पन्जाबविरुद्ध २८ रनको जित निकाल्दै चेन्नाई तेस्रो स्थानमा उक्लियो

1.9k Shares

काठमाडौं । पन्जाब किंग्सविरुद्ध २८ रनको जित निकाल्दै चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को तेस्रो स्थानमा उक्लिएको छ । आइतबार हिमाचल प्रदेश रंगशालामा भएको खेलमा चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो ।

पन्जाबका प्रभसिम्रन सिंहले ३० रन बनाए । शशांक सिंहले २७, राहुल चहरले १६, हरप्रित ब्रारले १७ र हर्षल पटेलले १२ रन थपे । कगिसो रबाडा ११ रनमा अविजित रहे । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । चेन्नाईका रविन्द्र जडेजाले तीन विकेट लिए । तुसार देशपान्डे र सिमरजित सिंहले समान दुई विकेट लिँदा शार्दुल ठाकुर र मिचेल स्यान्टनरले एक–एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो । चेन्नाईका रविन्द्र जडेजाले ४३ रन बनाएका थिए । कप्तान रितुराज गाइकवाडले ३२ र डार्यल मिचेलले ३० रन जोड्दा शार्दुल ठाकुर र मोइन अलीले समान १७ रन बनाए । 

पन्जाबका हर्षल पटेल र राहुल चहरले समान तीन विकेट लिए । अर्शदीप सिंहले दुई विकेट लिँदा साम करनले एक विकेट लिए । जितसँगै ११ खेलबाट १२ अंक जोडेको चेन्नाई तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट आठ अंक जोडेको पन्जाब तालिकाको आठौँ स्थानमा छ ।

सम्बन्धित समाचार