खेलाडी—प्रशिक्षक दुवैमा सफल संगीना


‘साफमा राम्रो नतिजा ल्याएपछि उत्साहित हामी एसियाडको तयारीमा थियौं । नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन भयो । हाम्रा खेलाडी घरमै सुरक्षित तरिकाले बस्न थाले’, तेक्वान्दोकी मुख्य सहायक प्रशिक्षक संगीना वैद्य कोरोनाले खेल क्षेत्रलाई पारेको असरका बारेमा खोजतलाससँग भन्दै थिइन, ‘यही बीचमा पनि हामीले खेलाडीलाई अनलाइनबाट प्रशिक्षण सुरु ग¥यौं । अहिले खेलकुद परिषद्ले सुरक्षा प्रवन्धसहित खेलकुद गतिविधि सुरु गरौं भनिरहेको छ । खेल क्षेत्र सुरु गर्ने विषयमा चरणवद्ध छलफल भइरहेको छ । प्रशिक्षकका नाताले खेल गतिविधि सञ्चालन गनुपर्ने दायित्व मेरो पनि रहन्छ । कोरोनाकै कारण अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरू सरेको हुनाले प्रतियोगिताको दबाब नभए पनि खेलाडीलाई खेलमा फर्काउन विस्तारै खेल गतिविधि अगाडि बढाउनु पर्छ संगीनाले भनिन् ।


२५ वर्षे सक्रिय खेल जीवनबाट सन्यास लिएर प्रशिक्षकको भूमिकामा रहेकी संगीना आफ्नो खेल जीवन स्मरण गर्दै भन्छिन्, ‘मैले जे जति पाएको छु, त्यो खेलकुदमै लागेकाले पाएको हुँ ।’
परिवारले त्यति बेलै उनलाई भनेका थिए, ‘पढेदेखि ठूली मान्छे बन्थिस् । खेलेर बिग्रने भइस् ।’ परिवारको यो कुराले उनलाई छोएन । भन्छिन, ‘मेरो चाहना खेलकुदमा नै थियो । म पढ्नेतर्फ गएको भए म यति सफल हुन्नथ्यें होला । बच्चालाई जे कुरामा मन लाग्छ त्यहि गर्न दिनुपर्छ भन्छु म । चाहना नभएको क्षेत्रमा धकेल्दा नतिजा राम्रो आउँदैन । सानै उमेरमा मैले जुन सफलता पाए, त्यो खेल क्षेत्रबाट मात्रै सम्भव भएको हो । अर्को क्षेत्रमा गएको भए के हुन्थ्यो, म भन्न सक्दिन ।’ नुवाकोटमा स्कुले शिक्षा सक्ना साथ संगीना काठमाडौं झरेकी हुन् । उनलाई अहिले आफ्नो विगत कथा जस्तै लाग्छ । ‘कलेजको भर्ना भन्दा पनि त्रिपुरेश्वरको रंगशाला हेर्न जान्थ्ये म’, उनले स्मरण गर्दै भनिन्, ‘यो विषयमा अभिभाकलाई थाहा थिएन । छोरी पढ्न गएकी छ भन्ने थियो । म उहाँहरूलाई निराशा पार्न चाहँदैनथ्ये । खेल्यो भने विग्रन्छ भन्ने उहाँहरूको धारणा थियो । खेल क्षेत्रमा भविष्य पनि थिएन त्यति बेला । अहिलेको जस्तो राम्रो क्रेज स्पोर्टसमा थिएन । केटाहरूलाई थिएन भने अझ हामी केटीहरूलाई त अझ गाह्रो थियो ।’

काठमाडौं आएपछि म दिदीहरूसँग बसेको हुँ । दिदीहरूले कलेजमा भर्ना गर्न पठाउनु हुन्थ्यो । घर फर्केपछि गएर आइस भन्नुहुन्थ्यो, मैले गएँ भनिदिन्थें’, उनले भनिन्, ‘कलेज भन्दा पनि पहिला तेक्वान्दोको प्रशिक्षणमा भर्ना हुने हुटहुटी थियो । भयो पनि यस्तै’, संगीनाले भनिन्, ‘लुकीछिपी बढेको मेरो खेल क्षेत्र यात्रा यहाँसम्म आयो ।’ तेक्वान्दो सिक्न भर्ना भएको धेरै पछि मात्रै उनले अभिभावकलाई खेल यात्राको बारेमा जानकारी दिइन् ।
दशरथ रंगशालामा मार्सल आर्ट सिक्न थालेको तीन महिनामै राष्ट्रिय तेक्वान्दो च्याम्पियसिपमा स्वर्ण पदक हात पारिन् उनले । लगत्तै अर्को वर्ष भारतको आसाममा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन सिपमा नेपाललाई स्वर्ण पदक दिलाएपछि उनको चर्चा बढ्न थाल्यो ।

