मनकारी डाक्टर: गरिबका लागि निःशुल्क ओपीडी सेवा

 

मुटुरोग र यसले निम्त्याउने अन्य रोगका विषयमा कुराकानी गर्न सुमेरु अस्पतालको बहिरंग विभाग (ओपीडी)मा पुग्दा डा। रमणी वैद्य बिरामी जाँच्दै थिइन् । केही क्षणपछि उनी हामीसँग कुराकानी गर्न आइन् । व्यस्तताका बीच समय निकालेर पत्रकार भेट्न आएकी रमणीले भनिन् ‘मलाई पत्रिका, टेलिभिजनसँग त्यति कुराकानी गर्न मन लाग्दैन । म त बिरामीको उपचार गर्दा खुशी हुन्छु ।’

बिरामीको उपचारमा रमाउने रमणी बिदा बस्दिनन् । विदेशमा आयोजना हुने कार्यक्रममा भाग लिन जाँदा बाहेक उनले बिरामीको नजाँचेको दिन छैन । साना तिना चाडपर्वको त कुरै छाडौं, दसैं–तिहारमा समेत उनी बिदा बस्दिनन् । म कहिले विदा बसेँ ? यो प्रश्न मनमा आउँदा रमणीसँग जवाफ नै छैन । असल डाक्टर, बिरामीको कुरा बुझ्ने र सुन्ने डाक्टर त हुँदै हुन । तर, उनको अर्को परिचय पनि छ । त्यो हो विदा नबस्ने डाक्टर ।

मुटुरोग विशेषज्ञ रमणीसँग हामीले मुटुरोगको प्रसंगबाट कुराकानी सुरु ग¥यौं । उनले मुटुरोग भन्दा पनि जटिल रूप लिँदै गरेको उच्च रक्तचापलाई फोकस गर्न आग्रह गरिन् ।

मुटुलाई मानव शरीरमा किन महत्वपूर्ण मानिन्छ ?

मुटु मानव शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । संवेदनशील यो अंगको रक्तनलीहरूमा लाग्ने रोगहरू मध्येको एक हो उच्च रक्तचाप । रक्तचाप भनेको रगतको चाप रक्तनलीहरूमा निरन्तर प्रवाह भइरहनु हो । मुटुले रगत पम्प गरी शरीरका विभिन्न भागमा पु¥याउने क्रममा रगतका नलीहरूमा निरन्तर चाप दिइरहेको हुन्छ । त्यो चाप बढी हुँदा मुटुमा र रक्तनलीहरुमा धक्का बढी पर्छ । त्यो दबाबले मस्तिष्कदेखि शरीरका अन्य अंगमा समेत असर पु¥याउँछ ।

उच्च रक्तचाप कसरी थाहा पाउने ?

उच्च रक्तचापलाई थाहा नदिई मार्ने रोग ‘साइलेन्ट किलर’ पनि भनिन्छ । उच्च रक्तचाप भएको लक्षण तत्कालै देखा पर्दैन । तर, शरीरमा असर पु¥याई रहेको हुन्छ । कस्तो समेत अवस्था आउँछ भने बिना लक्षण मानिसको मृत्यु समेत हुन सक्छ । रक्तचाप गडबड हुँदा वा उच्च हुँदा रक्तनली, मुटु, मस्तिष्क, मिर्गौला र आँखा जस्ता अंगहरूमा असर पुग्छ । सजिलो भाषामा बुझ्दा उच्च रक्तचाप भनेको, रगतले रक्तनलीमा दिने चाप सामान्यभन्दा बढी हुनु हो । १४० माथिल्लो चाप र  ९० तलको चाप भन्दा कम हो भने त्यसलाई सामान्य मानिन्छ । यो भन्दा बढी भयो भने, त्यसलाई उच्च रक्तचाप हो भनी बुझ्नुपर्छ । सर्तकता अपनाउनुपर्छ । उच्च रक्तचाप वास्तवमा लक्षणविहीन हुन्छ । उच्च रक्तचापका बिरामीमध्ये ९० प्रतिशतमा यो रोग वंशाणुगत र जीवनशैलीबाट हुन्छ । उच्च रक्तचापमा लक्षण देखिनु निकै भाग्यमानी हुनु हो । किनकि लक्षण देखिएमा हामी तुरून्तै उपचारका लागि जान्छौं । नियमित रूपमा उपचारमा रहने, मुख बार्ने, नियमित जाँच गराउने मौका पाउँछौं ।

उच्च रक्तचापप्रति मानिसको बुझाई कस्तो पाउनु भएको छ ?

