सेयर लगानीमा दीर्घकालिन सोचको खा“चो

2k Shares

नेपालमा सेयरको सुरुवात विराटनगर जुट मिल्स र नेपाल बैक लिमिटेडको सेयर बिक्रीबाट भएको देखिन्छ भने विश्वमा समुद्री डाकाबाट सम्पत्ति जोगाउने अभियानको रुपमा सेयर कारोबार भएको अध्ययनहरुले देखाएको छ । बिश्वका धेरै जसो देशहरुले पुँजी संकलनको सबैभन्दा भरपर्दो माध्यमको रुपमा सेयर बजारलाई लिएको कारण समग्र देशकै आर्थिक बृद्धि सेयर बजारमै निर्भर रहने अवस्था सिर्जना हुन पुगेको हो । 
तर केही समय पछि सबै लगानी एउटै क्षेत्रमा राख्न उपयुक्त नहुने महसुुस गरी लगानीकर्ताहरुले धेरै कम्पनीका सेयर किनेर आफ्नो जोखिम न्यूनिकरण गर्न थाले । यो नै सेयर बजारको सफल सुत्रको रुपमा बिकास भयो । त्यसको एक दशक भित्रमै फ्रान्स, इङ्गल्याण्ड, बेल्जियम र नेदरल्याण्डका अन्य ब्यवसाय गर्ने कम्पनीहरुले पनि यस्तै मोडललाई प्रचलनमा ल्याए । 
नेपालको बजारलाई हेर्ने हो भने  सुरुका दिनमा सेयर खरिद बिक्रीको लागि २३ वटा दलाल कम्पनी स्थापना गरिएको थियो । पछि यसको संख्या ३२ पुग्यो । अहिले सेयर दलाल कम्पनीको संख्या ५० पुगेको छ । सेयरमा सिमित स्वार्थ भएका समुह सक्रिय हुन थालेपछि नेपला स्टक एक्सचेन्जले २०६४ देखी बजारलाई सर्किट व्रेकर लगाउने व्यवस्था गरेको हो । सर्किट ब्रेकरमा अघिल्लो दिनको तुलनमा भोलिपल्ट कारोबार भएको १ घण्ट्टामा नेप्से ४ प्रतिसत तल माथी भएमा २० मिनेटको लागि कारोवार बन्द गरिन्छ भने त्यसपछिको अर्को घण्ट्टामा ५ प्रतिशतले तलमाथी भए ४० मिनेट र ६ प्रतिशतले नेप्से थप घट भए दिनभरको लागि कारोवार बन्द गरिन्छ । बजारलाई धेरै बढ्न र धेरै घट्नबाट बचाउन स्टक एक्सचेन्जले यस्तो व्यवस्था ल्याएको हो । 
नेप्से परिसुचकमा उत्तार चढाव आउने क्रमलाई सामान्य रुपमा लिनु पर्छ र लिइने गरिन्छ ।  सेयर बजारका खेलाडीहरु बजारबाट निस्किन खोजेको जस्तो कारोबारले देखाएको छ । सेयरमा जहिले पनि आधारभुत पक्ष हेरेर सेयर किन्दा बढी नाफा आर्जन गर्न सकिन्छ । त्यसैले सुचिकृत कम्पनीको आधारभुत पक्ष हेरेर सेयर खरिद गर्दा उपयुक्त हुन सक्छ । सेयरमा उत्पादनमूलक उद्योगलाई महत्व दिने गरिन्छ । तर हामीकहाँ अन्य समुहको कारोबार हावी हुँदा सेयर बजारमा उत्तार चढाव आउन थालेपछि नयाँ लगानीकर्तामा निरासा छाएको छ । उनिहरुको लगानीमा प्रतिफल आउने सम्भावनामा पनि विश्वस्त हुन सक्ने अवस्था छैन । सोही कारण लगानीको सुनिश्चितता नभएसम्म बजारमा लगानी गर्नु उपयुक्त नहुन सक्छ । सवै लगानीकर्ताले आफुले गरेको लगानीको प्रतिफल आउने बातावरणलाई पर्खनु नै अहिलेको अवस्थामा सवैभन्दा उपयुक्त अस्त्र हो । 
नेपालको मात्रै नभई विश्वकै सेयर बजार बैकको ब्याजदरमा निर्भर रहेने गर्छ । ब्याजदर बढि भयो भने सेयर बजार खस्कन्छ र ब्याजदर कम भयो भने सेयर बजार बढ्छ । यो विगत देखि नै चल्दै आएको सिद्धान्त हो । सेयरमा आफुले लगानी गरेको कम्पनीको मूल्यको उतारचढाव कस्तो छ, त्यस्ता सेयरको कारोबार कति भयो, लगानीकर्ताको मनस्थिति लगायतका बिषयमा सबै लगनाीकर्ताले सुक्ष्म रुपमा अध्ययन गर्नुपर्ने खाँचोलाई भने कसैले पनि विर्सन हुँदैन । बजारमा सेयर किन्न र बेच्न खोज्नेबीचको सहमतिको बिन्दुलाई लगनीकर्ताले अबलोकन गरिरहेका हुन्छन् र गर्नुपर्छ । किन्ने र बेच्नेले अनेक उपाय अपनाएर सेयरको मूल्य प्रभावित गर्नु बजारको प्रक्रिया भित्रै पर्छ । ‘बियरिस’ अवस्थामा किन्नेहरू हावी हुन्छन् भने ‘बुल’ पिरियडमा बेच्ने समुह बढि हुन्छन् । त्यसैले सेयर बिक्री गर्ने र किन्ने बिचको बिन्दुको आंकलन लगानीकर्ताले गर्नुपर्छ । २० प्रतिशत वा सोभन्दा बढीले घटेको वा ६० दिनसम्म ओरालो लागेको बजारलाई बियरिस ट्रेन्ड मान्ने अन्तर्राष्ट्रिय प्रचलन छ । बियरिस अवस्थामा समग्र लगानीकर्ताले बजारप्रतिको भरोसा गुमाउने हुँदा सेयरको मागमा उच्च गिरावट आउनु स्वभाविक हो ।