संगीना सानो छदाँ ब्रुसलीका फिल्महरु धेरै नै हेर्थिन् । ब्रुसलीकै अभिनय हेरेर मार्सल आट्र्समा लोभिएकी उनलाई फिल्म हेरेको रात निद्रा लागेन । सोच्न थालिन ब्रुसलीले झैं किक हान्न पाए कस्तो हुन्थ्यो होला ? मार्सल आर्टका सिप सिक्न पाए हुन्थ्यो भन्ने लागि रह्यो । नुवाकोटमा जन्मिएकी उनले कहाँबाट मार्सल आर्ट सिक्न पाउनु । स्कुलमा हुने फुटबल प्रतियोगितामा भाग लिन्थिन् उनी । स्कुल छँदा वीरेन्द्र शिल्ड प्रतियोगिता हुन्थ्यो, त्यहाँ एथलेटिक्सका विभिन्न प्रतियोगितामा भाग लिन्थें उनले स्कुले जीवन सम्झँदै भनिन् ।
त्यो समयमा नेपालमा खेलकुदलाई हेर्ने दृष्टिकोण राम्रो थिएन । अझ महिला भएर त खेलकुदमा लाग्नु हुँदैन भन्ने गलत बुझाइ थियो । मार्सल आर्टलाई गुण्डागर्दी खेलका रूपमा हेरिन्थ्यो । खेलेर स्थापित हुन झन गाह्रो थियो । त्यो अवस्थामा खेलेर नेपालका लागि सनसनीपूर्ण प्रदर्शन गरिन् उनले ।
त्रिपुरेश्वरस्थित सेन्ट्रल तेक्वान्दो डोजाङमा अमिर श्रेष्ठ गुरुले सिकाएको तीन–चार महिना भित्रै म राष्ट्रिय च्याम्पियन्स हुन पाए । फुटबल, भलिबल सबै खेल्ने बानीले होला मलाई मार्सल आर्टको तालिम त्यति गाह्रो भएन संगीनाले भनिन्, ‘गुरुले सिकाएका कुरा छिटो टिपे । धनगढीमा भएको प्रतियोगितामा स्वर्ण पदक जितें । त्यसपछि गुरुहरूले मलाई राष्ट्रिय टोलीमा समावेश गर्नुभयो ।
धनगढीमा स्वर्ण पदक जितेर आएपछि मैले पनि राष्ट्रिय टोलीका सीता राई, विधान लामा, नारायण गुरुङलाई कोरियन प्रशिक्षकबाट तालिम लिने अवसर पाएँ खेल जीवनमा आएको फड्कोको बारेमा बताउँदै उनले भनिन्, ‘आसाममा मैले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जिते । राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेपछि मैले पछि फर्केर हेर्नु परेन ।’
एसियन गेम कास्य पदकबाट सुरु भएको यात्रा सन् १९९६ मा आइपुग्दा स्वर्ण पदकमा उक्लियो । एसियन च्याम्पियन्ससिपमा स्वर्ण पदक जितेपछि संगीना खेल जगतमा चम्किइसकेकी थिइन् । एसियन गेमपछि उनी सागको तयारी थिइन् । सागमा स्वर्ण देशकै सपना थियो । साग अघि बैंककका एसियाड थियो । त्यसको तयारी लागि क्लोज क्याम्प चलिसकेको थियो । क्योज क्याम्पका लागि लगेज लिन घर जाँदा उनको मोटरसाइकललाई गाडीले ठक्कर दियो । दाहिने खुट्टामा गम्भीर चोट लाग्यो । दुई महिना बी एण्ड बी अस्पताल बसिन उनी । ‘म अस्पतालमा छँदा मेरा साथीहरूले बैंककमा एसियाड खेलिरहेका थिए । एसियन गेममा स्वर्ण पदक जितेको मबाट स्वर्ण पदकको आशा गरिएको थियो । दुर्घटनाका कारण म एसियाडमा सहभागी हुन पाइन’ उनले भनिन्, ‘दुर्घटना पछि म खेलमा फेरि फर्केर आउँछु जस्तो पनि लागेको थिएन । भाँचिएको दाहिने गोडा सुकेर सानो भइसकेको थियो । खुट्टामा स्टिल राखिएको थियो । हिँड्नै पनि गाह्रो थियो । मेरो जुन सफलता थियो त्यो गर्न नसक्ने अवस्थामा खेलमा फर्कनुको कुनै अर्थ रहँदैन भन्ने नै मेरो मनमा थियो । चिकित्सकले, गुरुहरूले तिमी सक्छौ भन्न थाल्नु भयो ।’
चिकित्सक तथा गुरुका कुराले संगीनाको मनोवल बढ्दै गयो । साथीहरुले आत्मविश्वास दिए, ‘तिमीले सक्दैनौं भने कसले सक्छ ? तिमी तेक्वान्दो खेल्नलाई नै जन्मिएकी हौ ।’  गुरु र डाक्टरले नै आश्वस्त पारेपछि किन हार मान्नु ? क्लोज क्याम्प बस्न थालेको दोस्रो सातादेखि नै ममा धेरै आँट आइसकेको थियो । उनले देब्रे खुट्टा धेरै नै चलाउन थालिसकेकी थिइन् ।
पहिला उनका दाहिने देब्रे दुबै खुट्टा चल्थे । उनलाई नै थाहा हुँदैनथ्यो, दाहिने देब्रे कुन चलेको हो भन्ने । दुर्घटना पछि उनको दाहिने खुट्टा डराउन थाल्यो । टेक्दा, छुँदा नै झुम्म हुन्थ्ये । भन्छिन, ‘तालिमका बेला मैले देब्रे खुट्टालाई धेरै नै प्रयोग गरें । एटयाक, छेक्ने सबै यही खुट्टाबाट हुन थाल्यो । साग सुरु हुन २ महिनाअघि जुटेको अभ्यासले उनलाई स्वर्ण पदकधारी खेलाडी बनायो ।
स्टिल हालेको खुट्टा लिएर अभ्यास गर्दा सहन नसक्ने गरि दुख्थ्यो उनले दुर्घटनापछिको अवस्था वर्णन गर्दै भनिन, ‘तर स्वर्ण सपनाका अगाडि शारीरिक चोट सामान्य हुँदा रहेछन् । स्वर्ण पदकको लागि जस्तोसुकै चोट सहन सक्छु भन्ने मन र मष्तिष्कले भनिरहेका हुन्थ्ये ।’
नभन्दै उनी फाइनलमा पुगिन् । प्रतिद्वन्द्वी भारतका थिए । स्टिल हालेको खुट्टा फाइनलमा पुग्दासम्म लाटो भएर चलाउन गाह्रो भइसकेको थियो । विपक्षीले खुट्टाको अवस्था थाहा पाउँदामात्रै पनि उनले हार्ने निश्चित जस्तै थियो । तर उनी चनाखो भएर खेलिन् र भारतलाई हराउँदै सागमा स्वर्ण जित्न सफल भइन् ।
त्यो दिन सम्झिँदै संगीना भन्छिन्, ‘त्यो क्षण सम्झँदा अहिले जिउमा काँडा उम्रन्छ, त्यो बेला के गरेँ, के भयो, अहिले भन्न सक्दिनँ ।’


