इंग्ल्याण्डलाई १२ वर्षपछि विश्वकप क्रिकेटको उपाधि

878 Shares

पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले १२ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ ।
सन् २०१० को च्याम्पियन इंग्ल्याण्डले दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो ।
यसअघि सन् २०१६ मा इंग्ल्याण्ड फाइनलमा पुगेपनि वेष्टइन्डिजसँग ४ विकेटले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो ।
यता १३ वर्षपछि विश्वकपको फाइनलमा पुगेको पाकिस्तानको उपाधि उचाल्ने सपना तुहिएको छ । सन् २००९ पछि पहिलो पटक फाइनलमा पुगेको पाकिस्तान इंग्ल्याण्डसँग पराजित भएसँगै दोस्रो पटक उपाधि उचाल्ने सपना अधुरै रहेको हो ।
त्यो बेला श्रीलंकालाई ८ विकेटले हराउँदै पाकिस्तानले पहिलो उपाधि उचालेको थियो । त्यसपछि पाकिस्तान फाइनलमा पुग्न सकेको थिएन । यसअघि सन् २००७ को पहिलो संस्करणमा पाकिस्तानको उपाधि होडमा भारत तगोरो बनेको थियो ।
इंग्ल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको थियो । पाकिस्तान भने न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको थियो ।
आइतबार भएको खेलमा पाकिस्तानले दिएको १ सय ३८ रनको मध्यम लक्ष्य इंग्ल्याण्डले ६ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो ।
पाँचौ विकेटका लागि बेन स्टोक र मोइनल अलीले ४८ रनको साझेदारी गरे । मोईन अली १९ रनमा बोल्ड आउट भए । स्टोक ५१ रनको महत्वपुर्ण योगदान दिए । उनले ४७ बलमा ५ चौका र १ छक्का हाने । लियाम लिभिङस्टोन १ रनमा नटआउट रहे ।
इंग्ल्याण्डका ओपनर जस बट्लर २६ रनमा पवेलियन फर्के । १७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का हाने । ह्यारी ब्रुक २० रनमा आउट भए । ओपनर एलेक्स हेल्स १ र फिल साल्ट १० रनमा आउट भए ।
पाकिस्तानका हरिस रउफले २ विकेट झारे । सहिन शा अफ्रिदी र सद्दाव खानले एक–एक विकेट झारे ।
पाकिस्तानका मोहम्मद वसिम महङगा सावित भए । उनले ३ ओभरमा ३१ रन खर्चे । नसिम शाहले आफ्नो स्पेलमा ३० रन दिदाँ एक विकेट झार्न सकेनन् ।
त्यसअघि मेलवर्न क्रिकेट मैदानमा इंग्ल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार पारेको थियो ।  
पाकिस्तानका लागि सान मसुद्दले सर्वाधिक ३८ रनको योगदान दिए । ओपनर तथा कप्तान बाबर अजाम ३२ र मोहम्मद रिजवान १५ रनमा पवेलियन फर्के ।
रिजवानले १४ बलमा १ छक्का प्रहार गर्दा साम कुरानको बलमा बोल्ड आउट भए । कप्तान अजामले २८ बलमा २ चौका हान्दा आदिल रसिदको बलमा क्याच आउट हुन पुगे । सद्दाव खानले २० रन थपे ।
मोहम्मद हरिस ८ बलमा रसिद कै बलमा बेन स्टोककको हातबाट क्याच भए । इफ्तिखार अहमेद शुन्य रनमा आउट भए। सहिन शा अप्रिदी ५ र हरिस रउफ १ रनमा नटआउट रहे ।
तल्लोक्रमका ब्याटर इङल्याडका बलरसामु निरिह देखिए। पाकिस्तानले १७,१८ र १९औँ ओभरमा लगातार विकेट गुमाएको थियो ।  इंग्ल्याण्डका साम कुरानले ३ विकेट झारे। आदिल रसिद र क्रिस जोर्डनले समान दुई विकेट झारे। वेन स्टोकको नाममा एक विकेट रह्यो ।

सम्बन्धित समाचार