कोशी प्रदेशमा घुमुवा आंतक

6k Shares

बिराटनगर । प्रहरी महानिरीक्षक बसन्त कुंवरले संगठनको नेतृत्व सम्हाले देखि नै प्रहरी संगठन भित्र शुद्धीकरणको नारालाई अगाडि सारिरहेका छन् । उनले आफ्ना हरेक निर्देशन र भाषणहरूमा समेत संगठनको शुद्धीकरणको कुरालाई उठाई रहेका छन् ।त्यसका लागि उनले केही कामको शुरूवात समेत गरेका छन् । धेरै विवादमा परेका , लामो समयदेखि एकै स्थानमा कार्यरत रहेर बदनाम भएका अनि दरबन्दी अन्यत्र भए पनि सोर्सफोर्स लगाएर सुबिधा र अतिरिक्त आम्दानी हुने स्थानमा बसिरहेकाहरूलाई प्रहरी महानिरीक्षक कुंवरले सरूवा र रमाना समेत गर्न लगाई सकेका छन् भने कतिलाई फेरि सरूवाको तयारी पनि गरिरहेको समेत बुझिएको छ। तर पनि संगठन प्रमुखको नीति र आदेशलाई लत्याउदै घुमुवा परिचालन गरेर रकम उठाउने काम भने रोकिएको छैन । अहिले पूर्व कोशी प्रदेशमा यहीँ स्थिति छ । प्रदेश प्रहरी प्रमुखलाई समेत थाहा नदिएर पनि घुमुवा परिचालन हुने रहेछन् र रकम उठाउने काम गर्ने रहेछन् भन्ने कुरा यहाँ देख्न पाइन्छ । धरान स्थित संघीय इकाई प्रहरी कार्यालय दरबन्दी भएका असई भक्त बहादुर बिष्ट अहिले सुनसरी जिल्लामा घुमुवाको रूपमा जिल्ला भरि परिचालित छन् । आंफुलाई कहिले एसपी , कहिले एसएसपी त कहिले डिआइजीको घुमुवा हुं भन्दै असई बिष्टले व्यापारी देखि तस्कर समेतलाई भेट्ने गरेको समेत खुलेको छ ।

सुनसरीको उत्तरी भेग उदयपुर , खोटाङ लगायतका ठाउँबाट बराहक्षेत्र , महेन्द्रनगर हुदै गांजाको काम हुने गरेको छ भने कोशीमा डुङ्गा प्रयोग गरेर काठको पनि तस्करी हुने गरेको छ। यसबाहेक भण्टाबारी कोशी व्यारेज क्षेत्रबाट अन्य सामानको पनि तस्करी हुने गर्दछ । लामो समयदेखि सुनसरीमा घुमुवाको रूपमा कार्यरत असई बिष्टले धेरै दुई नम्बरका कारोवारीहरूलाई चिन्ने र उनको सम्पर्क रहेको समेत खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले असई भक्त बहादुर बिष्ट जिल्ला प्रहरीमा नभएको र जिल्ला प्रहरीमा घुमुवा नै नरहेको बताए ।

त्यसैगरी सुनसरी नै दरबन्दी भएका सई राजेन्द्र चौहान पनि धेरै बर्षदेखि घुमुवाको रूपमा कार्यरत छन् । धेरै लामो समयदेखि झापा , मोरङ र सुनसरीमा प्रदेश प्रहरीको घुमुवाको रूपमा कार्यरत रहेर धेरै बदनामी कमाएका सई चौहानलाई तत्कालीन आइजिपी धिरज प्रताप सिंहले मधेस प्रदेशको विपत्त व्यवस्थापन कार्यालयमा सरूवा गरेपनि फेरि अहिले उनी पहिलेको ठाउँ झापामा नै घुमुवा बनेर परिचालित छन् । उनी धेरै जसो झापाका क्यासिनोहरूमा नै देखिने र भेटिने गरेको हाम्रो समाचार स्रोत बताउँछ । झापामा संचालित क्यासिनोहरू मध्ये मिनीले प्रहरीलाई मासिक डेढ लाख र ठूलोले दुई लाख जिल्ला प्रहरीलाई दिने गरेका छन् भने प्रदेश प्रहरीको भागमा फेरि छुट्टै दिनुपर्ने हुन्छ । यसरी यी असई र सईको घुमुवा आतंक नै मच्चिएको छ । कोशी प्रदेशका डिआइजी राजेश नाथ बांसतोलाले यी दुबै घुमुवालाई हटाई सकेको जानकारी दिए ।

उनीहरूलाई पहिलेका डिआइजीहरू र पहिलेका डिआइजीहरू र एसपीले प्रयोग गरेको समेत खुलेको छ।अब प्रहरी महानिरीक्षक कुंवरको ध्यान जान्छ कि ? हालका डिआइजी राजेश नाथ बांसतोलाले कमान्ड सम्हाले लगत्तै घुमुवा बनेर बर्षाै देखि उठन्ती धन्दामा लागेका यी सई र असईलाई आ आफ्नो दरबन्दीमा पठाएका छन् । उनीहरू धेरै लामो समयदेखि कोशी प्रदेशको झापा , मोरङ र सुनसरी जिल्लामा घुमुवाको रूपमा परिचालित भएर बदनाम भएका प्रहरी हुन ।

सम्बन्धित समाचार