चैतसम्ममा ४ खर्ब ८० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

1.5k Shares

काठमाडौं । उद्योग विभागमार्फत मात्रै चैत मसान्तसम्ममा ६ हजार १ सय २८ वटा प्रत्यक्ष वैदेशिक लगानी हुनेगरी उद्योग दर्ता भएका छन् ।

दर्ता भएका कम्पनी तथा उद्योगले हालसम्ममा ४ खर्ब ८० अर्ब ६ करोड ८४ लाख ३८ हजार वैदेशिक लगानी प्रतिबद्धता गरिसकेका छन् ।

तर, नेपालमा उद्योग दर्ता मात्र गरिराख्ने र भिसा लिन उद्योग दर्ताको प्रक्रिया मात्र मिलान गर्ने परिपाटी देखिएको छ । चालू आर्थिक वर्षमा मात्र १ हजार ७ सय २० जना विदेशीले बिजनेस भिसा लिएका छन् ।

उद्योग विभागमा दर्ता भएको विदेशी लगानीको तथ्यांकलाई मात्र हेर्ने हो भने चालू आवमा मात्र २ सय ६९ उद्योगमा ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ विदेशी लगानी आइसक्नुपर्ने हो । यसबाट मात्र १३ हजार ८ सय ३४ जना नेपालीलाई रोजगारी मिलिसक्नुपर्ने हो । तर, उद्योग विभागले स्वीकृत गरे तापनि वास्तविक रूपमा पनि उद्योगहरू स्थापना नहुने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकनुसार नेपालमा औसतमा प्रतिबद्धताको करिब ३६ दशमलव २ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको छ ।

प्रतिवेदनअनुसार पछिल्लो २० वर्षमा प्रतिवर्ष भित्रिने प्रत्यक्ष वैदेशिक लगानी र आएको प्रतिबद्धतालाई औसतमा हिसाब गर्दा नेपालमा १ करोड रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आउँदा भित्रिने रकम भने जम्मा ३६ लाख मात्र हुने गरेको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार