फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ-काठमाडौं महानगर

2k Shares

काठमाडौं-काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ। महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो की भन्नेकुरा गलत रहेको बताएको हो ।महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनैपनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका दाबी गरे। उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्युनिकरण गर्नेतिर महानगरले काम गरिरहेको बताए।

उनले भने, ‘काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कुरा छ। यो नेपवेस्ट भन्ने संस्था हो। यो भन्दा पहिला नेपाल सरकारले लगानी बोर्डमा पास गरेर पठायो, त्यसमा अधुरा कुराहरु भएको कारणले लगानी बोर्डले निर्णय गर्न सकेन। महानगरपालिका भएको कारणले गर्दा यो प्रोजेक्टलाई महानगरपालिकाभित्र ल्याइयो र यसलाई गहिरो अध्ययन गरिसकेपछि नेपवेस्ट भन्ने कम्पनी काठमाडौं महानगरपालिका लगायतका लागि अझै अधुरै नीति नियम भएकाले फेरि यसलाई महानगरपालिका काठमाडौंले यसलाई नेपाल सरकारतिर नै लगिएको अवस्था छ। त्यसको कारणले गर्दा बञ्चरे डाँडामा रहेका यी समस्याको समाधान नहोला भन्नेकुरा होइनन्।’

यता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र सो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गरेका छन्।उनले फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा गर्नेुपर्ने बताएका थिए। महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले समन्वय गरी काम गर्ने हो भने फोहोर व्यवस्थापन राम्रो र दिगोसँग गर्न सकिने उनको भनाइ थियो।

महानगरपालिका वा ल्याण्डफिल साइटका मानिसलाई गाली गर्नुभन्दा हरेक व्यक्तिले भान्साबाट फोहोर छुट्याउनमा योगदान गरे केही हदसम्म फोहोर व्यवस्थापन हुनेछ । नीतिगत व्यवस्थाको कार्यान्वयन, योजना र सहकार्यबाट शहरको फोहोरलाई दिगो व्यवस्थापन गर्न सकिन्छ। त्यसका लागि घर र भान्साबाट फोहोर वर्गीकरण गर्न जान्नुपर्ने विज्ञहरुको राय छ।

सम्बन्धित समाचार