हरिराम महर्जन ‘ठेचो’
किन ? ः किन शब्द धेरै शक्तिशाली शब्द हो । यसले मानिसको जीवनमा उथलपुथल ल्याउन सक्छ । यहि ‘किन’ शब्दको प्रभावले मानिसको सोचव्यवहार, चिन्तनलाई परिवर्तन गरिदिन्छ । इच्छा, आकांक्षा, सपना बदलिदिन्छ । समग्रमा जीवनको रूपान्तरण यसैको प्रभावमा हुन्छ । मानिसको जीवनमा ‘किन’ शब्दको अत्यन्त महत्व छ । हामीले यसको गहिराईलाई बुझ्नैपर्छ । हाम्रो जीवनमा आइपर्ने हरेक किसिमको समस्याको जडसम्म पुग्ने माध्यम ‘किन’ हो । संसारमा बिना कारण कुनै पनि चिजको उपस्थिति असम्भव छ, बिना कारण कुनै क्रिया–प्रतिक्रिया हुनै सक्दैन । मनमा अनुभूति हुने दुःखको कारण र निवारणसम्म पुग्ने एकप्रकारको मार्ग ‘किन’ हो । कुनै पनि समस्या उत्पन्न हुनुको कारण हुन्छ । कारणको जरासम्म पुगेर पहिचान गर्ने काम ‘किन’ भन्ने तर्कले गर्छ । जब कारणको पहिचान हुन्छ, तब समाधानको बाटो खुल्छ । ‘किन’ सँगै कसरी, कहाँ, कहिले, कसले, को आदि तर्कहरू पनि सहायक रूपमा उत्पन्न हुन्छन् । टाउको दुख्यो, पेट दुख्यो, किन दुख्यो ? रिङ्टा लाग्यो, किन ? आफैमा खोज्नुस् । यो प्रश्नले दुईचार दिनदेखिको खानपिन अनि जीवनपद्धतिको स्मरण हुन्छ । कुनै पनि कारणको पहिचान गर्न सजिलो हुन्छ । यसले समाधानको नजिक पुग्न मद्दत गर्छ । यसले नै तपाईँको लागि अस्पताल वा डाक्टरको सही छनौट गर्न सहयोग मिल्छ र समस्या जटिल नबन्दै समयमै सही उपचार पाउने सम्भावना हुन्छ र समस्याको समाधान हुन्छ । यति महत्व राख्ने ‘किन’ शब्दको प्रयोग कुन अवस्थामा कसरी हुन्छ ? यसको विषयमा विचार गरौँ ।
‘किन’ शब्दको प्रयोग जुनसुकै अवस्थामा जहाँ पनि गर्न सम्भव पनि छ र गर्नु पनि पर्छ । जीवनमा हरेक पल थुप्रै घटनाहरू घटिरहेका हुन्छन्, घटनासँगै थुप्रै अनुभवहरू जोडिन्छन । हर्ष, विस्मातका प्रभावहरू पर्छन् जसले मनलाई अस्थिर बनाउँछ, जसको कारण मन बेचैन हुन्छ, रातको निन्द्रा हराउँछ, भोक हराउँछ । अनुभव सुखद होस् या दुखद, छट्पटी, व्याकुलता उत्पन्न हुन्छ । यस्तो अवस्थामा ‘किन’ भयो ? भन्ने प्रश्न गर्नुस् र त्यसको गहिराईमा प्रवेश गर्नुस् । दार्शनिक सुकरात भन्नुहुन्छ, ‘कुनै प्रश्नको भाव बुझ्नु आधा जवाफ बराबर हो ।’ अवश्य पनि तपाईँ समस्याको जडमा पुग्नुहुन्छ र मनको अस्थिरता, बेचैनी, छट्पटी शान्त हुन्छ । सबैभन्दा बुद्धिमानी त त्यतिबेला हुन्छ, कुनै पनि कार्य गर्नुपूर्व, व्यवहार गर्नुपूर्व ‘किन’ गर्ने ? आफैले आफैलाई प्रश्न गर्नुस् र त्यसको गहिराईमा पुग्नुस् । त्यसपछि जे परिणामको संकेत मिल्छ, त्यस अनुसार निर्णय लिनुस् । अवश्य पनि तपाईँको निर्णय गलत हुनबाट जोगिनसक्छ । बेचैनी, तनाव, अस्थिरताबाट सुरक्षित हुन मद्दत मिल्छ ।