आम मानिस उच्च रक्तचापले निम्त्याउने खतराप्रति मात्रै सजग छन् । त्यसप्रति मात्रै चासो राख्छन् । तर उच्च रक्तचापबाट बच्न सक्ने कुरालाई अपनाउन चाहँदैनन् । आफ्नो जीवनशैली बदल्न गाह्रो मान्छन् । उच्च रक्तचाप हुँदा पनि मलाई केही अप्ठ्यारो परेको छैन । त्यही भएर औषधि सेवन गर्न नपाए हुन्छ भन्ने धारणा छ ।

रक्तचापका बिरामीले परिवार–आफन्तले दिने सुझावलाई कसरी लिनुपर्छ ?

बिरामीहरु मेरो ‘प्रेसर बढ्यो जस्तो छ’ भन्दै उपचारका लागि आउनु हुन्छ । परीक्षण गर्दा रक्तचाप पनि बढेको देखिन्छ । । औषधि लेखेर दियो । तर, उहाँहरू खानुहुन्न । म नियमित औषधि सेवन गर्छु भन्नेहरु एकदमै कम हुनुहुन्छ । कस्तो हुन्छ भने, बिरामीले औषधि खान्छु भन्दा पनि साथीहरू, घर परिवारले रोक्ने हुन्छ । ‘औषधि किन खानु प¥यो बानी लाग्छ’ भन्दै औषधि नदिन आग्रह गरेको थुपैं उदाहरण मैले सुनेको छु । त्यस्तो गर्नु हँुदैन । चिकित्सकले बिना सुझबुझ औषधि लेख्दैनन् । उच्च रक्तचापका कारण शरीरका महत्वपूर्ण अंगहरूमा त्यसले असर छाड्छन् । हृदयघातको कारण पनि उच्च रक्तचाप नै हो । यदि यस्तो भयो भने त्यसको जिम्मेवारी कसले लिने ? भन्नेलाई त उच्च रक्तचापको औषधि खानु हुँदैन, बानी लाग्छ भनिदिए भै हाल्छ । सुझाव दिनेले पनि विचार गर्नुपर्छ, मैले कस्तो सुझाव दिइरहेको छु भनेर । मान्छेको जिउ ज्यानमै केही भयो भने, त्यसको जिम्मेवार सुझाव दिने मानिस हुन्छन् ? त्यसैले औषधिको विषयमा बिरामी र उसका आफन्तले चिकित्सकको सल्लाहलाई मान्नुपर्छ ।

कस्तो ठाउँमा रक्तचापको परीक्षण गर्ने ?

यहाँ भन्नै पर्ने कुरा के छ भने, मलाई लौन प्रेसर बढ्यो कि क्या हो, जाँचिदिनुस् भन्दै हात दिने गरेको देख्छु । जहाँ पायो त्यही रक्तचाप परीक्षण गर्नु हुँदैन । सम्बन्धित र विज्ञहरू भएको स्वास्थ्य संस्थामा परीक्षण गर्नुपर्छ । जथाभावी रूपमा औषधि खाने त कुरै भएन । सामान्य मेडिकलमा जाँच गरायो, त्यहीँबाट औषधि किनेर खानु हँुदैन । औषधि विज्ञानले एउटा औषधिले कति समय र कस्तो काम गर्छ सबै व्याख्या र अनुसन्धान गरेर औषधिको मात्रा तय गरेको हुन्छ । डाक्टरले रोग र बिरामीको अवस्था हेरेर औषधि सिफारिस गर्छन् । तर घरेलु उपचार विधिमा त्यस्तो खालको अनुसन्धान भएको देखिँदैन । त्यसैले उच्च रक्तचापका बिरामीले डाक्टरसँग परामर्श गरी औषधि खानुको सट्टा घरेलु उपचार र पद्धतिलाई पछ्याउनु भनेको खतरा निम्त्याउनु हो ।

रक्तचापका बारेमा जनतालाई बुझाउन के गर्नुपर्छ ?