सेयरलाई अति सम्बेदनशील क्षेत्रको रूपमा हेर्ने गरिन्छ । सेयर बजारलाई कमजोर राजनीति संयन्त्र र देशको आर्थिक अवस्थाले सबैभन्दा बढी प्रभाव पार्ने गर्छ । त्यसैले पुँजी बजार धेरै भोलाटाइल भएको नियामक निकायले स्विकार गरिसकेको छ । अर्थतन्त्रमा अधिक र न्युन तरलताले ठुुलो प्रभाव पार्छ । अधिक तरलता भयो भने अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुन्छ । जसले अर्थतन्त्रलाई कमजोर बनाउँछ भने न्युन तरलताले समग्र बंैकिङ्ग क्षेत्रको प्रणालीलाई नै अवरुद्ध बनाउँछ । 
चालु आबको लागि ल्याइएको मौद्रिक नीतिले बजारमा अधिक तरलता ल्याउन सहयोग गरेको छ । जसको कारण मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट खुलेको बजारमा ८४ अंकसम्मले बजार बढ्यो । कारोबार भएको सात मिनेटको अवधिमा नेप्से परिसूचक ८४ अंकले बढेर १ हजार ४ सय ७९ दशमलव शुन्य ३ बिन्दुमा पुग्नुलाई सामान्य रुपमा लिन सकिँदैन । एकै दिनमा बजार माथी पुग्ने फेरि तल झर्ने क्रमको कारण सट्टेबाजहरु सेयर बजारमा हावी भएको हो की भन्ने आभास देखिन थालेको छ  । 
पछिल्लो २÷३ वर्ष देखि बैंक तथा वित्तिय संस्थाले निक्षेप अनुसार लगानी बढाउन सकेको देखिँदैन । सरकारले पनि निर्धारण गरेजति आन्तरिक ऋण उठाउन सकेको छैन । सरकारसँगै निजी क्षेत्रले पनि आवश्यक मात्रामा रकम खर्च गर्न सकेको छैन । तर अहिले न त कर्जाको माग छ न त लगानीको लागि नयाँ ग्राहक नै । बंैकिग क्षेत्रले बचतमा ३÷४ प्रतिशत मात्रै ब्याज दिईरहेको अवस्थामा छिमेकी मुलकमा त्यस्ता बैकले भने करिव ८÷९ अझ भनौ मुद्दति निक्षेपमा त १०÷१२  प्रतिशतसम्म ब्याज दिई रहेका छन् । यसले अन्ततः नेपालको पुँजी पलायन भएमा सेयर बजारसँगै समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न जाने निश्चित छ । 
कर्जामा बढि ब्याज लिने तर निक्षेपमा ब्याजदर बढाउन नसक्ने परीपाटीको कारण पुँजी पलायन हुन सक्छ । यस्तो भएमा देशमा अनिश्चितता र अन्योलता सृजना भई नेपाली पुँजीसँगै उद्योग ब्यवसाय नै पलायन हुन सक्छ । लगानी गर्ने क्षेत्र अभाव भैरहेकै अवस्थामा उद्योग नै विस्थापित हुन थाल्यो भने हाम्रो सवै आर्थिक परिसुचक खस्किन पुगी  मुलुक गम्भिर मोडमा पुग्न सक्छ । 
चैत ११ मा सुरु भएको लकडाउन यही १० भदौमा ५ महिना पुरा हँुदैछ । कोरोना संक्रमण (कोभिड–१९ ) को कारण देशको अर्थतन्त्रमा बेरोजगारी बढेर बिकाराल भएको छ । उद्योग धन्दाको नाममा सबैजसो कल कारखाना ठप्प प्रायःको अवस्थामा रहेका छन् । नेपाल पनि भारत जस्तै कोरोना संक्रमणको हटस्पट बन्ने संभावना बढ्न थालेको छ । दिनहु कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आम नागरिकको पहिलो प्राथमिकता भनेको आफ्नो जीवनको रक्षा गर्नु हो । जीवन जीउन सके भने मात्रै अरु सोच्नु उपयुक्त हुन सक्छ । अहिलेको अवस्थालाई हेर्दा भोलिको दिन यो भन्दा पनि भयाबह अवस्था आउन सक्छ ।  कोरोना संक्रमणको कारण सुनको मुल्य तोलाको झण्डै एक लाख रुपैया पुगीसकेको छ । विश्व अर्थतन्त्रमा अन्योलता हावी भएको कारण सुनको मुल्य बढेको हो । त्यसैगरी घर जग्गाको कारोबार लडडाउन सँगै खस्किन थालेको छ । यो अवस्था अझ केही बढ्न सक्ने देखिन्छ । समग्रमा भन्नुपर्दा अहिले विदेशमा कार्यरत नेपाली स्वदेश फर्कने क्रम बढेको छ । जस्को कारण देश भित्र बेरोजागरी समस्या मौलाउन थालेको छ । भएका कल कारखाना खुल्न सकेका छैनन् । यस्तो अवस्थामा बैकले लगानी गर्ने क्षेत्र अभावमा सेयर कर्जामा लगानी गरेकै कारण सबै व्यक्ति र समुह सेयर बजारतर्फ आकर्षित हुन पुगेको आंकलन गरिएको छ । त्यसैले बजारमा लगानी पुर्व दीर्घकालिन सोचको खाँचो आवश्यक देखिएको छ । 

सम्बन्धित समाचार