा बढी मुलुकले ट्रान्सफ्याटलाई २ प्रतिशतभन्दा कम मात्र प्रयोग गर्न पाउने गरी र पार्टसियली हाइड्रोजेनेटेड आयल (PHO) लाई प्रतिबन्ध नै लगाइसकेका छन् । तर विकासोन्मुख देशहरुमा यसले त्यति महत्व पाउन सकेन । यस कुरालाई समेत मध्यनजरमा राखी सन् २०१८ मा विश्व स्वास्थ्य संघले सन् २०२३ सम्ममा विश्वबजारमा उपलब्ध गराइने खानाहरु कारखानामा उत्पादित ट्रान्सफ्याटयुक्त तेलरहित बनाउने विस्तृत योजना सार्वजनिक ग¥यो । यस्तो ट्रान्सफ्याटयुक्त तेलको विकल्पमा अरु नै सुरक्षित तेल प्रयोग गराउने उद्देश्य राखी विश्व स्वास्थ्य संघले यसका लागि ६ वटा रणनीतिक कार्यहरु (REPLACE Trans fat) पनि तय गरी कार्यक्रम अघि बढायो ।

यसै सन्दर्भमा विश्व स्वास्थ्य संघको भाइटल स्ट्राटेजी नामक संस्थाले नेपालमा पनि यस किसिमको अभियान शुरु गर्न नेपाल हृदयरोग निवारण प्रतिष्ठानलाई १० हजार डलर उपलब्ध गराएको छ । ट्रान्सफ्याटसम्बन्धी नीति–नियम बनाउन पैरवी गर्नका लागि यो सहयोग उपलब्ध गराएको हो । प्रतिष्ठानले यससम्बन्धी कार्य गर्नका लागि एउटा टिम नै बनाएर ट्रान्सफ्याट इलिमिनेसन पोलिसी प्रोजेक्ट अघि बढाएको छ । यससम्बन्धी नीति–नियम स्वास्थ्य मन्त्रालयमार्फत बनाउने भए पनि यससँग सम्बन्धित व्यक्ति र पक्षहरुसँग समन्वय गरी ट्रान्सफ्याटसम्बन्धी जानकारी दिन यो प्रोजेक्टले काम आरम्भ गरिसकेको छ । यसको मुख्य लक्ष्य भनेको २ प्रतिशतभन्दा बढी ट्रान्सफ्याट मिसिएका तेल–घिउको उत्पादन, खरिद–बिक्रीमा प्रतिबन्ध लगाउनका लागि नियम बनाउन पहल गर्ने हो । किनभने नेपालमा अहिलेसम्म यससम्बन्धी कुनै किसिमको नीति–नियम बनेको छैन । यसै सिलसिलामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले फुटपाथदेखि फाइभ स्टार होटलमा तयार गरिने १ सय ९० वटा खाद्य परिकारको छनौट गरी परीक्षण गर्दै छ । उपभोक्ताले बढी प्रयोग गर्ने कुन–कुन खाद्य परिकारहरुमा ट्रान्सफ्याट धेरै छ भन्ने पत्ता लगाउने यसको उद्देश्य रहेको छ । २ प्रतिशतभन्दा बढी ट्रान्सफ्याट भएका खाद्यवस्तु प्रतिबन्ध नै लगाउने लक्ष्यका साथ यो अनुसन्धान गरिँदै छ ।

जंक फूडमा किन धेरै ट्रान्सफ्याट प्रयोग गरिन्छ ?

हाइड्रोजन मिश्रित ट्रान्सफ्याटयुक्त तेल हतपत नबिग्रिने भएकोले खाना बनाउन प्रयोग गर्दा खाना छिट्टै बिग्रिँदैन । लामो समय सुरक्षितरुपमा राख्न सकिन्छ । त्यस कारण धेरै रेस्टुराँहरु, फुटपाथे खाद्य पसल, पार्टी प्यालेस, होटलहरुले हाइड्रोजन मिश्रित तेल राखेर परिकारहरु तयार गर्छन् । यस्तै गरी तयारी खानाहरु जस्तो– बिस्कुट, कुकिज, केक, पप, दुनोट, बिस्कुट, रोलहरु, दालमोठ, चाउचाउ, आलुचिप्स, चिजबल, फ्रेन्च फ्राई, बर्गर, चाउमिन, माइक्रोओभनमा बनाइएको पपकर्न, फ्रोजन, पिजालगायत तारेका अन्य भेज परिकारहरु, तारेको चिकेन–मटन, कफीमा राखिने तयारी क्रिम आदिमा पनि प्रशस्त मात्रामा ट्रान्सफ्याटयुक्त तेल राखिएको हुन्छ । यस्ता खाना खानै नहुनेचाहिँ होइन, अलि–अलि खान हुन्छ, तर हाइड्रोजेनेसन नगरिएको शुद्ध एवं प्राकृतिक तेलमा पकाइएको हुनुपर्छ । जस्तो– शुद्ध तथा राम्रो तेलमा बनाइएका यस्ता खानामा ट्रान्सफ्याटको मात्रा धेरै कम हुन्छ । तर हाइड्रोजेनसन गरेको तेल वा डाल्डा घिउमा पकाएको खानामा ट्रान्सफ्याट धेरै हुन्छ । त्यसैले घरैमा शुद्ध तेलमा बनाइएको खाना खानु उपयुक्त हुन्छ । हाइड्रोजन मिसाएर बनाइएको वनस्पति तेल वा घिउ सस्तो हुनुका साथै परिकार पनि स्वादिष्ट हुन्छ । यस्तो परिकार दीर्घकालसम्म सुरक्षित राख्न पनि सकिन्छ । मुख्य यी तीनवटा कारणले गर्दा तयारी खाना अर्थात् जंक फूड र होटल–रेस्टुराँमा बनाइने खानामा हाइड्रोजेनेसन गरेको वनस्पति तेल–घिउको प्रयोग धेरै गरिन्छ । हाल काठमाडौंलगायत हाम्रा बजारका मिठाई पसलहरुमा अधिकांशले मिठाई बनाउन ट्रान्सफ्याटयुक्त वनस्पति घिउ–तेल नै प्रयोग गर्छन् । यसले गर्दा नेपालमा वनस्पति तेल–घिउको बजार ठूलो छ ।