स्वस्थ जीवन, औषधिको प्रयोग र आवश्कताको बारेमा राज्यका संयन्त्रहरूले चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । सामाजिक संघ संस्थाहरूले पनि कार्यक्रमहरूमा स्वास्थ्यकर्मी वा विज्ञहरूलाई बोलाएर सचेतना फैलाउने र छलफल चलाउने गर्नुपर्छ । केही समयअघि गोदावरी क्षेत्रबाट मसँग कसरी मदिरा सेवनको लत छुटाउने भन्दै एकजना युवा परामर्शका लागि आउनुभयो । मेरो सल्लाह र सुझाव अनुसार अघि बढेका उहाँको त्यो लत बिस्तारै छुट्यो । त्यो थाहा पाएर उहाँसँगै मदिरा सेवन गर्नेहरूको एउटा समूह नै अहिले मसँग परामर्शका लागि आइरहको छ । सबैजना यसैगरी सचेत हुने हो भने, धेरै खालका रोगलाई नियन्त्रण गर्न सकिन्छ । मसँग परामर्श लिन आउँदा उहाँहरूको रक्तचाप उच्च थियो । परामर्शपछि खानपानदेखि र जीवनशैली बदल्नु भयो । अहिले उहाँहरुको रक्तचाप नियन्त्रणमा छ ।

त्यसो भए उच्च रक्तचाप बारे जनतालाई कसरी बुझाउने ?

मिर्गौलाका बिरामी बढ्नुका कारणमध्ये उच्च रक्तचाप पनि एक हो । रक्तचाप बढ्दा धेरै रोग निम्तन्छन् । त्यसैले चेतना जगाउने काममा लाग्नु पर्छ । हामीले उच्च रक्तचापका बारेमा केन्द्रित भएर सूचना प्रवाह गर्नुपर्छ । हृदयघात हुनबाट जोगाउन रक्तचाप, उच्च रक्तचापको बारेमा बुभाउनु पर्छ । प्रत्येक ठाउँमा, प्रत्येक टोलमा उच्च रक्तचापका बारेमा छलफल चलाउनु पर्छ । स्वस्थ जीवनको बारेमा छलफल आयोजना गर्नुपर्छ । उच्च रक्तचाप छ भने औषधि खानुपर्छ भन्ने बुझाउनु पर्छ । स्वास्थ्य संस्थाको कार्यक्रम हुन्छ, त्यहाँ राजनीतिक दलका नेतालाई बोलाएर भाषण गर्न लगाइन्छ, त्यहाँ त स्वास्थ्य क्षेत्रका विज्ञलाई बोलाएर बोल्न लगाउनु पर्छ । त्यस्ता कार्यक्रममा जीवनशैली परिवर्तन गर्न सिकाउनुपर्छ । रोगबाट बच्ने उपायहरू सिकाउनु पर्छ ।

बिरामीलाई चिकित्सकले कस्तो व्यवहार गर्नुपर्छ ?

उपचार गर्नु, औषधि लेख्नु मात्रै डाक्टरको काम होइन । मान्छेलाई रोगबारे सचेत बनाउनु, चेतना जगाउनु झनै महत्वपूर्ण काम हो । एउटा टोलमा हेर्ने हो भने, प्रत्येक घरमा उच्च रक्तचापका बिरामी छन् । उच्च रक्तचापका बिरामी नभएका घर भेट्नै मुश्किल भैसक्यो । यस्तो अवस्थामा उच्च रक्तचापलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा केन्द्रित रहेत सचेतना जगाउनु पर्छ । यो सचेतना जगाउन सक्यो भने स्वस्थ समाज निर्माण गर्न सकिन्छ ।

जथाभावी औषधि सेवनले शरीरमा कस्तो असर पुग्छ ?

हामी कहाँ कस्तो प्रचलन छ भने, कहिंकतै दुख्यो भने जथाभावी दुखाइ कम हुने औषधि ९पेनकिलर० खाने गरिन्छ । त्यो अत्यन्तै घातक हो । यसरी जथाभावी औषधि खाँदा त्यसको असर मुटु, मिर्गौला जस्ता संवेदनशील अंगमा पर्छन् ।

उच्च रक्तचापको सधैं औषधि खानुपर्छ भन्ने हुँदैन । कतिपय बेलामा तनावका कारण कम उमेरका व्यक्तिहरूमा उच्च रक्तचाप देखिन्छ । तनाव कम भएपछि औषधि रोक्न सकिन्छ । मैले नै केही बिरामीलाई यस्तो गरेको पनि छु ।

नेपालीको उपचार क्षमता कस्तो पाउनु भएको छ ?

नेपालको स्वास्थ्य क्षेत्रमा मात्र होइन विश्वभरी नै धेरै र फरक फरक उपचार विधिहरू प्रयोग भएका छन् । तर, हामीले बिरामीलाई पहिलेकै अवस्थामा फर्काउन सकेका छैनौं । बिरामीलाई पूर्णरूपमा निरोगी बनाउन पनि सकेका छैनौं । बिरामीले उपचारका लागि धेरै खर्च गरिरहेको हुन्छन तर सामान्य जीवनमा फर्कन नसकेको पीडा भोगेको धेरै उदाहरण देखेको छु । यस्तो अवस्थाले अत्यन्तै पीडा हुन्छ । व्यक्तिलाई उपचारका लागि इन ह्याण्ड क्यास दिने होइन, कोष खडा गरेर त्यही कोषमार्फत उपाचारमा खर्च गर्नुपर्छ । स्वास्थ्य बिमा पनि एउटा महत्वपूर्ण आधार हुन सक्छ । सिमित नेपाली मात्रै पैसा खर्च गरेर उपचार सेवा लिन सक्ने छन् । म एउटा प्रंसग उल्लेख गर्छु, उपचारका लागि पहिलो पटिक आउँदा बिरामी स्वयं र बिरामी पनि गरगहनासहित आएका हुन्छन् । उपचारको क्रम लम्बिँदै गएपछि उनीहरूका नाक कान बुच्चै हुन्छन् । जटिल खालको रोग लाग्यो भने, एउटै रोगको लागि लाखौं खर्च हुन्छ । तत्कालै त्यो रकम जुटाउन सक्ने नेपाली एकदमै कम छन् । पहिले अस्पतालमा निःशुल्क ओपीडी थियो ।

निजी अस्पतालमा निःशुल्क ओपिड ? कसरी संभव भयो प्रष्ट पारिदनुस् न ।

हो, बिरामीको अवस्था देखेपछि मलाई एकदमै पीडा भयो । रोगले मानिसलाई कतिसम्म पीडा दिँदो रहेछ भन्ने कुरा मैले उपचारमा आउने बिरामी र उनका आफन्तसँग कुरा गर्दा थाहा पाएँ । शुक्रबार अस्पतालकै ओपोडिमा निःशुल्क सेवा दिन सुरु गरेको थिएँ । त्यो सेवा गरिब वर्ग वा पैसा तिरेर उपचार गर्न सक्दैनन् उनीहरुको लागि थियो । तर पैसा तिर्न सक्ने र नसक्नेको भीड लाग्दा उपलब्धि नभए जस्तो भयो । त्यहाँ मैले दिनकै ४०–५० जना बिरामी हेर्थे । पैसामा मात्रै केन्द्रित हुन हँुदैन भन्ने कुरा म मेरो बुबाबाट प्रभावित भएको हुँ । मेरो बुबा वैद्य हुनुन्थ्यो । शिक्षण अस्पताल महाराजगन्जमा काम गर्दा मेरा अग्रजबाट पेरित भएर नै ममा पैसाका पछि दगुर्न हुँदैन भन्ने भाव आएको होला । अहिले पनि आवश्यक पर्ने बिरामीलाई मैले निःशुल्क नै उपचार गरिरहेका छु । निजी क्षेत्रका अस्पतालहरूले सरकारको सहयोग बिना नै गरिब बिरामीलाई छुट दिन सक्ने अवस्था हुँदैन । जनचेतना नै सबैभन्दा महत्वपूर्ण उपाय हो । यसो हुँदा नागरिकलाई स्वस्थ बनाउन सकिन्छ ।

सबै नागरिकलाई निरोगी बनाउन र उपचारमा पहुँच राख्न सक्ने बनाउन के गर्नुपर्छ ?