मानिस सामाजिक प्राणी हुन् । मानिसका हरेक गतिविधि समाजसँग सम्बन्धित हुन्छन् । त्यसैले समाजसँग उसको सम्बन्ध समधुर हुनुपर्छ, छरछिमेकीसँग सद्भाव कायम हुनुपर्छ । छिमेकीसँगको सम्बन्ध विग्रियो किन ? द्वेष किन ? हेला किन ? रिस केका लागि ? यसले हुने के ? उपलब्धि के ? कसले के कति पाउँछ ? मनन् गर्नुस्.। यसले निश्चय पनि सामाजिक अनुशासन कायम गर्नमा मद्दत पुग्छ । पारिवारिक जीवनमा रहने मानिस र परिवारसँगको सम्बन्ध भावनात्मक हुन्छ । प्रेम र विश्वास सुखी परिवारका आधार हुन् । कुनैबेला परिवारमा द्वन्द्व सृजना भयो भने कारण खोज्नुस्, किन ? पतिपत्नी बिचमा अविश्वास भयो, किन ? सन्तुष्ट हुन सकेन, किन ? एकआपसमा मोह हराउन थाल्यो, किन ? त्यस्तै परिवारका सदस्यहरू बिचमा असमझदारी, सासुबुहारी बिचमा बेमेल, बाउछोरा बिचमा द्वन्द्व, दाजुभाईबिचमा टकराव, आखिर किन ? केका लागि ? पाउने के ? परिणाम आउँछ कस्तो ? चिन्तन गर्नुस् । अवश्य पनि कारणको जडमा पुग्नुहुन्छ र समाधानको मार्ग पाउनुहुन्छ ।
मानिसको जीवनमा सबैभन्दा बढि उपयोग खानाकै हुन्छ । अतः जीवनमा खानाको प्रभाव पनि स्वभाविक रूपमा बढि पर्छ । खाना खानुभन्दा अगाडि सोचौँ, खाना किन खाने ? केका लागि खाने ? जीवनको लागि, भोक मेटाउनको लागि, स्वादको लागि, कसैको मन राख्नको लागि, देखाउनको लागि आदि कारणहरू मध्ये कुन कारणको प्रभावमा खाने हो, त्यसै अनुसार निर्णय गर्नुस् । यदि शरीरको लागि खाने हो भने त्यहि अनुसारको खाना छनौट गर्नुस् र तयार गर्नुस् । यदि स्वादको लागि खाने हो भने आफूलाई मनपर्ने स्वाद के हो, छनौट गर्नुस् र तयार गर्नुस् । यदि कसैको अनुरोधको कारण खान खोजेको हो भने त्यसै अनुसार छनौट गर्नुस् र खानुस् । यदि खानाको विषयमा तपाईँको विचार उचित भयो भने खानाको छनौट र तयारी पनि उचित हुन्छ र परिणाम पनि उचित नै आउँछ । यदि गलत भयो भने परिणाम पनि गलत नै हुन्छ । साधारणतया मानिसहरू खानाको विषयमा विचार गर्दैनन् । विचार गर्नु आवश्यक पनि ठान्दैन । बढिभन्दा बढि स्वादकै कुरा गर्छन् । जब बिमारी पर्छ, शरीर अशक्त हुन्छ, तब मानिस खानाको विषयमा सोचविचार गर्न थाल्छन् र गम्भिर भएर खानाको छनौट गर्छन् अनि त्यसै अनुसार खाने प्रयास गर्छन् । उसलाई त्यति बेला अप्ठ्यारो परेको छ, खतराको संकेत मिलेको छ, जीवन संकटमा परेको अनुभूति भएको छ त्यसैले मानिस पुरा सतर्क हुन्छ । यदि बिमारी हुनु पूर्व नै होशियारी अपनाएको भए शायद बिमारीको अवस्था आउँदैनथ्यो होला । बिमारी नै परेपनि जटिल बन्दैनथ्यो होला । हाम्रो कमजोरी यही हो । मानिस खाना किन खाने भन्ने सोचविचार नगरी मनपरी खान्छन् त्यसैको परिणाम जटिल रोगका शिकार बन्छन् ।
कोही सरकारी जागिर रोज्नुहुन्छ, व्यापार गर्नुहुन्छ, कामको लागि विदेश जानुहुन्छ, ठेक्कापट्टामा लाग्नुहुन्छ, पाखुरी देखाउनुहुन्छ, ठग्नुहुन्छ, ढाँट्नुहुन्छ, लुकाउनुहुन्छ, भ्रष्टाचार गर्नुहुन्छ, मौका परे चोर्नुहुन्छ, बेइमानी बन्नुहुन्छ तर पनि सज्जन छु भनेर नाटक गर्नुहुन्छ, किन ? यी सबै केका लागि गर्नुहुन्छ ? आफैले आफैलाई सोध्नुस् । तपाईँ त्यसको जवाफमा पैसाको लागि, कमाउनको लागि भन्नुहुन्छ, । अझ प्रश्न गर्नुहोस् । पैसा किन चाहियो ? जीवन चलाउनुछ, घर व्यवहार चलाउनुछ, आवश्यकता पु¥याउनुछ, छोरालाई डाक्टर बनाउनुछ, छोरीलाई इन्जिनियर बनाउनुछ, समाजमा