कुन तेलचाहिँ उपयुक्त हो त ?

आफूले खाने खानामा डाल्डा घिउ बिल्कुलै प्रयोग गर्नुहुँदैन । त्यस्तो घिउ प्रयोग भएका परिकार नखानु नै बेस हो । हाइड्रोजेनेसन नगरिएको शुद्ध वनस्पति तेल प्रयोग गर्नुपर्छ । घरमै बनाएको भए धेरै राम्रो । बजारमा किनेको बाक्लो प्रकारको तेल प्रयोग गर्नुहुँदैन । नेपाली कारखानामा उत्पादित तेलको भाँडो वा खोलमा हाइड्रोजेनेसनसम्बन्धी जानकारी भएको लेबल राख्ने चलन छैन । हामीले यस्तो लेख्न लगाउन बाध्य पार्न अभियान थालनी गर्नैपर्छ । उपभोक्ताले पनि त्यस्तो तेल खानु भएन । विदेशमा बनेको तेलको खोलमा यससम्बन्धी जानकारी भएको लेबल टाँसेको हुन्छ । यस्तो लेबलमा पार्टसियली हाइड्रोजेनेरेटेड आयल (PHO) भनेर लेखिएको हुन्छ । हाल विदेशबाट आइरहेको सूर्यमुखी तेल, भटमासको तेल, तोरीको तेल, मकैको तेल आदिमा कुनै न कुनै मात्रामा हाइड्रोजन मिश्रण भएको हुन्छ भने कुनैमा मिश्रण भएको हुँदैन । लेबल हेरेर छुट्याई हाइड्रोजन मिश्रण नभएको मात्र किन्नुपर्छ । हाइड्रोजेनेरेसन नगरेको शुद्ध तेल पनि एकपटक मात्र तताएर प्रयोग गर्दा मात्र सुरक्षित हुन्छ । पटक–पटक तताएर प्रयोग गर्नुहुँदैन । तेल धेरै डढाएर खाना पकाउँदा पनि ट्रान्सफ्याट वृद्धि हुन्छ । तेल जतिपटक ततायो त्यति नै त्यो तेल ट्रान्सफ्याटमा परिवर्तन हुँदै जान्छ । तोरीको तेल ठिक्क ततायो भने केही हुन्न तर पटक–पटक तताएर प्रयोग गर्दै जाँदा भने त्यसमा ट्रान्सफ्याट वृद्धि हुँदै जान्छ । अन्य तेलहरु पनि दोहो¥याएर प्रयोग गर्नुहुँदैन । यस्तो तेल प्रयोग गरेको तयारी खाना पनि खानुहुँदैन । सडकपेटी तथा फूटपाथहरुमा बसेर बनाइने डीप फ्राइ खानाहरुमा तेलको पुनः प्रयोग गरिएको हुन्छ । यस्तो खाना नखानु नै उत्तम हुन्छ । भारतमा फाइभ स्टार होटलमा एकपटक खाना फ्राइ गर्न प्रयोग गरिसकेको तेल प्याक गरेर बेच्ने गरेको भिडियो सार्वजनिक भएको छ । यस्तो नेपालमा पनि भएको हुन नसक्ने होइन ।

नेपालमा हालसम्म ट्रान्सफ्याट नाप्ने वा परीक्षण गर्ने चलन नै छैन, यद्यपि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा भएको प्रयोगशालामा स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य संघको पहलमा चाँडै नै ट्रान्सफ्याट परीक्षण गर्न शुरु गरिने भएको छ । साथै पाकेट बन्द खानेकुरा र तेलमा लेबलिङ गर्ने विषयमा पनि पहल भएको छ । भारतलगायत कतिपय विकसित मुलकमा तेलमा र पाकेट बन्द खाद्यपदार्थमा लेबलिङ गर्ने चलन छ । कुनै–कुनै कम्पनीले ट्रान्सफ्याट जिरो ग्राम भनेर लेखेको हुन्छ । तलचाहिँ हाइड्रोजेनेटेड आयल भनेर लेखेको हुन्छ, जुन एकदमै गलत हो । हाइड्रोजेनेसन गरेको तेलमा ट्रान्सफ्याट शतप्रतिशत हुन्छ । भारतमा यसलाई कडाइ गरिदै छ ।

