खेलाडीको कोरोना बिमा गर्ने कांग्रेस खेलकुद विभागको बोल्ड निर्णय

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३ औं साग खेलका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामामा पत्रकार सम्मेलन गरी विभागका प्रमुख मोहनबहादुर बस्नेतले खेलाडीलाई सम्मान गर्र्ने घोषणा गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख बस्नेतले टोकियो ओलम्पिक २०२१ मा नेपालको तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकको कोरोना बिमा गर्ने निर्णय भएको जानकारी पत्रकार सम्मेलनमा दिए ।
विभाग प्रमुख बस्नेतको अध्यक्षमा बसेको बैठकका निर्णय गर्न आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २०२१ को ओलम्पिक खेलको तयारी र सहभागिता सम्बन्धमा तथा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको खेल सहभागिताका लागि गरिने तयारी कोरोनाको सुरक्षा र सावधानी अपनाउँदै प्रशिक्षण सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।
विभागले कांग्रेस केन्द्रीय सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रयोगिता सञ्चालन गर्ने भएको छ ।
पत्रकार सम्मेलनमा नेपाल लोकतान्त्रिक खेलकुद संघले केन्द्रीय कार्यसमितिमा पारित गर्न पेश गरेको विधानलाई आवश्यक कारबाहीका लागि अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।

नेपाली कांग्रेससँग आवद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थाहरूलाई कोरोना भाइरस र प्राकृतिक विपत्तीबाट नेपालीलाई जोगाउन सहयोग पुग्ने कार्य गर्न परिचालन गर्ने पनि विभागले निर्णय भएको छ ।
खेल क्षेत्रमा नयाँ प्रतिभाहरू जन्माउन र भएकाहरूलाई क्रियाशील गराउन विभिन्न विधाका खेलहरूका प्रशिक्षकहरूको व्यवस्था गरी क्रमशः वडा तहसम्म खेलकुद गतिविधि सञ्चालन गर्ने वातावरण मिलाउने निर्णय भएको विभागले जनाएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली जनता र राष्ट्रको पक्षमा रगत–पसिना बगाएका प्रजातन्त्रवादी स्वर्गीय नेताहरूको सम्मानमा राष्ट्रिय, प्रादेशिक र स्थानीय स्तरीयमा विभिन्न विधामा प्रत्येक वर्ष खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय विभागले गरेको छ ।
बीपी कोइराला, सुवर्ण शम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, मंगलादेवी सिंह, शैलजा आचार्य, धनमान सिंह परियार, खुमबहादुर खड्का, शेख इद्रिस, बलबहादुर राई, बखान सिं गुरुङ, योगेन्द्रमान शेरचन, भीम बहादुर तामाङ, राधा कृष्ण चौधरी, द्वारिका देवी ठकुरानी, भूबिक्रम नेम्वाङ, सहिद लखन थापा मगरको नाममा खेलकुद प्रतियोगिता गरिने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारीहरूको १३ वर्षदेखि २४ वर्षसम्म सेवा अवधि पार गरेका कर्मचारीको पदोन्नति नगरी कर्मचारीको वृत्ति विकासमा आँच पु¥याएको हुनाले उनीहरूको बढुवा प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।
संविधानको भावना र मर्मविपरित ओलम्पिक कमिटीले विदेशीहरूको सहायता लिँदा सरकारको स्वीकृति लिनु नपर्ने भन्दै ल्याएको ऐन खारेजीको माग गरिएको छ ।
१३ औं साग खेल र नेपालगञ्जमा भएको ८ औं वृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा भएका खर्चको हिसाव पारदर्शी गर्न पनि खेलकुद विभागले माग गरेको छ ।
नेपाल ओलम्पिक कमिटी र भारतीय टीभी च्यानलहरू बीच भएको १३ औं सागका गतिविधि प्रशारण सम्बन्धी भएको करोडौं रुपैयाँको सम्झौता भएको रकमको हिसाव किताव सार्वजनिक गर्न विभागले माग गरेको छ ।
यसैगरी खेलकुद संघ दर्तासम्बन्धी अव्यवहारिक र पक्षपातपूर्ण व्यवहार सच्याउनुपर्ने माग गर्दै विभागले अव्यवहारिक सम्बन्धनको झन्झट खारेज गर्न पनि माग गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्