प्रदर्शनकारीले कब्जामा लिए श्रीलंका राष्ट्रपति निवास

2.5k Shares

काठमाडौं, २५ असार । श्रीलंकामा प्रदर्शनकारीले राष्ट्रपतिको सरकारी निवास कब्जामा लिएका छन् ।
राष्ट्रपति गोटाबाया राजापाक्षे सुरक्षित स्थानमा गएको भनिएको छ, तर कहाँ छन् भन्ने नखुलेको श्रीलंकन सञ्चार माध्यम डेली मिररले जनाएको छ ।
आर्थिक रुपमा टाट पल्टिएको श्रीलंकामा बढ्दो महंगी र अत्यावश्यकीय वस्तुको चर्को अभाव छ । देशको विद्यमान आर्थिक संकटका लागि राष्ट्रपति गोटाबायालाई जिम्मेवार मान्दै उनको राजीनामा मागेर लामो समयदेखि आन्दोलन भइरहेको छ ।
यो अवधिमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बने, तर आन्दोलन रोकिएन । आर्थिक संकटसँगै तनाव बढ्दै गयो ।
शनिबार बढ्दो महंगीका साथै खाद्यान्न, इन्धन र औषधि अभावको विरोधमा र्‍याली आह्वान गरिएको थियो । प्रदर्शनलाई विपक्षी दल, ट्रेड युनियन, विद्यार्थी, किसान संगठन लगायतले समर्थन गरे ।
सरकारले भने प्रदर्शन रोक्ने उद्देश्यले शुक्रबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू घोषणा गर्दै नागरिकलाई घरमै बस्न भन्यो । सडकमा सेना र प्रहरी तैनाथ गरिएको थियो ।
तर विपक्षी दल र आम नागरिकले विरोधपछि सरकार कर्प्यू हट्यो भने शनिबार विहानैदेखि देशका विभिन्न भागबाट मानिसहरु कोलम्बोमा जम्मा हुन थाले । मानिसहरु रेल, बस, ट्रकजस्ता यातायातका साधन चढेर कोलम्बो आएका थिए ।
करिव दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए । केहीबेरमै ठूलो भीड जम्मा भयो । केही प्रदशर्नकारी मेन गेटमा चढेर परिसरमा घुसे ।
प्रदर्शनकारीलाई रोक्न सुरक्षाबल अश्रुग्यास, पानीको फोहोराका साथै गोलीसमेत हानेको थियो । केही मानिस घाइते पनि भएका छन् । तर सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।
गोटा गो होमको नारा लगाएर राष्ट्रपति कार्यालय प्रवेश गरेका प्रदर्शनकारी भान्सा र बेडरुममा समेत प्रवेश गरेका थिए । सार्वजनिक भएको भिडियो फुटेजहरुमा कतिय प्रदर्शनकारीले राष्ट्रपतिको बिच्छ्यौनामा सुतेर सेल्फी लिएको देखिन्छ ।
कतिपय प्रदर्शनकारीले भने राष्ट्रपति कार्यालय परिसरमा रहेको स्वीमिङ पुलमा नुुहाएका छन् ।
शनिबार नै प्रधानमन्त्री रनिल बिक्रमासिंघेले सर्वदलीय बैठक बोलाएका थिए, जहाँ उनले सर्वदलीय सरकार गठनका लागि आफू राजीनामा दिन तयार रहेको बताएका छन् ।
नागरिकको सुरक्षा सुनिश्चित गर्नका लागि प्रधानमन्त्री, विपक्षीको प्रस्तावमा सहमत भएको उनको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार