तपाईँ सधैको लागि सक्षम हुनुहुनेछ ः दार्शनिक सुकरात

2.2k Shares

हरिराम महर्जन ‘ठेचो’

हरेक मानव भ्रमबाट मुक्त हुनसक्छ, सम्भव छ, हुन्छ पनि । भ्रमबाट मुक्त हुन प्रारम्भमा आफू भ्रममा छु भन्ने कुरा बुझ्नुुपर्छ । त्यसपछि दृढ इच्छाशक्ति र संकल्प सहितको प्रयास हुनु जरुरी छ । यसै प्रयासबाट सिद्धार्थ गौतम बुद्ध हुनुभयो, वर्तमानबाट महावीर बन्नुभयो । भ्रमबाट मुक्त हुनु नै रूपान्तरण हो । अँध्यारोबाट उज्यालोमा, अचेतनाबाट चेतनामा, निन्द्राबाट जागृतमा फेरिनु रूपान्तरण हो । सम्पूर्ण ज्ञानेन्द्रियको प्रभावबाट मुक्त हुनु रूपान्तरण हो । मन र मनमा उत्पन्न हुने संवेदना, आवेगहरूलाई आफ्नो वशमा राख्न सफल हुनु अथवा समग्रमा आफ्नो मालिक आफै बन्नु रूपान्तरण हो । सैनिक रत्नाकर, डाकु रत्नाकर हुँदै स्वामी बाल्मिकी हुनु, अंगुलिमाल अहिंसक भिक्षु बन्नु, कालिदास महाकवि कालिदास बन्नु त्यस्तै तुलसीराम तुलसीदास बन्नु, वेश्या आम्रपाली भिक्षुणी बन्नु सबै भ्रमयुक्त अचेतनाबाट भ्रममुक्त चेतनामा रूपान्तरण भएका महान व्यक्तित्वहरू हुन् । यी महापुरुषहरूको उपान्तरणले के बुझिन्छ भने वास्तवमा भ्रमबाट मुक्त हुन सम्भव छ र अर्को विकल्प छैन । 

इन्द्रियको प्रभावमा बर्हिमुखी भ्रममा बाँच्नेहरू सुखको आशामा दुःख गर्छन् । उनीहरू दुःख गर्दागर्दै दुःखमै अन्त हुन्छन्, इच्छा र आशक्तिको जीवन बाँच्छन्, काम, क्रोध, लोभ, मोह र अहंकारको दास बन्छन् । यिनै संवेदनाहरूको सारथीमा रथरूपी जीवनको भ्रमपूर्ण यात्रा शुरु गर्छन् र जीवनको दुःखद अन्त हुन्छ । तसर्थ भ्रममुक्त चेतनाको जागृत रूप नै दुःख निवारण हो । तपाईँ पनि बुद्ध बन्न सम्भव छ, महावीर बन्न पनि सम्भव छ, कृष्ण, राम सब सम्भव छ । सबै मानवको जन्म सबै सम्भावनासँगै भएका हुन्छन् । कुनै मानवको जन्म फरक किसिमको छैन, हुँदैन पनि । बुद्धको जन्म पनि आम मानवको जस्तै हो त्यसैले बुद्धको खोजी गर्ने होइन आफै बुद्ध बन्ने हो । ‘जो मन, वचन र कर्म (शरीर)ले पवित्र छ, त्यही बुद्ध हो’ । बुद्ध निर्वाण हो, मोक्ष हो, बुद्ध वर्तमान हो, स्थिर हो, बुद्ध दीप हो, मालिक हो । आफ्नो जीवनको मालिक आफै बन्ने हो । हिरा खोज्ने होइन, आफै हिरा बन्ने हो ।

बुद्धकालिन नगरवधु आम्रपालीको प्रसङगको चर्चा गरौँ । गौतम बुद्धको समयमा भारतको वैशाली नगरमा एकजना आम्रपाली नामकी सुन्दरी बस्थिन् । तिनको सुन्दरतामा नलोभिने कोही पनि थिएन् । उनको आकर्षक शरीरका कारण जोकोही पनि मोहित हुन्थे । आम्रपालीको जतिजति उमेर बढ्दै गयो, उनको सुन्दरतामा मोहित हुनेहरू बढ्दै गए । त्यहाँ भएका मानिसमा जोकोही पनि एकपटक आम्रपालीलाई देखेपछि एकोहोरो हेरिरहन्थे । वैशाली नगरमा कोही पनि युवा पुरुष आम्रपालीलाई त्याग्न चाहेनन् । नगरवासी पुरुषहरू आम्रपालीलाई पाउनको लागि जुनसुकै हदसम्म जान पनि तयार हुन थाले । वैशाली नगरमा ठूलै समस्या आउने सम्भावना देखे पछि अम्रपालीका मातापिता निकै चिन्तित हुनथाले । उनका मातापिता आम्रपालीलाई कसैसँग विवाह गरी जिम्मा लगाउन डराइरहेका थिए । आम्रपालीलाई कसैलाई जिम्मा लगाउने बितिकै अरूले चुप लागेर सहेर बस्ने सम्भावना नै देख्दैनन । यदि अम्रपालीको विवाह भयो भने वैशाली नगरमा रगतको खोला बग्ने सम्भावना थियो । यहि समस्याका कारण एकदिन वैशाली नगरमा पुरुषहरूको भेला भयो । आम्रपालीलाई कसैले पनि त्याग गर्न चाहेनन् । त्यस भेलाले आम्रपालीलाई सबैले चाहेको बेला उपभोग गर्ने गरी नगरबधु–वेश्या घोषणा ग¥यो । आम्रपाली त्यसबेलादेखि आफ्नो चाहना विपरित वैशाली नगरको वेश्या हुन बाध्य भईन् । आम्रपालीको सुन्दरता उनका लागि अभिशाप बन्यो । यसले नगरवासीहरू बिचको सम्भावित युद्ध समाप्त भयो । सुन्दरी आम्रपाली त्यसदिन देखि केयौँ राजकुमार, शक्तिशाली व्यक्ति र धनाढ्य पुरुषहरूको मनोरञ्जनका साधन बन्न बाध्य भईन् । उनका जीवनका चाहना एवम्् खुशीहरू बलिदान भए । त्यसैबेला एकदिन गौतम बुद्ध आफ्ना सयौँ शिष्यहरूका साथ वैशाली नगरमा प्रवेश गरे र केही समय धर्मउपदेशको लागि त्यहीँ बसे । हरेक दिन भिक्षुहरू नगर घुमेर भिक्षा माग्ने गर्दथे । त्यसै क्रममा एकदिन केही भिक्षुहरूका साथ गौतम बुद्धका भार्ई (काकाको छोरा) भिक्षु आनन्द अन्य भिक्षुहरूका साथ आम्रपालीको महलको द्वारमा पुगे । आम्रपाली भिक्षा माग्न आएको युवक भिक्षु आनन्दप्रति मोहित भईन । उनले आनन्दलाई भिक्षा दिँदै आफ्नो महलमा वर्षावासको लागि अनुरोध गरिन् । भिक्षु आनन्दले त्यसको जवाफमा तथागत बुद्धको आज्ञाबिना निर्णय दिन नसक्ने बताए । त्यहाँ रहेका अरू भिक्षुहरूले यो सबै कुरा सुनिरहेका थिए । भिक्षु आनन्दले बुद्धसामू भिक्षा अर्पण गरी आम्रपालीको अनुरोधलाई सुनाए । बुद्धले भिक्षु आनन्दलाई आम्रपालीको अनुरोधलाई स्विकार गर्न अनुमति दिए । यो कुरा अरू भिक्षुहरूलाई चित्त बुझेको थिएन् किनभने उनीहरूलाई थाहा थियो, आम्रपाली अत्यन्त मोहिनी नगरवेश्या थिईन् । उनीहरूलाई भिक्षु आनन्द उनको मोहबाट मुक्त हुनेमा शंका थियो । बुद्धलाई यस विषयमा कुनै शंका थिएन, युवक भिक्षु आनन्द इच्छामुक्त थिए । भिक्षु आनन्दले बुद्धको अनुमतिमा आम्रपालीको महलमा चार महिना वर्षावास बसे । युवक भिक्षु आम्रपालीको महलमा वर्षावास बसेको बारेमा नगरवासीमा समेत चर्चा चलेको थियो । आम्रपालीलाई आफ्नो सुन्दरताप्रति अहंकार थियो । कैयौं राजकुमार, शक्तिशालीमा शक्तिशाली व्यक्तिहरू, धनवानहरू कोही पनि तिनको मोहिनी रूपबाट बचेका थिएनन् । उनलाई युवक भिक्षु आफ्नो सुन्दरतामा नतमस्तक हुन्छन् भन्ने पूर्ण विश्वास थियो । आम्रपाली हरेक दिन भोजनले, वस्त्रले, नृत्यले समेत युवक भिक्षुलाई आफूप्रति आकर्षित गर्ने प्रयास गरिरहिन् । युवक भिक्षु आनन्दलाई आम्रपालीको सुन्दरताको कुनै प्रभाव परेन । उनको प्रयास सब विफल भयो । उनको निश्चिन्तता ध्वस्त भयो, अहंकार चकनाचुर भयो । उनमा भ्रमको पर्दा हट्यो । उनले बुद्धले देखाउनु भएको निर्वाणको बाटोे सत्य रहेछ भन्ने कुरा आत्मसात गरिन् । भिक्षु आनन्द चार महिनापछि आम्रपालीको महलबाट विदा भए । आम्रंपाली पनि युवक भिक्षुको पछिपछि लागिन् । उनले बुद्धको सामू आफ्नो दुस्प्रयासको लागि क्षमा मागिन् र उनको शरणमा परिन् । बुद्धले आम्रपालीलाई भिक्षुणी संघमा सामेल गरे । नामी वेश्या आम्रपाली भिक्षुणी संघको प्रतिष्ठित भिक्षुणी बनिन् ।