इज्जतप्रतिष्ठा जोगाउनुछ, मोजमस्ती गर्नुछ, भोग गर्नुछ, छिमेकीको भन्दा अग्लो घर बनाउनुछ, प्रदर्शनको चाहना पूरा गर्नुछ, मोटरसाइकलको व्यवस्था गर्नुछ, मोटरसाइकलले पुगेन, कार चाहिएकोछ, गाडी पार्किङ्ग गर्न मिल्ने घर बनाउनुछ, उपचारको लागि जोरजाम गर्नुछ, बुढेसकालको लागि व्यवस्था गर्नुछ, आदि । सबैसबैको लागि पैसा कमाउनु नै पर्छ, सबैको मुखबाट सुनिने जवाफ सम्भवत यही नै हो । यी सबै जवाफमा पनि फेरी ‘किन’ प्रश्न लगाउनुस् । घर, व्यवहार, जीवन कस्तो खोज्नु भयो ? सुविधासम्पन्न, साधारण या शान्त । किन छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउन चाहनु भयो ? प्रतिष्ठाको लागि, मानवताको लागि या पैसाको लागि । समाजमा कस्तो प्रतिष्ठा खोज्नु भयो ? सम्पन्नताको, शक्तिको या संस्कारको । उपचारको लागि, बुढेसकालको लागि धन किन ? सन्तानको भरोसा नभएर, वर्तमानको काम बेठीक भएर या आत्मसम्मान जोगाउनका लागि हो ? एकपटक जवाफ खोज्नुस् । अबको जवाफ सम्भवत एकै किसिमको हुँदैन, भिन्न हुन्छ । जुन जवाफमा विचार सहमत हुन्छ, त्यसै अनुसारको मापदण्डमा रहेर धन कमाउने प्रयास गर्नुस् ताकि भविष्यमा पश्चाताप गर्नु नपरोस् ।
कोही मध्यपान गर्नुहुन्छ, धुम्रपान गर्नुहुन्छ, लागूपदार्थको नशा लिनुहुन्छ, किन ? केका लागि ? निराश भएर, संगत त्याग्न नसकेर, आत्मविश्वास गुमेर, विश्वास जित्न नसकेर या बिछोड भएर या मस्तीको लागि या बहुलाउन खोजेको या जीवनको मोहभंग भएको हो, जस्तोसुकै कारण होस् । यसको परिणाम एउटै छ, जीवनको बर्बादी, जीवनको दुःखद अन्त । के हामीले यो नै चाहेको हो ? यो होइन भने जीवनको मोह छोडेर नशाको मोह किन ? जुवातासको मैदान रोज्नुहुन्छ, कमजोरलाई दबाउन रुचाउनुहुन्छ, समाजमा ताण्डव नाच देखाउनुहुन्छ, आखिर किन ? केका लागि ? खोजको के ? समाजलाई विकृत बनाउन, परिवारको सुखइज्जत लिलाम गर्न या मै हुँ भनेर देखाउन या शासक बन्न । कारण खोज्नुस्, रोज्नुस् । आरुनो रोजाई आरुनै मनलाई सोध्नुस् अनि निर्णय लिनुस् ।
हरेक मानिसमा कुनै न कुनै नशा हुन्छ तर नशाको प्रभाव समान हुँदैन । नियन्त्रित या अनियन्त्रित, प्रभाव फरक हुन्छन् । हामी कोही जुवातासको नशामा, कोही जाँडरक्सीको नशामा, कोही लागूपदार्थको नशामा, कोही लैङ्गिक नशामा, कोही राजनीतिको नशामा, कोही कमाउने नशामा, कोही संगीतको नशामा, कोही साहित्यको नशामा, कोही कलाको नशामा, कोही खेलको नशामा, कोही व्यापारको नशामा, कोही फेसबुक, यूट्यूबको नशामा त कोही कुरै कुराको नशामा छौं । जुनसुकै नशामा लागेको किन नहोस्, या कुनै नशा रोज्नुछ भने रोज्नुभन्दा अगाडि नशा लिने किन ? आफैले आफैलाई प्रश्न गर्नुस् र त्यसको कारण जान्नुस्, त्यसपछि निर्णय लिनुस् ताकि निर्णय गलत हुन नपाओस् । जीवनको उत्तरार्धमा पश्चाताप गरी रुनु भन्दा वर्तमानलाई राम्रो गर्नु बुद्धिमानी हुन्छ । अहिलेको नयाँ पुस्तालाई कुलतको नशाले झ्याप्पै छोपेको देखिन्छ । मानिस या जुवाको नशामा या मध्यपानको नशामा या लागूपदार्थको नशामा या फेसबूक र