लगत्तै उनको खातामा अस्ट्रेलियामा सम्पन्न एसिया तेक्वान्दो च्याम्पियन सिपमा स्वर्ण पदक र एसियाली च्याम्पियनसिपको उपाधि थपियो । नेपालका तर्फबाट छनोट चरण पार गरी ओलम्पिक खेलमा सहभागी हुने पहिलो खेलाडी पनि भइन् । उनी भन्छिन्, ‘खुट्टामा स्टिल राखेर सन् २००४ को एथेन्स ओलम्पिकमा भाग लिने अवसर मिल्ला भन्ने त झन् सोचेकै थिइनँ ।’ अहिले यो स्थानमा आएर आफ्नो विगतमा फर्किंदा धेरै अप्रत्यासित घटना भएको सम्झन्छिन् संगीना । चोटका बाबजुद २ स्वर्ण जितेको क्षणले अहिले पनि रोमाञ्चक बनाउँछ ।
संगीनाले श्रीलंकामा भएको १० औं सागमा स्वर्ण जितेर खेल जीबन बिट मार्ने सोच बनाएकी थिइन् । तर फेरि अर्को दुर्भाग्य आइलाग्यो । श्रीलंका जानु केही दिन अघि पत्थरीको अप्रेसन गर्नु प¥यो, जिउ एकदम गलेको थियो । शरीरमा शक्ति थिएन । उनलाई लाग्यो, ‘अब सागमा खेल्न सक्दिनँ ।’ गुरुहरुले हौस्याउँदै भने, ‘तिमी तेक्वान्दो खेल्नकै लागि जन्मिएकी हौं, तिमीले सक्छ्यौ ।’
गुरुहरुको कुरा काट्न सकिनन् । उनी एकहप्ता अभ्यास गरेकै भरमा श्रीलंका गइन् । खेलमा आँखाले टार्गेट देख्थ्यो । तर हान्ने तागत थिएन । उनी सेमिफाइनलमै हारिन् । त्यो दिन सम्झँदै भन्छिन्, ‘मेरो जीवनको सबैभन्दा खराब दिन थियो त्यो । यस्ता घटना नभएको भए मैले देशका लागि अझै धेरै मेडलहरू दिन सक्थेँ ।’
खेल जीवनबाट सन्यास लिएकी संगीनालाई अहिले राम्रा खेलाडी उत्पादन गराउन भूमिका मिलेको छ । आफैंले सिकाएका खेलाडीले प्रतियोगिता जित्दा अपार आत्मसन्तुष्टि मिल्दो रहेछ उले भनिन्, ‘अब खेलाडीलाई अर्को लेभलमा पु¥याउन मेहनत गर्छु ।’
सफल प्रशिक्षक बन्ने उनको सपना १३औं सागले पूरा पनि गरिदिएको छ । नेपालमै सम्पन्न साफ गेममा तेक्वान्दोमा ३४ खेलाडी सहभागी भए । तीमध्ये १२ खेलाडीले स्वर्ण जिते भने ५ खेलाडीले रजत । त्यस्तै ११ खेलाडीले कास्य पदक हात पारे । भन्छिन्, ‘यो नतिजा हाम्रो लागि ऐतिहासिक हो किनकी तेक्वान्दोमा यो पटक कोही खेलाडी पनि पदक विहीन भएनन् ।’