चिल्लो खाँदा सावधानी

अहिले धेरै डाक्टरहरुले भन्न थालेका छन्, ‘बरु घिउ एक चम्चा खानुस् तर ट्रान्सफ्याट भएको तेल नखानुस् ।’ एक चम्चा घिउ खाँदा बेफाइदा छैन, त्यो घिउ खाएजति व्यायामचाहिँ गर्नुपर्छ । तर घिउ खाएर हिँडडुल गर्दैन, व्यायाम गर्दैन भने त्यो अलिकता चिल्लो पनि हाम्रो शरीरमा जम्दै जान्छ । दैनिक १० हजार पाइला हिँड्नुहुन्छ भने दैनिक एक चम्चा घिउ खाँदा हुन्छ । यस्तै बोसो पनि खानै नहुने वस्तु होइन, तर धेरै खानुहुँदैन । यसमा पनि माछाको बोसो वा तेल शरीरका लागि धेरै राम्रो हुन्छ । माछाको बोसोमा ओमेगा ३ हुन्छ, जुन शरीरका लागि लाभदायक छ । यसले शरीरलाई फाइदा गर्ने कोलेस्ट्रोल (HDL) बढाउँछ र खराब कोलेस्ट्रोल (LDL) बढ्न दिँदैन । ओलिभ आयल, एभोकाडो आयल पनि स्वास्थ्यका लागि धेरै नै राम्रो छ । एभोकाडो नै खाँदा झन् फाइदा हुन्छ । यसमा ट्रान्सफ्याट एकदमै कम छ, फाइदा गर्ने फ्याट धेरै छ । चिल्लो नपच्ने, मुटुरोग भएका मानिसले चिल्लो आपूर्तिका लागि मदिसे बदाम, ओखर, एभोकाडो, माछा खान सकिन्छ । तेल खाँदै नखाए पनि मरिँदैन । किनभने प्रायः सबै प्रकारका खानेकुरामा केही न केही मात्रामा तेल हुन्छ । शरीरमा तोरीको तेल, नरिवलको तेल आदिले मालिस गरे पनि भिटामिन ‘ए’, ‘डी’, ‘ई’ पूरा हुन्छ । यो हाम्रो परम्परागत चलन पनि हो । जसको लिभर खराब छ वा पित्तथैली निकालेको छ, उनीहरुले तेल खाँदा पच्दैन । त्यसैले चिल्लो भएको खाना सकेसम्म खानुहुँदैन र खाए पनि न्यून मात्रामा मात्र । यस्ता मानिसले व्यायाम गरेर पनि चिल्लो पचाउन सक्तैनन् । भोजमा जाँदा स्न्याक्सहरु नखाई सीधै खाना खानु राम्रो हो । डीप फ्राइ गरेको खानामा ट्रान्सफ्याट एकदमै धेरै हुन्छ । यस्तो तेल भएका खानाले खराब कोलेस्ट्रोल एकदमै बढाउँछ । चाउचाउको पाकेटमा राखिएको वनस्पति तेलमा पनि ट्रान्सफ्याट धेरै रहेको हुन्छ । ट्रान्सफ्याटले कोलेस्ट्रोलमा तुरुन्तै समस्या ल्याउने होइन, ट्रान्सफ्याट खाएको लामो समयपछि असर देखिन्छ । अहिले स्कुले उमेरका केटाकेटीलाई जंक फूड खुवाउने गरिन्छ । धेरै जंक फूड खाने बालबालिकाहरुमा युवा अवस्थमै समस्या भई हृदयघात हुन सक्छ र कतिपयको मृत्यु नै हुन्छ । त्यसकारण पनि अहिले ट्रान्सफ्याटको विकल्प खोज्ने र यसलाई निषेध गर्ने अभियान शुरु गरिएको हो । ट्रान्सफ्याटले ४० वर्ष कम उमेरकालाई मात्र होइन, सो भन्दा बढी उमेरका लाई अझ बढी नकारात्मक असर गर्छ । वास्तवमा भन्ने हो भने, हृदयघात हुने सबै कारण पूर्णरुपमा थाहा पाइएको छैन । अहिले ट्रान्सफ्याटको कारणले पनि हृदयघात हुने कुरा पत्ता लागेकोले ट्रान्सफ्याट नियन्त्रण गर्न सकियो भने हृदयघातका कारण हुने मृत्युलाई धेरै हदसम्म कम गर्न सकिन्छ । त्यसैले ट्रान्सफ्याटको अर्को विकल्प दिनुपर्छ भनेर विश्व स्वास्थ्य संघले ‘रिप्लेस ट्रान्सफ्याट’ अभियान शुरु गरेको हो । हामी पनि आजैदेखि ट्रान्सफ्याट नभएको तेल–घिउ प्रयोग गरौँ ।’ 



तपाइको प्रतिक्रिया दिनुहोस्