जानैपर्ने नागदह

यस वर्षको नागपञ्चमी शनिबार पर्दैछ । धापाखेलस्थित नागदहमा रहेको नाग मन्दिर र सप्तर्षि मन्दिरमा प्रत्येक वर्ष नागपञ्चमी र ऋषि पञ्चमीका दिन ठूलो मेला लाग्ने गर्दछ । धार्मिक र सांस्कृतिक महत्व पनि बोकेको छ नागदहले । नागपञ्चमीमा धापाखेलस्थित नागदहको महत्व दर्साउन हामीले यस पटक नागदहका बारेमा उल्लेख गर्ने प्रयास गरेका छौं ।

ललितपुर महानगरपालिका वडा नं २४ को धापाखेलस्थित नागदह धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो दह धार्मिक तथा ऐतिहासिक दुवै नजरबाट उत्तिकै महत्वपूर्ण मानिन्छ । पर्यटन मन्त्रालयले नागदहलाई पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेपछि यसको चर्चा झनै बढ्दै गएको स्थानीयको बुझाइ छ ।

नागदह धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्नका लागि पूर्वाधारका कामहरू भइरहेका छन् । लगनखेलबाट करिब ५ किलोमिटरको दूरीमा पर्ने रमणीय स्थललाई व्यवस्थित बनाउन सके आन्तरिक तथा वाह्य पर्यटक घुम्न आउने छन् ।

सांस्कृतिक महत्वको प्राकृतिक पोखरी करिब पाँच हेक्टर छ । नागदह विसं २०२१ को नापीमा ५२ रोपनी क्षेत्रफल रहेको नागदह अहिले ४२ रोपनी क्षेत्रफलमा खुम्चिएको स्थानीयको भनाइ छ ।

पौराणिक मान्यता

नागदहका सम्बन्धमा केहि पौराणिक कथाहरू छन् । कुनै समयमा भगवान् शिव नागदहमा बस्न आएका थिए । तर बज्रवाराही देवी धेरै चिन्तित भएकी थिइन् । उनले सोचिन्, भगवान शिव नागदहमा बस्न आए भने कसैले देवीलाई पूजा गर्ने छैनन् । त्यसैले आफ्नो ईश्वरीय शक्तिको उपयोग गरेर उनले आफूलाई सुँगुरमा परिणत गरी त्यस क्षेत्रमा बसेर हल्लाखल्ला र फोहोर गर्न थालिन् । भगवान् शिवलाई त्यस क्षेत्रमा सुँगुरहरू बस्न आएको र फोहोर भएपछि शिव सफा र शान्त क्षेत्र खोज्दै रसुवास्थित गोसाईंकुण्ड गए ।

यस्तै, अर्को किंवदन्ती पनि छ । जुनबेला काठमाडौं उपत्याका एउटा ठूलो दह थियो, चीनबाट मञ्जुश्री आएर चोभारको डाँडा र बडेगाउँको खोंच काटिदिए र सबै पानी बगेर बाहिर निस्कियो । तर, दुई नाग र नागिनीले आफ्नो बासस्थल बिगारेको बताउँदै विद्रोह गरे । अब म कसैलाई बाँकी नराख्ने भन्दै नाग–नागिनीले रौद्र रूप देखाएपछि मञ्जुश्रीले नागदह र टौदह बनाइदिए । नागिनी नागदहमा र नाग टौदहमा बस्न थालेको जनश्रुती छ । हरेक वर्ष पानी पर्ने सिजनमा नाग टौदहबाट नागदहमा नागिनीलाई लिई दुवै पनौतीको जात्रा हेरेर फर्किन्छन् भन्ने मान्यता छ । स्थानीय बासिन्दा यो दहलाई पौराणिक वासुकी नागको निवासस्थल मान्ने स्थानीय ६६ वर्षीय बच्चुराम गिरीले बताए ।

काठमाडौं उपत्यकाका तीन शहर जलमय भइरहेका बेलामा मञ्जुश्रीले तान्त्रिक विधिबाट छेदन गरी चोभारबाट पानी बाहिर पठाएको किम्बदन्ती छ । त्यसरी पानी बाहिर पठाउँदा नागराजा पनि बाहिर जाने भएकाले दह बनाएर नागराजालाई राखिएको र त्यही दह धापाखेलस्थित नागदह भएको इतिहाससम्बन्धी पुस्तकहरूमा उल्लेख रहेको बच्चुरामले जानकारी दिए ।

