परिवारलाई कसरी बचाउने, आफैं सोचौं

सरकारले मंगलबार मध्य रातिबाट लकडाउन अन्त्यको निर्णय गरेको छ । सरकारले एक जना कोरोना भाइरस संक्रमित भेट्दा लामो समय कडा लकडाउन गरेको थियो । तर, पछिल्लो समय दैनिक सयदेखि दुई सयको हाराहारीमा संक्रमित फेला पर्ने गरेका छन् ।

कडा लकडाउनको अवधिमा विदेशबाट आएकाहरुमा कोरोना भइरस देखिरहेको अवस्थामा लामो दुरीको सवारी साधन र अन्तर्राष्ट्रिय उडानसमेत खुला गर्ने निर्णयले  काठमाडौंंजस्तो जनघनत्व बढी भएका ठाउँमा कोरोना भाइरसको जोखिम बढ्ने निश्चित छ ।

सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै सम्बन्धित विज्ञहरूले यसबाट कोरोना संक्रमणको जोखिम थप बढेको बताएका छन् । कोरोना जोखिम कायम रहेकाले अब आफैं सतर्कता अपनाउनुपर्ने पनि उनीहरूको सुझाव छ ।

सरकारले लकडाउनको अन्त्य गरे पनि कोरोना भाइरस बढ्ने क्रम सकिएको छैन । लकडाउनको अन्त्य भएसँगै झन बढी सजगता अपनाउनुपर्ने देखिएको छ । लकडाउन सकियो भन्दैमा कोरोन भाइरसको संक्रमण बढ्ने क्रम सकिएको छैन, त्यसैले शारीरिक दुरी कायम राख्न, साबुन पानीले हात धुन र मास्कको अनिवार्य प्रयोग गर्न हेलचेक्र्याइँ गर्न नहुने अवस्था सिर्जना भएको छ । तर, सरकारले लकडाउन सकिएको घोषणा गरेसँगै कोरोना भाइरस पनि सकिएको ठानेर कोरोना भाइरसबाट बच्ने उपायहरुको बारे जानकारी गराउन छाडेमा भयावह अवस्था नआउला भन्न सकिन्न ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी गराएका हुन् ।

विज्ञहरूले भने काठमाडौंजस्तो ठूलो जनघनत्व भएका ठाउँमा यसले थप जोखिम बढेको बताएका छन् । यहाँ संक्रमण कायम रहेकाले लकडाउन अन्त्य भएको अवस्थामा थप सतर्क हुनुपर्ने आवश्यकता उनीहरूले औंल्याएका छन् ।

विज्ञहरुका अनुसर अधिकांश संक्रमितलाई लक्षण देखिएको छैन । कोबाट कसलाई संक्रमण सर्छ भन्ने टुंगो छैन । अब हरेक व्यक्तिलाई संक्रमित हो कि भन्ने सोचेर आफैं सावधानीका उपाय अपनाउनुपर्छ ।

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय भने स्वाभाविक हो । तर, आफैले सजगता अप्नाउनु पर्छ ।  पछिल्लो दिनको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या कम हुँदै गएको देखाएको छ । लकडाउन गरेको झण्डै चार महिना भइसकेको छ । लामो समयको लकडाउनले जनजीवनमा नराम्ररी प्रभाव पारिसकेको छ । त्यसैले लकडाउन दीर्घकालीन उपाय होइन, कुनै न कुनै दिन त हामीले आफैं सतर्क भएर सावधानीका उपाय अपनाउँदै लकडाउनको अन्त्य त गर्नु नै पर्ने हुन्छ ।

लकडाउन खुलेको नाममा व्यक्तिगत सावधानी नअप्नाउने हो भने आगामी दिनमा फेरि संक्रमण बढ्ने सम्भावना बढ्छ, र फेरि हामीले चार महिना लकडाउनमा भोगेका समस्याहरु फेरि पनि नभोग्नुपर्ला भन्न सकिन्न । त्यसैले सरकारले गरेको लकडाउन अन्त्यको दुरुपयोग नगरी कोरोना भाइरसबाट बच्ने उपायहरु अप्नाएर बढी जोखिममा रहेका वृद्धवृद्धा र दीर्घरोगका बिरामीलाई सुरक्षित राख्नुपर्ने देखिन्छ ।

परिवारमा वृद्धवृद्धा छन् भने उहाँहरूलाई सुरक्षित राख्नुपर्छ । यसमा युवा उमेरका व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुन्छ । वास्तवमा कामको सिलसिलामा धेरै बाहिर घुलमिल हुने र रोग सार्नसक्ने कामकाजी युवा समूहले नै हो । उहाँहरूले आफ्नो परिवारमा रहेका त्यस्ता जोखिमपूर्ण सदस्यहरूको ख्याल राख्नुपर्ने देखिन्छ ।

