हिमालयन र सशस्त्र प्रहरी बल तथा मनाङ र सातदोबाटोले प्रतिस्पर्धा गर्दै

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र कोभिड–१९ को ‘आतंक’ फैलिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल एपीएफ तथा दोस्रो खेलमा मनाङ–मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबले प्रतिस्पर्धा गर्दै छन् ।

लिगको नवौँ चरणसम्म आइपुग्दा एपीएफ ७ अंकका साथ दशौँ स्थानमा छ । त्यो रेलिगेसन क्षेत्रको च्यासल युथ क्लबभन्दा दुई अंकले मात्र माथि हो । हिमालयन शेर्पा भने ११ अंकका साथ छैटौँ स्थानमा छ । एपीएफ आगामी खेल जित्दै रेलिगेसनको खतरा टार्ने लक्ष्यमा छ ।

‘‘हामी रेलिगेसन क्षेत्रमा नभएको मात्र हो । तर, त्यो खतरा टरिसकेको छैन । त्यसकारण हामी शुक्रबार तीन अंक लिँदै रेलिगेसनको खतरा टार्ने पक्षमा छौँ । त्यहीअनुसार तयारी गरेका छौँ,’’ एपीएफका सहायक प्रशिक्षक रत्नकाजी महर्जनले भने, ‘‘पछिल्लो खेलमा हामीले बल पोजिसनमा राख्न सकेका थिएनौँ । पाएको अवसर सदुपयोग गर्न पनि चुक्यौँ । त्यसलाई मध्यनजर गरेर हामीले प्रशिक्षण गरेका छौँ ।’’

अघिल्लो खेलमा एपीएफले जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो । हिमालयन शेर्पा भने अघिल्लो खेलमा थ्री स्टार क्लबसँग २–० ले पराजित भएको थियो । हिमालयन शेर्पाका खेलाडी बिरामी भएका कारण समस्या भएको प्रशिक्षक युगलकिशोर राईले बताएका थिए । उनले खेलाडीमा रुघाखोकी र ज्वरो आउने समस्या भएको बताएका थिए । थ्री स्टारसँगको खेलपछि उनले भनेका थिए, ‘‘कोभिड–१९ हुन पनि सक्छ । परिक्षण गरेका छैनौँ ।’’

आजै दोस्रो खेलमा मनाङले नवप्रवेशी सातदोबाटो युथविरुद्ध खेल्नेछ । मनाङ १९ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा छ । त्यो शीर्ष स्थानको मच्छिन्द्र क्लबभन्दा एक अंकले पछाडि हो ।

मनाङ आज सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । मनाङका प्रशिक्षक तोपे फुजा भन्छन्, ‘‘सातदोबाटो नयाँ क्लब हो । खेलाडीहरू नयाँ छन् । तर, उनीहरूलाई हामीले कमजोर मानेका छैनौँ । पक्कै पनि हामी तीन अंक लिएर शीर्ष स्थानमा उक्लिन खेल्नेछौँ ।’’

सातदोबाटो यसै सिजन ‘बी’ डिभिजनबाट माथि उक्लिएको क्लब हो । सुरुमा राम्रो प्रदर्शन गरे पनि सातदोबाटो पछिल्लो खेलमा कमजोर देखिएको छ । यद्यपि, सातदोबाटोले अघिल्लो खेलमा तेस्रो स्थानमा रहन सफल संकटा क्लबलाई १–१ को बराबरीमा रोकेको थियो ।

मातृशोकका कारण सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसी टिमको प्रशिक्षण तथा टचलाइनमा उपलब्ध थिएनन् । तर, सहायक प्रशिक्षक सुरज महर्जनले आजको खेलमा मुख्य प्रशिक्षक केसी टचलाइनमा फर्किने विश्वास व्यक्त गरेका छन् ।

‘‘उहाँको काम सकिएको छ । सम्भवतः उहाँ शुक्रबारको खेलमा आउनुहुन्छ,’’ मुख्य प्रशिक्षक केसीबारे सहायक प्रशिक्षक महर्जनले भने, ‘‘पछिल्ला खेलमा मनाङले राम्रो नतिजा निकालेको छ । उनीहरूको मनोबल उच्च छ । पहिलोपटक मनाङविरुद्ध खेल्दै छौँ । हामी मनाङको आक्रमणपंक्ति र सेट पिसलाई रोक्न तयार छौँ । त्यहीअनुसार प्रशिक्षण गरेका छौँ । र, नतिजा निकाल्नेमा विश्वस्त छौँ ।’’ सातदोबाटो ९ अंक जोडेर आठौँ स्थानमा छ । सातदोबाटोका फरवार्ड सुशील राई आजको खेलमा हुने छैनन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्