नागदहमा वासुकी नाग विराजमान भएकाले नागपञ्चमी र ऋषि पञ्चमीका दिन मेला लाग्ने गरेको छ । नागदहको तीनवटा कुना भएपनि जहाँबाट हेर्दा पनि एउटा कुना नदेखिने धापाखेलका स्थानीय ८० वर्षीय पञ्चबहादुर मालीले जानकारी दिए ।

नागदहको गहिराइ समग्र २५ फिट भए पनि बीच भागमा ४१ फिट छ । दहको चौडाइ ९ सय ३७ मिटर छ । ललितपुर जिल्लाको सदरमुकाम लगनखेलबाट करिब ५ किमि दक्षिणतर्पm धापाखेलमा रहेको नागदह ५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक दह भएको धापाखेलका गिरीले जानकारी दिए ।

अर्को किंवदन्ती अनुसार, स्वर्गका राजा इन्द्रलाई ऋषिहरूले श्राप दिएर गुप्तवास बस्नुभयो । मन्त्रिमण्डलले चक्रवर्ती राजा नहुसलाई राजा बनाएर स्वर्ग पठायो । नहुस राजाले राजकुमारी इन्द्रायणीसँग विवाह गर्ने कुरा चल्यो । त्यो कुरा थाहा पाएपछि इन्द्रायणीले मसँग विवाह गर्ने हो भने सप्तऋषिहरूलाई डोले बनाएर ल्याउनु अनि मात्रै विवाह गर्छ भनेपछि ऋषिहरूलाई डोले बनाएर राजा राजकुमारी लिन जानुभयो । नागदह पुग्न लाग्दा ढिलासुस्ती भयो नहुस राजाले किन ढिला भएको भन्दा ऋषिहरूले श्राप दिएपछि नाग भएर त्यही बसेको भनाइ पनि छ ।

पोखरी पटक पटक फुट्ने थालेपछि ठेचोका किसान थुन्न जाँदा अलाप भएको जनश्रुति पनि छ । जेठ १५ गते दह थुन्ने र असार १५ गते पूजाआजा गरी भोज खाएर खेत रापेपछि रोपाई सुरु गर्ने प्रचलन चलेको बुढापाकाले बताउने गरेका छन् ।

नागदहलाई केन्द्रमा राखेर वासुकी, आँखीदह, गौखुरेश्वर महादेव, सप्तऋषि मन्दिर, नौलिङ्गेश्वर महादेव मन्दिरसहितका सबै क्षेत्रको विकास गर्न सके नागदहलाई धार्मिक पर्यटकीय स्थल बनाउन सकिन्छ ।

बच्चुरामका अनुसार धापाखेलका गिरीहरूलले अहिले पनि दसैंको टीमा नागलाई जमारा र टीका चढाएपछि घरमा आइ टीका लगाउने गरेका छन् ।

शिव गिरीले नागराजासँग मित लगाएको र सपनामा नागराजाले मितलाई उहाँको दरबार लैजाँदा नागरानीले बाहिरको मान्छे देखपछि डस्न खोज्दा नागराजाले उहाँ त मेरो मित हो भनेपछि आदरपूर्वक राख्नु भएछ । नागरानीले दशैंको टीकाका दिन टीका लगाउन आउनु भन्नु भएछ । हामी अहिले पनि टीकाको दिन जमरा टीका नागलाई चढाएपछि घरमा आएर टीका लगाउने गछौं, शिवरामका नाति बच्चुरामले जानकारी दिए ।

नागदहलमा विभिन्न संघ संस्थाको सहयोगमा पार्क निर्माण भइरहेको छ । दरको वरिपरि स्टीलको बार लगाउने कार्य जारी छ । दुबो रोपिए पनि संरक्षण नहुँदा सौन्दर्य नदेखिएको पञ्चबहादुर मालीे बताए । नागदह घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि डुङ्गा सयरको प्रबन्ध गरिएको छ । नागदहलाई व्यवस्थित बनाउन नागदह सुधार समिति क्रियाशील छ । नागदहको सौन्दर्यलाई बचाउन वडा कार्यालय, नागदह सुधार समितले पर्याप्त ध्यान दिनुपर्ने पञ्चबहादुरको भनाइ छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्