यस प्रसङ्गले के बुझ्न सकिन्छ भने भ्रमयुक्त जीवनको सोन्दर्यता पनि अभिशाप हुँदोरहेछ । भ्रममुक्त जीवन नै वास्तवमा सार्थक हुँदोरहेछ । रूपको अहंकारी नगरवधु आम्रपाली भ्रममुक्त भएपछि सार्थक जीवनमा रूपान्तरण भईन् । भिक्षु आनन्द इच्छामुक्त भैसकेको कारण आम्रपालीप्रति उनको कुनै इच्छा जागेन र आम्रपालीरूपी मारमाथि विजय प्राप्त गरे । आम्रपाली वर्षौदेखिको भ्रमबाट मुक्त भइन् । रूपान्तरण भई सार्थक जीवन बाँचिन् ।

स्थिर विचार ः दुःख निवारणको एउटा पक्ष स्थिर विचार हो । स्थिर विचार भनेको के हो त ? कस्तोलाई स्थिर विचार भन्ने ? विचारलाई कसरी स्थिर राख्ने ? यसको प्रश्न जटिल छ, उत्तर पनि सजिलो छैन । विचार मस्तिष्क हो । मस्तिष्क मनसँग जोडिएको हुन्छ । स्थिर विचार भनेको विश्वास हो, जागरुकता हो, आशा र निराशाबाट मुिक्त हो । भूत र भविष्यको प्रभावबाट मुक्त वर्तमान अवस्था हो । यहाँ बुद्धले दिनुभएको ‘सम्यक दृष्टि’ अति सान्दर्भिक छ । ओशोको भाषा सापटी लिने हो भने दृष्टिमा सर्वोकृष्ट दृष्टि बुद्धको सम्यक दृष्टि हो । संसार नाशवान छ, प्राप्त गरेका सबै कुरा मेरो भन्ने भ्रमबाट मुक्त हुनु सम्यक दृष्टि हो । इन्द्रियहरूको माध्यमबाट तरङ्गहरू मनमा प्रवेश हुन्छन् र मनमा सकारात्मक या नकारात्मक आकाङ्क्षाहरूको जन्म हुन्छन् । यी आकांक्षाहरू संवेदना हुन् जसका कारण काम, क्रोध, लोभ, मोह र अहंकार उत्पन्न हुन्छ । यिनीहरू सँगै राग, द्वेष, लोभ, क्रोध, मायाका भावनाहरू तरङ्गित हुन्छन्, जसको कारण शरीरका अङ्गहरू असन्तुलित हुन्छन् र स्थुल शरीर पनि असन्तुलित भई प्रतिक्रिया दिन थाल्छन् । इन्द्रियहरूको माध्यमबाट आउने तरङ्गहरूलाई जस्ताको तस्तै हेर्नुस्, बुझ्नुस् । तपार्इँ भूतको चिन्तन पनि नगर्नुस्, भविष्यको सोच पनि नबनाउनुस् । वर्तमानलाई साक्षीभावले हेर्नुस्, मात्र अनुभव गर्नुस् । मानिसको जीवनमा मनपर्ने तरङ्ग उत्पन्न हुँदा रहिरहोस भन्ने मोह जाग्नथाल्छ पछि त्यो अझ बढि प्रिय बन्दै जाओस् भनेर राग उत्पन्न हुन्छ । रागसँगै प्रिय चिज गुम्ने डर पैदा हुन्छ । चिन्ताले मनमस्तिष्क अस्थिर हुन्छ । मन नपर्ने तरङ्गले द्वेष उत्पन्न हुन्छ । द्वेषले रिस, क्रोधको जन्म हुन्छ अनि छट्पटी हुन्छ । सुखप्राप्तिको लागि मान्छेहरू बाहिर भौतारिन्छन् । दुःखबाट मुक्त गरिदेउ भनेर देवीदेवतालाई प्रार्थना गर्छन्, याचना गर्छन्, भाकल गर्छन् । त्यति मात्र होइन कर्ममै लेखेको, पूर्व जन्मको फल आदि जस्ता विचारमा रुमलिन्छन् । यो भ्रम नै दुःखको कारण हो । मानिसले भ्रमको पर्दा खोल्नु नै सम्यक दृष्टि हो । त्यसैले बुद्ध भन्नुहुन्छ, ‘मूर्तिपूजा गरेर समय खेर नफाल’ । अति चंचल, अस्थिर मनलाई अन्तरमुखी भएर आफ्नो वशमा राख्नु, साक्षीभावले सत्यलाई जान्नु, स्विकार गर्नुपर्छ । भविष्यको सुखदुःखको कल्पना पनि नगरौँ, अतितको राम्रो नराम्रो कुरामा पनि अमलममा नपरौँ । भविष्य र भूतबाट मुक्त भई वर्तमानको वास्तविकतामा स्थिर रहनु नै सुख र दुःखबाट मुक्ति पाउनु हो । स्थिर विचार, विश्वास र जागरुकताको अवस्था हो । जब आफ्नो कर्मको जिम्मेवारी आफैलाई स्विकार गर्छन्, तब मात्र जागरुकता पैदा हुन्छ । जागरुकताको अवस्था भ्रममुक्त अवस्था हो ।

भागवत गीतामा कृष्ण भन्नुहुन्छ, ‘आशा र निराशाबाट मनलाई प्रभावहिन अवस्थामा राख्नु अथवा मनको स्थिरता नै दुःखमुक्ति हो ।’ मनको स्थिरता स्थिर बुद्धिले गर्छ । स्थिर बुद्धिले इन्द्रियहरूको धेरै प्रभावलाई नियन्त्रणमा राख्छ र मनलाई भूत र भविष्यको कल्पनाबाट मुक्त राख्छ । मनको निराकुलता दुःखमुक्त अवस्था हो । गौतमबुद्धका अनुसार मनपर्ने र नपर्ने अनुभूतिको तरङ्गमा मनलाई बहकिनबाट रोक्नु नै वास्तवमा दुःख निवारणको अवस्था हो । मानिसको मनमा जस्तो अनुभूति हुन्छ, त्यसलाई त्यसरी नै स्विकार गर्नु नै सुख र दुःखको बन्धनबाट मुक्त हुनु हो । मनलाई अस्थिर बनाउने तत्वहरूको प्रभावहिनता नै बुद्धका अनुसार मोक्ष हो, दुःखबाट मुक्ति हो । यी विचारलाई अस्थिर बनाउने मनोभावहरू हुन् तर विचारलाई खलबलाउने यहिमात्र कारण भने अवश्य पनि होइन । प्रश्न धेरै उठ्छन् । कसैले आक्रमण गर्दा, अत्याचर गर्दा, घाईते बनाउँदा, शारीरिक रूपमा नोक्सान पु¥याउँदा कसरी विचार स्थिर हुन सम्भव हुन्छ ? त्यति बेला अवश्य पनि विचार अस्थिर हुन्छ । त्यसैले स्थिर विचारको लागि बाह्य तत्वहरु जुन कारक छन् कहिलेकाही त्यसलाई समाप्त गर्न पनि आवश्यक हुन जान्छ । (किन पुस्तकबाट) क्रमशः


सम्बन्धित समाचार