राज्यको जिम्मेवार निकायमा पुगेका मान्छेको ध्यान सधैं कुर्सीका लागि मात्रै भयो । स्वास्थ्य क्षेत्र तथा जन स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न सकिन्छ त्यतातर्फ ध्यान पु¥याउनुपर्छ । अर्कोतर्फ नागरिक स्वयं पनि स्वास्थ्यप्रति सचेत हुन सक्यो भने निरोगी बन्न सकिन्छ । यहाँ कस्तो भइरहेको छ भने, सबै क्षेत्र संकटका बेला हुने व्यापारमा नै रमाइ रहेका छन् । कोरोना भाइरस संकटका बेला पनि यस्तै व्यापार फस्टायो । मास्क, स्यानिटाइजरमा कालो बजारी भयो । राज्य मौन जस्तै देखियो ।

उच्च रक्तचापका बिरामी बढ्नुका पछाडि के कस्ता कारण छन् ?

आधुनिक जीवन शैली, खानपिन, क्षमता उमेर भन्दा बढी इच्छा चाहना । मानिसको जीवन यान्त्रिक रूपमा चल्न थालेकाले उच्च रक्तचापका बिरामी बढेका हुन् । उच्च रक्तचाप भए नभएको थाहा पाउन नियमित रूपमा ब्लड प्रेसर जाँच्नुपर्छ । रक्तचाप उच्च हुने र त्यसको समयमै उपचार भएन भने मुटुमा समस्या देखिन्छ । यो रोग वंशाणुगत पनि भएकाले परिवारमा कसैको उच्चरक्तचाप छ भने अन्य सदस्य सतर्क हुनुपर्छ । मुटु रोगको अर्को मुख्य कारण स्ट्रेस हो । तपाई घरबाट निस्कनुस्, निस्केदेखि नै समस्या आइपर्छ । कार्यालय समयमा पुग्न नसक्दा त्यहाँ स्ट्रेस भयो । कार्यालयमा हुने प्रतिस्पर्धा स्ट्रेसको अर्को कारण भयो । युवा पुस्तामा उच्च रक्तचाप देखिनुका पछाडि स्टे«ेस नै कारण हो । मानिसहरू छिटो धनी हुन चाहना राख्दा पनि स्ट्रेस बढेको छ । युवा पुस्तामा खानपिनको शैलीले उच्च रक्तचाप भएको देखिन्छ । पहिलाका मानिसहरु पनि मदिरा सेवन गर्थे, मासु खान्थे । तर, उनीहरु शारीरिक परिश्रमको काम गर्थे । तर,अहिले शारीरिक परिश्रम पटक्कै छैन । घरको ढोकैबाट मोटरसाइकल र गाडी चढेर निक्यो, अफिस पुग्यो । टेबुल वर्क ग¥यो । अनि घर फकिर्यो । छोटो दूरी समेत सवारी साधनकै प्रयोग गर्ने बानी बस्यो । यस्तो बानी र व्यवहारले समस्या निम्त्यो । दैनिक मासु नपाकेको घर अहिले बिरलै भेटिन्छ । पहिलाका मानिसले त्यसरी खाँदैनथ्ये । अण्डा खान विशेष दिन वा परिवारले ठूलो उपलब्धि हासिल गरेको हुनुपथ्र्यो । तर अहिले दैनिक मासु, अण्डा खाइन्छ । अर्को कुरा मदिरा सेवनको मात्रा पनि बढेको छ । मेरोमा उपचार गर्ने आउने बिरामीलाई मदिरा धेरै नखानुुुस् भन्दा उहाँहरु यस्तो भन्नुहुन्छ, ‘डाक्टर साब मदिरा, चुरोट बिना त समाजमा घुलमिल हुनै गाह्रो हुन्छ, साथी नै कोही हुँदैनन् । पुरुषले ६० एमएल र महिलालाई ३० एमएलसम्म मदिरा लिनसक्छ भनिन्छ । तर, यो दैनिक होइन । निश्चित नियममा बसेर थोरै लिन सकिन्छ । दैनिक धेरै लिन थालियो भने त्यसले मुटुलाई असर गर्छ । कोलोस्ट्रोलको समस्या निम्तिन्छ । निष्कर्षमा म के भन्न चाहन्छु भने रोग लाग्नबाट बच्नुपर्छ । आफूले सक्ने प्रयास गर्नुपर्छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्