कार्यकक्षबाटै डेढलाख घुससहित पक्राउ परे गोनपाका कार्यकारी जैसी

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यकारी प्रमुख र ओभरसियरलाई डेढ लाख नगदसहित पक्राउ गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानले सेवाग्राहीसँग रकम लिँदालिदै अख्तियारले छापा हानेको थियो ।
अहिले नगरपालिका जैशीको कार्यकक्ष सिल गरी गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीसहित जनप्रतिनिधिहरुसँग मेयरको कार्यकक्षमा अख्तियारको टोली र जनप्रतिनिधिहरुबीच छलफल भइरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवंं सूचना अधिकारी तारानाथ अधिकारी अनुसार सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिइरहेको अवस्थामा रंगे हात नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
यसअघि पनि प्रशासकीय अधिकृत विवाद बन्दै आइरहेका थिए । जैशी विरुद्ध नगरपालिकाको वडा नं १० को डाँडागाउँको जग्गा प्लटिङमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । कार्यकारी अधिकृत जैसीले परिवारका नाममा वडा नम्बर १०, डाँडागाउँको प्लटिङको जग्गा पास गराएका छन् । कमिशन स्वरुप दुई कित्ताको ९ आना जग्गा कार्यकारी अधिकृत जैसीले छोरी र श्रीमतीको नाममा पास गराएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
गोदावरी नगरपालिकामा सरुवा भएर आएदेखि नै जैसी विवादित छविका रुपमा चिनिएका नगरवासीको गुनासो छ । जैसी चितवन जिल्लाको ठोरी गाउँपालिकाको कार्यकारी अधिकृत थिए ।
ठोरीमै जैसीविरुद्ध स्थानीयले आर्थिक अनियमितता गरेको भन्दै विरोध गरेका थिए । ठोरीका जनताले अनियमितता र भ्रष्टाचार भयो भनेर जैसीको विरोध गरेपछि सरुवा भएर गोदावरी नगरपालिका आएका थिए उनी ।
गोदावरी नगरपालिकाको विकास कार्यक्रममा आफू खुसी गर्ने गरेको आरोप स्थानीयको छ । स्थानीयका कामहरू समयमा नगरेको भनेर धेरै गुनासो बढेको छ ।
कार्यकारी अधिकृत जैसीको कार्यशैली र व्यवहारको उजुरी मेयर गजेन्द्र महर्जनसम्म पुगेको थियो । महर्जनले जैसीको क्रियाकलापको निगरानी गरिरहेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्