आईजिपीको योजनालाई अवरोध खडा गर्दै प्रहरी अधिकारी

 

काठमाडौं । नेपाल प्रहरीमा  चलखेलबिना नै प्रहरी नेतृत्वमा पुगेका शैलेश थापा क्षेत्रीको योजनालाई प्रहरी अधिकारीहरुले नै अवरोध गर्ने गरेको रहस्य खुलेको छ ।

गत शुक्रबार भएको लेखापालको सरुवामा आईजीपी थापालाई गुमराहमा राखेर उनकै ब्याची अधिकारीले चलखेल गरेका छन् । आर्थिक प्रशासन महाशाखाका प्रमुख रहेका एसएसपी पुरुषोत्तम कँडेलले आईजीपी थापालाई जानकारी नै नगराई सरुवामा चलखेल गरेको स्रोत बताउँछ । नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीका अनुसार एसएसपी कँडेलले बिचौलियाको चलखेलकै आधारमा सरुवाको सूचि बनाएका हुन् । सो सरुवा सूचि नियमसंगत नभएको प्रहरी संगठनमा पछिल्लो समय चर्चाको विषय बनेको छ ।

सामान्यतया २ वर्षमा लेखापालको सरुवा हुनेमा कतिपयलाई एक वर्षमै थप आकर्षक मानिने कार्यालयमा सरुवा गरिएको छ । उदयपुरमा कार्यरत दीपक आचार्यलाई भक्तपुरमा सरुवा गरिएको छ । उनी उदयपुर गएको एक वर्ष मात्र भएको थियो । स्रोतका अनुसार गृहसचिव महेश्वर न्यौपानेको पावर लगाएर उनी भक्तपुर सरुवा भएका हुन् । त्यस्तै मुख्यसचिवका आफन्त रेशम रेग्मीलाई चितवन सरुवा गरिएको छ । कतिपयलाई ‘घ’ श्रेणीबाट ‘घ’ मा नै पठाइएको र कतिपयलाई भने जिल्लाबाट जिल्लामै सरुवा गरिएको छ । यस कार्यमा एसएसपी कँडेलको मुख्य भूमिका रहेको स्रोतले दावी गरेको छ ।

आफ्नै ब्याचीको विश्वास गर्दा महानिरीक्षकलाई धोका भएको स्रोत बताउँछ । पदबहाली गरेकै दिन महानिरीक्षक क्षेत्रीले आफ्नो विनम्रतालाई कमजोरी नठान्न चेतावनी दिएका थिए । तर, उनको नरम स्वभावको फाइदा अन्य प्रहरीले उठाउन थालिसकेका छन् ।

उता प्रहरी महानिरीक्षक क्षेत्रीलाई पूर्व प्रहरीहरुले सुरुमै चुनौती दिएका छन् । प्रहरी कल्याण कोषको सबै विवरण सार्वजनिक गर्न उनीहरुले माग गरेका छन् । पूर्व प्रहरी संगठनको शनिबार बसेको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो । कल्याण कोषमा हालसम्म पाँच अर्ब हुनुपर्ने भए पनि सवा दुई अर्ब मात्र भएकाले अनियमितताको आशंका गरी सुरुदेखिकै सबै हिसाबकिताब सार्वजनिक गर्न माग गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्