सफल खेलाडी उनी सफल कोच बन्नका लागि उत्तिकै मेहनेत गरिरहेकी छन् । भन्छिन्, ‘मैले खेलाडीका रूपमा पूरा गर्न नसकेको सपना मेरा खेलाडीहरूले पूरा गर्छन् भन्नेमा ढुक्क छु ।’ अलि दिमाग लगाएर खेल्यो भने हाम्रो पालाको भन्दा अहिले पदक ल्याउन झन सजिलो भएको छ उनले भनिन्, ‘प्रविधिले गर्दा सजिलो पनि भएको छ । अहिले युट्युबमा जुन सुकै खेल पनि लाइभ हेर्न सकिन्छ । त्यो उति बेला थिएन ।’
अहिले खेलेर सजिलैसम्म जीवन यापन गर्न सक्ने अवस्था बनेको छ । स्कुल, डोजाङहरूमा खेलाडीको सहभागिता हेर्दा खेल प्रति धेरै नै आकर्षण बढेको देखेको छु उनले भनिन्, ‘डोजाङ खोलेरै पनि जीवन सहज पार्न सकिन्छ । व्यवसायिक खेलाडी भएपछि राज्यले हेर्ने दृष्टिकोण, दिने सुविधा पनि फरक भइसकेको छ । निजी क्षेत्रले हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको छ ।’
‘अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल जितेपछि मलाई धेरै ठाउँबाट अफर आएका थिए । तर मेरो मनमा के आयो भने, मुलुकले ममाथि यत्रो लगानी गरेको छ, मैले देशका लागि पनि केही गर्नुपर्छ भनेर लागेकोले ती अफर स्वीकार गरिन’, उनले भनिन् ।
मिहेनेती नयाँ खेलाडीले धैर्य गर्न सके हामीले पाएको सफलता सहजै चुम्म सक्छन् उनले भनिन, ‘तर अहिलेका खेलाडीमा छिट्टै निराशा हुने गरेको देख्छु ।’
 
 


तपाइको प्रतिक्रिया दिनुहोस्