यूट्यूबको नशामा, युवायुवतीहरू कोही पनि अछुतो छैनन् । किन होला ? यसको कारण के ? दोषी को ? परिवार या समाज या राज्य । सबै नै दोषी हुन् तर कोही पनि दोष बोक्न तयार हुँदैनन् । राज्यले, समाजलाई, समाजले परिवारलाई, परिवारले राज्यलाई दोष तेर्साउँछन् । यही नै समस्याको जड हो । अहिलेको समाजमा मानिस मोबाइल क्रेजी बनेका छन् । साना ठुला, बालक, वयस्क, बुढापाका सबैसबै नै मोबाइलमा छन । भर्खरको एक डेढ वर्षको नानीहरू समेत मोबाइलमा रमाउने भएका छन् । बेडको एउटा कुनामा आमा, अर्को कुनामा बुबा, अर्कोमा छोरा÷छोरी मोबाइलमा व्यस्त । घण्टौँसम्म एकआपसमा सम्वाद समेत हुँदैन । यो अवस्थाले के परिणामको आशा गर्ने ? आमाबुबाको लागि छोराछोरीलाई फकाउन वा भुलाउन मोबाइलजस्तो उपयुक्त साधन अब अरू केही बनेन । आमाबुबा पनि मस्त, छोराछोरी पनि मख्ख । छोराछोरीले पढाईको कुनै तहमा उत्तीर्ण गरेको उपलक्ष्यमा खुसी व्यक्त गर्न होस् या जन्मदिनको उपलक्ष्यमा होस्, मोबाइल उपहार दिने फेसन नै चलेको छ । युवा अवस्थामा प्रवेश गरेको छोराछोरीको लागि चाहेकै चिज पाउँदा अत्यन्त हर्षित भई ःथ न्चभबत एबउब, ःथ न्चभबत ःबmब भनेर अंगालोमा पाउँदा आमाबुबामा पनि हर्षको सीमा नै रहँदैन । छोराछोरी पछाडि नपरोस् भनेर घरमा ईन्टरनेट, टि.भि. च्यानल हरेकको सुविधा उपलब्ध गरेको हुन्छ । छोराछोरीले त्यसको सदुपयोग गरेका छन् कि दुरूपयोग गरेका छन्, आमाबाको लागि चासोको विषय नै बन्दैन या त्यतातिर हेक्का नै पुग्दैन । उनीहरू जुनसुकै अवस्थामा पनि मोबाइल बोकेका हुन्छन । उनीहरू बाटोमा हिँड्दा होस्, काम गर्दा होस्, भान्छामा बस्दा होस्, कार्यालयमा होस्, अस्पतालमा होस्, यतिसम्म कि खाना खाँदा पनि मोबाइल चलाउने, ट्वाइलेट बस्दा पनि मोबाइल नै हरक्षण मोबाइलमा व्यस्त हुन्छन् । उनीहरूको मोबाइलमा यति आशक्ति छ कि मानौं मोबाइल बिना जीवन नै चल्दैन, जसको कारण थुप्रै शरीर र मन दुवै थाक्दछ् । यसले मानिसको स्वभावमा समेत नकारात्मक असर पर्ने कुरा वैज्ञानिक तथ्यले प्रमाणित भैसकेको छ । यति मात्र नभएर इन्टरनेटकै कारण थुप्रै विकृति र अपराधिक घटनाहरू घटेका छन् । वर्तमानमा तथ्याङ्क अनुसार इन्टरनेटको कारण अपराधिक घटनाहरू बढेका छन् । समाजले टोलटोल, बस्तीबस्तीमा लागूपदार्थ सेवन गरेका युवाहरूको झुण्ड देख्दादेख्दै पनि कुनै मतलब गर्दैन । समाजका अगुवा, बुद्धिजिवीहरूबाट यस विषयमा नियन्त्रणको प्रयास हुँदैन । सबैले आ–आरुना छोराछोरीलाई मात्र बचाउने प्रयास गर्छन् । त्यसरी समाज कति दिन सुरक्षित होला ? उनीहरू सामाजिक रूपमा कुनै पहल गर्ने आवश्यकतातिर विचार गर्दैनन् । राज्यबाट पनि युवाहरूलाई कुलतबाट मुक्त गराउने कुनै योजना बन्दैन । उनीहरूको कुलत धेरै भयो भने एकदुई दिन थुन्ने या सुधारगृहमा पु¥याउने गर्छन् । यो दीर्घकालिन समाधान होइन् । यदि जानेर उपयोग गर्ने हो भने इन्टरनेट अत्यन्त उपयोगी कुरा हो । यसको लागि परिवार, समाज र राज्यको संयन्त्र मिलेरै योजनाबद्ध कार्यको थालनी गर्नु जरुरी छ । क्रमशः