लकडाउन अन्त्यपछि जोखिम बढे पनि संक्रमण ठ्याक्कै कुन अवस्थामा पुग्छ भन्ने अहिल्यै आंंंकलन गर्न सक्ने अवस्था छैन । लकडाउन अन्त्यको निर्णय ठिक हो अब सतर्कता र जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने हुन्छ ।

सरकारले अब हप्तैपिच्छे अवस्था हेरि विश्लेषण गरेर थप निर्णय लिँदै जानुपर्ने अवस्था आउँछ । ’संक्रमण दर बढ्यो भने जुनसुकै अवस्थामा थप कडाइ गर्ने गरी निर्णय गर्न सरकार तयार रहनुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ ।

पछिल्लो समय संक्रमण घटे पनि समुदायमा फैलिएको छैन भनेर ढुक्क बस्न सक्ने अवस्था छैन । होटल, रेस्टुरेन्ट, जिमजस्ता बढी आवतजावत हुने स्थानमा थप सतर्कता अपाउनुपर्ने देखिन्छ । मापदण्ड पालना नगर्नेहरूलाई सरकारले कडाईका साथ कानुनी दायरामा ल्याउनुपर्छ । लापरबाही र मापदण्ड पालना नगर्दा नै संक्रमण फैलिने भन्दै सरकारले यी कुराको कडा निगरानी गर्नुपर्ने हुन्छ ।

लकडाउन खुल्ला गरेको अवस्थामा संक्रमणको संख्या बढ्छ । अधिकांश संक्रमितलाई लक्षण देखिँदैन अनि लक्षण नदेखिएपछि मानिसहरू कसरी परीक्षण गर्न जान्छन् ? परीक्षण नभएपछि उनीहरू आफ्ना परिवारमा रहेका बुढापाका र दीर्घ रोगीको सम्पर्कमा पुगे भने सबभन्दा जोखिम त्यहाँ रहने छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन अब जे गर्नुपर्छ आफैले गर्नुपर्छ भन्ने सोच राख्नुपर्ने देखिन्छ । मेरो परिवारलाई म आफैं बचाउँछु भनेर सोच्नुपर्ने अवस्था आएको छ । यसरी सोचियो भने धेरै हदसम्म संक्रमणबाट जोगिन सकिन्छ ।

सरकारको लकडाउन अन्त्य गर्ने निर्णयप्रति स्वास्थ्य मन्त्रालयको विज्ञ टोली असन्तुष्ट छन् । सरकारले यसरी हतारिएर यो निर्णय गर्नुपर्ने अवस्था थिएन । स्वास्थ्य मन्त्रालयका विज्ञ टोलीका सदस्यहरुको अनुसार कम्तिमा दुई—दुई साताको अवस्था विश्लेषण गरेर निर्णय गरेको भए धेरै उचित हुने ती विज्ञको भनाई रहेको छ ।

सबैले आ—आफ्नो स्वार्थ अघि सारेका कारण लकडाउन अव्यवस्थित तरिकाले अन्त्य गरिएको ती विज्ञको भनाई रहेको छ । पर्यटन व्यवसायी, उद्योगी सबैले आ—आफ्नो स्वार्थ राखे । त्यसैले पनि सरकारलाई एकैचोटि लकडाउन अन्त्य गर्न दबाब भएको हुनसक्ने ती विज्ञको भनाई रहेको छ ।

सरकारले लकडाउन अन्त्य गर्ने निर्णय कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट कमिटी ’सिसिएमसी’ को सिफारिसमा गरेको हो । सिसिएमसीको छलफलमा मन्त्रालयका विज्ञ समूहलाई बोलाइए पनि उनीहरूको सुझाव भने कार्यान्वयन गरिएन ।

लकडाउन एकैपटक अन्त्य हुँदा संक्रमण दर बढ्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन् । काठमाडौं प्रवेश गर्ने सबैको परीक्षण भएको छैन । कति मानिस लुकिछिपी प्रवेश गरेका छन् । कति मानिस गाडीमा आउने र नाकामा आएपछि फेरि हिँडेर प्रवेश गर्ने गरेको देखिएको छ । त्यस्ता व्यक्तिको परीक्षण भएको छैन । त्यसैले उपत्यकामा संक्रमण बढ्ने निश्चित प्रायः छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्